२०८० पुष २ गते १८:०१ विकासन्युज
एजेन्सी । सन् १९९३–मुम्बई बम विस्फोट र २६–११ आतंकवादी हमलाका मास्टरमाइन्ड ६७ वर्षीय डन दाउद इब्राहिम फेरि एकपटक चर्चामा आएका छन् ।
कराँचीमा दाउदलाई विष खुवाइएको खबर आएको छ । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ उनको अवस्था गम्भीर छ । तर, यो खबरको पुष्टि भने भइसकेको छैन । दाउद ३० वर्षदेखि पाकिस्तानमा लुकेर बसेका छन् र त्यहीँबाट उनी विश्वभरि आफ्नो अवैध व्यापार चलाइरहेका छन् ।
दाउदको अवैध व्यापार विश्वका धेरै देशमा फैलिएको छ, जसका कारण उनले अर्बौं रुपैयाँको सम्पत्ति कमाएका छन् । कतिपय रिपोर्टका अनुसार उनकी श्रीमती मेहजबीन र भाइ अनीस मिलेर दाउदको बिजनेस चलाउँछन् ।
द गार्डियनको रिपोर्टअनुसार सन् १९८० र १९९० को दशकको सुरुमा दाउदले वेश्यावृत्ति, जुवा र लागुऔषध कारोबारमार्फत अर्बौं रुपैयाँको कालो व्यापार गरेका थिए । अहिले दाउदलाई विश्वव्यापी आतंकवादी संगठन डी कम्पनीको प्रमुख मानिन्छ ।
कति छ दाउद सम्पत्ति ?
फोर्ब्सका अनुसार दाउद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङ्गस्टरमध्ये एक हुन् । २०१५ मा फोर्ब्सले दाउदको कुल सम्पत्ति ६ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ६ खर्ब ६६ अर्ब भारु) रहेको अनुमान गरेको थियो।
मिडिया रिपोर्टका अनुसार दाउदको पाकिस्तानी सहरमा ३ वटा आलिशान घर पनि छन् । दाउद कराँचीको डी–१३, ब्लक–४, क्लिफ्टनमा रहेको ६ हजार वर्गफिटमा फैलिएको आलिशान बंगलामा बस्ने दाबी गरिएको छ । यहाँ कराँचीको नो–ट्रेस जोन हो र यसलाई पाकिस्तानी रेन्जर्सले कडा सुरक्षा दिएको छ।
धेरै सहरहरूमा सम्पत्ति
दाउदको देशका धेरै सहरमा करोडौंको सम्पत्ति रहेको विश्वास गरिन्छ । दाउदको नाममा एउटा होटल (दाउद इब्राहिम होटल) पनि छ, जुन अहिले जफत गरिएको छ । मुम्बई र अन्य सहरहरूमा दाउदको धेरै सम्पत्ति जफत गरिएको छ । दाउदको दुबईमा पनि धेरै सम्पत्ति छ । दाउदसँग मुम्बईमा हुन्डाई एक्सेन्ट सेडान कार पनि थियो, जुन सरकारले जफत गरेको छ।
आईपीएल म्याच फिक्सिङबाट पनि कमाएका थिए पैसा
दाउद इब्राहिमलाई क्रिकेट हेर्न निकै मनपर्थ्यो । म्याच हेर्नका साथै सट्टेबाजी पनि गर्थे । पछि म्याच फिक्सिङमा उनको नाम बाहिर आयो । यसबाहेक, दाउद टूजी स्पेक्ट्रमलगायत धेरै घोटालामा संलग्न छन् ।
सन् १९९३ को मुम्बई बम विस्फोट गराउनुबाहेक दाउदको ओसामा बिन लादेन र प्रतिबन्धित आतंकवादी संगठन अल कायदाका अयमान अल जवाहिरीसँग पनि घनिष्ठ सम्बन्ध थियो। दाउदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल–कायदा प्रतिबन्ध समितिले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ ।
बेलायतमा ४५ करोड डलरको सम्पत्ति
दाउद इब्राहिमको युरोप, अफ्रिका र दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशमा सम्पत्ति छ। बेलायतमा मात्रै उनको ४५ करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । दाउदले विश्वका विभिन्न देशमा ५० भन्दा बढी व्यवसायमा लगानी गरेको बताइएको छ ।
दाउदको व्यापार भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.