बागमती प्रदेशका पाँच कर्मचारी ११औं तहमा बढुवा, को कहाँ ?

  २०८० मंसिर २२ गते १७:०१     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले १०औं तहका पाँच जनालाई ११औं तहमा बढुवा गरेको छ । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्य र प्रशासनतर्फका गरी पाँच जनालाई बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको हो ।

बैठकले अधिकृतस्तर १०औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनाको बढुवा गरी पदस्थापना गरेको हो ।

बढुवा हुनेमा स्वास्थ्यतर्फका दीपक तिवारी, बसन्त अधिकारी, अर्जुन सापकोटा र नरेन्द्रकुमार झा रहेका छन् । १०औं तहका उनीहरु ११औं तहमा बढुवा भएका हुन् । बैंठकको निर्णयअनुसार तिवारीलाई स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा, अधिकारीलाई बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा, सापकोटालाई स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा र झालाई बागमती प्रदेशको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको प्रमुखमा पदस्थापन गरिएको छ ।

त्यस्तै, बैठकले प्रशासनतर्फ अधिकृतस्तर १०औँ तहबाट अधिकृतस्तर ११औं तहमा दीपेन्द्र सुवेदीलाई बढुवा गरी नियुक्ति तथा पदस्थापन गरेको छ । हाल प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयको कामु निर्देशकका रूपमा कार्यरत सुवेदीलाई शिक्षा विकास निर्देशनालयमा पदस्थापन गरिएको छ ।