लाखमा थालेको रद्दी कागज कम्पनी बन्यो ८ अर्बको, १० अर्बको कारोबार लक्ष्य

  २०८० मंसिर ३० गते १०:३७     विकासन्युज

काठमाडौं । नयाँदिल्ली निवासी पुनम गुप्तालाई पढाइ सकेपछि स्कटल्याण्डमा जागिर पाउन निकै समस्या पर्यो । जब पुनम जागिर खोज्दै थिइन्, तब उनले रद्दी कागज देखिन् र त्यसमा अनुसन्धान गर्न थालिन् ।

जागिरको अन्तर्वार्ता दिन एक कार्यालयबाट अर्को कार्यालय जाँदै गर्दा पुनमले धेरै ठाउँमा फोहोरका कागजको थुप्रो देखेकी थिइन् । यसपछि उनले पेपर रिसाइकल गर्ने सोच बनाइन् । धेरै अनुसन्धान गरेपछि पुनमले पेपर रिसाइक्लिङ व्यवसाय सुरु गर्ने योजना बनाइन् ।

दिल्लीको लेडी श्रीराम कलेजबाट अर्थशास्त्रमा एमबीए गरेकी पुनमले सन् २००२ मा पुनीत गुप्तासँग विवाह गरेकी थिइन् । यसपछि पुनम पनि श्रीमानसँग स्कटल्याण्ड गइन् । अहिले पुनम आफ्नो परिवारसँग स्कटल्याण्डमै बस्छिन् ।

पूनम बेलायतमा जागिर खोज्दै थिइन् । पुनमसँग बेलायतमा काम गरेको कुनै अनुभव थिएन । त्यसैले उनले त्यहाँ सजिलै काम पाउन सकेकी थिइनन् । पुनमले स्कटल्याण्ड सरकारको योजनाअन्तर्गत १ लाखको फन्ड प्राप्त गरेकी थिइन् । यही कोषबाट उनले आफ्नो व्यवसाय सुरु गर्ने योजना बनाइन् ।

करिब २० वर्षअघि करिब १ लाख रुपैयाँमा सुरु भएको पुनमको बिजनेस पीजी पेपर अहिले ८ अर्ब रुपैयाँभन्दा बढीको कम्पनी बनेको छ ।

पुनमले विश्वका धेरै देशबाट रद्दी कागज किनेर रिसाइकल गरी राम्रो गुणस्तरको कागज उत्पादन गर्दै विभिन्न देशमा बेच्ने गर्छिन् ।

पुनम यसअघि युरोपेली र अमेरिकी कम्पनीबाट मात्रै रद्दी कागज किन्ने गर्थिन् । तर, अहिले उनले विश्वका २१ देशबाट रद्दी कागज किन्ने गरेकी छिन् ।

यससँगै पुनमको रिसाइकल पेपर व्यवसायले केही समयदेखि गति लिइरहेको छ र आगामी आर्थिक वर्षसम्ममा पीजी पेपरले १० अर्ब रुपैयाँको कारोबार गर्ने आशा छ । एजेन्सी