अमेरिकामा ६ लाख ५३ हजार मानिस घरबारविहीन

  २०८० मंसिर ३० गते १६:३५     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ ।

अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर ६ लाख ५३ हजार १ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६ सय ५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो ।

अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसङ्ख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् ।

सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको सङ्ख्यामा २८ प्रतिशत अर्थात् ३९ हजार १०६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको सङ्ख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

जनवरीमा घरबारविहीन भएका ६ लाख ५३ हजार १ सयमध्ये हरेक १० जनामा ६ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने १० मध्ये चार जना मानव बस्तीका लागि नबनेको ठाउँमा थिए ।

क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१ हजार ३ सय ९९, न्युयोर्कमा एक लाख तीन हजार २ सय, फ्लोरिडामा ३० हजार ७ सय ५६, वासिङ्टनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३ सय ७७ र ओरेगनमा २० हजार १४२ जना घरबारविहीन छन् ।

विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ ।