२०८० मंसिर २४ गते १२:०० ऋतु
काठमाडौं । हवाई यात्रालाई संसारमै सबैभन्दा सुरक्षित यात्रा मानिन्छ । स्थल वा जल यातायातभन्दा छिटो गन्तव्य पुग्ने त हवाई यात्राको विशेषता नै हो । नेपालमा हवाई सेवा सुरु भएको सात दशक नाघिसकेको छ । त्यसयता हालसम्म धेरै वायुसेवाले यात्रुलाई गन्तव्य पुर्याइसकेका छन् ।
नेपालको आन्तरिक हवाई सेवाको कुरा गर्दा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले दशकौंदेखि अहिलेसम्म सेवा दिइरहेको छ । वि.सं २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनापछि तत्कालीन सरकारले लिएको उदार हवाई नीति पछ्याउँदै निजी क्षेत्रबाट धेरै वायुसेवा कम्पनीले नेपाली आकासमा उडान भरे । लाखौं, करोडौं यात्रुलाई सकुशल गन्तव्य पुर्याए ।
तर, ती दर्जनौं वायुसेवा कम्पनीमध्ये आजका दिनसम्म औंलामा गन्न सकिने कम्पनीमात्र लामो समयदेखि यात्रु सेवामा निरन्तर खटिइरहेका छन् । तिनको आफ्नै बजार हिस्सा छ, आफ्नै यात्रु छन् र बजारमा आफ्नै साख छ । तीमध्ये कुनै असाध्यै ठूलो आकारका कम्पनी छन्, कुनै मध्यम छन् त कुनै ठिकै खालका छन् ।
सबै वायुसेवाका कम्पनीका आ–आफ्नै विशेषता छन् । करिब तीन दशकदेखि निरन्तर उडान गरिरहेका ती कुनैलाई अर्को कुनै कम्पनीसँग दाँज्दा त्यति सुहाउँदिलो नदेखिएला, तर हाल नेपाली आकासमा उडान भरिरहेका प्रमुख तीन आन्तरिक वायुसेवा कम्पनीका बारेमा यहाँ विस्तृत विवरण प्रस्तुत गरिएको छ ।
बुद्ध एयर
जहाज संख्या, लगानी, बजार हिस्सालगायत विविध पाटोबाट नेपालकै सर्वाधिक ठूलो आन्तरिक वायुसेवा कम्पनीका रूपमा परिचित छ बुद्ध एयर । बुद्ध एयर २६ वर्ष पूरा गरेर २७ वर्षको यात्रामा छ ।
बुद्धसँग सुरुवातमा १८ सिट क्षमताका दुईथान ‘बीचक्राफ्ट १९००’ सिरिजका जहाज थिए । उसले ती जहाज साढे दुई दशक उडानमा प्रयोग गरेर केही महिनाअघि क्यानडाको एक कम्पनीलाई बिक्री गर्यो ।
‘हामीलाई पुरानो जहाज किन्यौं भनेर आक्षेप लाग्छ । तर, हाम्रो २५ वर्ष पुरानो जहाज क्यानडाको एक कम्पनीले किन्यो,’ बुद्धका सूचना अधिकारी दीपेन्द्र कर्ण भन्छन्, ‘हामी २०१० मा एटीआर जहाजमा गयौं । एटीआर जहाजमा जानुको कारण भनेको हाम्रो जुन अप्रेसन कस्ट (सञ्चालन लागत) छ त्यो बढी लाग्छ । खासमा जति ठूलो जहाज र जति बढी सिट भयो त्यति नै अप्रेसन कस्ट कम हुँदै जान्छ । नेपालको हवाई क्षेत्र भनेको हुनेखानेले मात्रै प्रयोग गर्ने होइन, आमसर्वसाधारणले प्रयोग गर्ने हो भनेर हामीले एटीआर जहाज भित्र्याएका हौं ।’
बुद्धसँग हाल १७ थान जहाज सञ्चालनमा छन्, र ती सबै एटीआर जहाज हुन् । एटीआरमा पनि दुईथरी जहाज छन् । एउटा एटीआर४२ सिरिजको छ, जसमा ४७ सिट हुन्छ । त्यस्तै अर्को एटीआर७२ सिरिजको छ, जसमा ७२ सिट हुन्छ । बुद्धसँग ४२ सिटे जहाज तीनवटा र ७२ सिटे जहाज १४ वटा छन् ।
नेपालमा दुईथरी विमानस्थलमा उडान हुन्छ । एउटा स्टोल र अर्को ट्रंक । स्टोल विमानस्थल भनेको छोटो धावनमार्ग भएका दुर्गम भेगका विमानस्थल हुन् । जस्तै, हुम्ला, जुम्ला, जोमसोम, लुक्लालगायत गन्तव्यका विमानस्थल । त्यस्तै ट्रंक भनेको ठूलो र लामो धावनमार्ग भएका सहरी र सुगम भेगका विमानस्थल हुन् ।
बुद्धले स्थापनादेखि नै ट्रंक रुटमा मात्र उडान गर्दै आएको छ । ट्रंक रुटमा तराईका जिल्लाका विभिन्न विमानस्थल पर्छन् । काठमाडाैं पनि ट्रंक रुटमै गनिन्छ किनभने यहाँको विमानस्थल धावनमार्गको लम्बाइ ३ हजार मिटर छ । बुद्धले पहाडमा सुर्खेत र तुम्लिङटारमा भने उडान गर्दै आएको छ किनभने त्यहाँको धावनमार्गको लम्बाइ अन्य पहाडी भेगका विमानस्थलको तुलनामा बढी छ ।
बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ । त्यसबाहेक बुद्धले काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडान गर्दै आएको छ ।
बुद्धको वर्तमान बजार हिस्सा ६५ प्रतिशत छ । स्थापनायता बुद्धले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सकुशल गन्तव्य पुर्याएको छ । तिनमा ९० प्रतिशत नेपाली यात्रु छन् भने १० प्रतिशत विदेशी अथवा भारतीय रहेको कर्णले जानकारी दिए ।
‘अहिले हामी दैनिक १ सय ६० वटा उडान गरिरहेका छौं । जसबाट दिनहुँ करिब १० हजार यात्रुले यात्रा गर्ने गर्छन्,’ कर्णले भने ।
बुद्धसँग हाल १ हजार ५ सयभन्दा बढी कर्मचारी छन् । १७ थान जहाज उडाउन १ सय ३८ जना पाइलट, फ्लाइट एटेन्डेन्स १ सय १९, टेक्निकलमा इन्जिनियर ४२, टेक्निसियन ८२ लगायत छन् ।
२६ वर्षअघि सुरेन्द्रबहादुर बस्नेत (हाल स्वर्गीय) ले स्थापना गरेको बुद्ध एयर हाल उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले हाँकिरहेका छन् । कम्पनी सुरु हुँदाको पाँच वर्ष घाटा भए पनि त्यसपछि भने बुद्धले निरन्तर नाफा गरिरहेको छ । तर, एक्कासि कोरोना महामारी आइलाग्दाको आठ महिना शून्य आम्दानीमा बुद्ध चलेको थियो ।
बुद्धले चालू आर्थिक वर्षभित्र एटीआर–७२ सिरिजका तीनवटा जहाज थप्ने तयारीमा गरिरहेको सूचना अधिकारी कर्णले जानकारी दिए ।
बुद्ध एयरले २०७९ भदौसम्ममा १ करोड ८० लाख ३२ हजार ४ सय ५८ यात्रु बोकेको थियो । सन् २०१८ मा ६ अर्ब ८० करोड, २०१९ मा ६ अर्ब ८० करोड ८० लाख, २०२० मा ४ अर्ब ९४ करोड २० लाख, २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख र २०२२ को ९ महिनामा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
२०२२ को प्रत्येक महिना औसत ८५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको बुद्धले २०१९ को कोरोना महामारीभन्दा अघि मासिक ५६ करोड ७० लाख रुपैयाँबराबर मात्र आम्दानी गरेको थियो ।
कोरोना महामारी सुरु भएपछि नै बुद्धले ७२ सिट क्षमताका तीनवटा एटीआर७२ जहाज थपेको थियो । कम्पनीको अनुभवी सञ्चालक समिति र व्यवस्थापन समूहको योगदान कारण बुद्धको व्यापार क्षमता उच्च रहेको छ र यही नै यसको बलियो आधार पनि हो ।
यती एयरलाइन्स
नेपालको दोस्रो ठूलो आन्तरिक वायुसेवा कम्पनी हो यती एयरलाइन्स । यतीसँग हाल ७२ सिट क्षमताका पाँचथान एटीआर७२ जहाज सञ्चालनमा छन् ।
यतीले काठमाडौंबाट पर्वतीय उडानसहित भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा र नेपालगन्जमा उडान गरिरहेको प्रवक्ता सुदर्शन बर्तौलालो जानकारी दिए ।
‘हामीले वार्षिक १० लाख यात्रुलाई उडाएका छौं, यतीमा ५ सय कर्मचारी कार्यरत छन्,’ बर्तौलाले भने, ‘पाइलट र कोपाइलट गरी ५५ देखि ६० जना छन् र एयर होस्टेस ३५ जना छन्, चालू आर्थिक वर्षभित्रै तीनवटा एटीआर७२ जहाज ल्याउने योजनामा छौं ।’
यती एयरलाइन्स २४ वर्षअघि स्थापना भएको हो । यसका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम शेर्पा हुन् । विगतमा उनका भाइ आङछिरिङ शेर्पाले यतीको कार्यभार सम्हाल्दै आए पनि २०७५ मा उनको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि दाइ ल्हाक्पासोनामको काँधमा यतीको जिम्मेवारी छ ।
यती पनि ट्रंक रुटमा मत्र उडान गर्ने वायुसेवा कम्पनी हो । यतीको वर्तमान बजार हिस्सा २५ देखि २७ प्रतिशतसम्म रहेको छ ।
यतीले सन् २०१८ मा ३ अर्ब १३ करोड ५० लाख, २०१९ मा ३ अर्ब ४३ करोड, २०२० मा २ अर्ब ६६ करोड, २०२१ मा १ अर्ब ३९ करोड ६० लाख र २०२२ को ९ महिनामा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०२२ को प्रत्येक महिना औसत ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको यतीले २०१९ को कोरोना महामारीभन्दा अघि मासिक २८ करोड ६० लाख रुपैयाँबराबर आम्दानी गरेको थियो ।
यतीले कुल आम्दानीको लगभग आधा हिस्सा विराटनगर, भैरहवा र पोखरा गन्तव्यका उडानबाट कमाउने गरेको छ । यतीको भगिनी वायुसेवा तारा एयरले दुर्गम भेगका विमानस्थलमा उडान गरिरहेको छ ।
नेपालकै ठूलामध्ये पर्ने पर्यटन कम्पनी थामसेर्कु ट्रेकिङ प्रालिका सञ्चालक पनि यतीका कार्यकारी अध्यक्ष ल्हाक्पासोनाम हुन् । त्यस्तै नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको सञ्चालक पनि यती एयरलाइन्स हो ।
श्री एयरलाइन्स
२४ वर्षअघि हेलिकोप्टर कम्पनीका रूपमा स्थापना भएको श्री एयरलाइन्स नेपालको तेस्रो ठूलो आन्तरिक वायुसेवा कम्पनी हो । यसका संस्थापक अध्यक्ष वनवारीलाल मित्तल (स्वर्गीय) हुन् । हाल यसका कार्यकारी अध्यक्षमा उनका छोरा सुधीर मित्तल छन् । श्रीसँग हाल ८ वटा जहाज छन् ।
श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार हाल सीआरजे–२०० दुईथान, सीआरजे–४०० दुईथान र क्यू–४०० चारथान जहाज छन् भने हेलिकोप्टर ८ थान छन् ।
श्रीले सन् २०१७ मा २१ करोड ९० लाख, २०१८ मा १ अर्ब ६७ करोड ५० लाख, २०१९ मा २ अर्ब ५८ करोड १० लाख र २०१९ को ११ महिनामा २ अर्ब ८ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
श्री एमआई–१७ मोडेलको धेरै हेलिकोप्टर भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी पनि हो ।
मानन्धरका अनुसार श्रीले हाल पर्वतीय उडानसहित विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी उडान गरिरहेको छ । भद्रपुर अहिलेका लागि रोकिएको छ ।
‘अहिले दैनिक १८ देखि २२ सम्म उडान गरिरहेका छौं । हामीसँग ६ सयहाराहारी कर्मचारी छन्,’ मानन्धरले भने, ‘हामी चालू आर्थिक वर्षभित्र बम्बार्डियर कम्पनीको क्यू–४०० ‘टर्बोप्रोप’ जहाज तीनवटा खरिद गर्ने योजनामा छौं ।’
सम्बन्धित सामग्री : कसरी सफल बन्यो बुद्ध एयर ? यस्तो छ बिरेन्द्र बस्नेतको संघर्षको कथा
Copyright © 2024 Bikash Media Pvt. Ltd.