२०८० पुष ९ गते १८:३८ विकासन्युज
काठमाडौं । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडतहरुका लागि ८ सय थान विन्टराइजेशन टेन्ट वितरण गरेको छ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित ८ सय घरपरिवारका लागि विन्टराइजेशन टेन्ट वितरण गरेको हो ।
गत मंसिर २२ गते युरोपेली संघले सेभ द चिल्ड्रेनलाई जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई वितरण गर्नका लागि ८०० थान विन्टराइजेशन टेन्ट प्रदान गरेको थियो । सोही टेन्ट प्रभावितहरुलाई वितरण गरिएको हो । यी विन्टराइजेशन टेन्टहरु अरु सामान्य टेन्टहरुभन्दा फरक तथा चिसो मौसमलाई लक्षित गरी विशेष तवरले बनाइएको अग्निरोधी, जलरोधी र चुल्होयुक्त रहेको जनाइएको छ । प्रत्येक टेन्टले प्रयोगकर्तालाई २३ वर्गमिटरको बासस्थल प्रदान गर्ने बताइएको छ ।
सेभ द चिल्ड्रेन फिल्ड अफिस सुर्खेतका प्रमुख रत्नराज ओझाले आफूहरुले वितरण गरेको टेन्ट जाडो मौसमका लागि राम्रो टेन्ट भएको बताए । जाजरकोट र रुकुमपश्चिमका ५ वटा पालिकाका ८ सय परिवारका लागि ८०० वटा टेन्ट वितरण गरिएको बताउँदै उनले उक्त टेन्ट २ वर्षभन्दा मुनिका बालबालिका भएको घर, ५ महिनाभन्दा माथिको गर्भवती भएको घर, क र ख वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुका घरहरु र बस्न लायक नभएका घरहरुलाई लक्षित गरेर टेन्ट वितरण गरिएको जानकारी गर्रा ।
सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी सेभ द चिल्ड्रेनले गरिरहेको गतिविधिहरुको अवलोकन पनि गरेका छन् । उनले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ रावतगाँउ स्थित सेभ द चिल्ड्रेनद्वारा जारी भूकम्प प्रतिकार्य कार्यक्रम क्षेत्रहरुको भ्रमण गरे । प्रमुख ओझाले भूकम्पपश्चात सेभ द चिल्ड्रेनले बालबालिका र उच्च जोखिममा रहेका व्यक्तिहरुको संरक्षण गर्न भूकम्प प्रभावित समुदायहरुको लागि अस्थायी बासस्थल निर्माण, विन्टराइजेशन टेन्टहरु वितरण, मनोसामाजिक सहयोग र बालबालिकाको लागि वैकल्पिक शिक्षा तथा बाल हेरचाह केन्द्र सम्बन्धी सहयोग प्रदान गर्दै आएको जानकारी दिए । उनले आगामी दिनहरुमा पनि भूकम्प प्रभावितहरुका लागि लक्षित गरि काम गर्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.