पूर्वप्रम बाजपेयीको जन्मदिनमा छत्तीसगढका किसानलाई सवा ३७ अर्ब भारु बोनस

  २०८० पुष ११ गते १०:१३     विकासन्युज

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) सरकारले छत्तीसगढका किसानलाई ठूलो उपहार दिएको छ । पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको जन्मदिनमा १२ लाख किसानको खातामा ३७ अर्ब १६ करोड रुपैयाँ बोनस हस्तान्तरण गरिएको छ।

छत्तीसगढ सरकारले सुशासन दिवसका अवसरमा मोदीको ग्यारेन्टी वाचा पूरा गरेको अधिकारीहरूले बताएका छन् ।

मुख्यमन्त्री विष्णुदेव साईले सोमबार आभानपुर विधानसभा क्षेत्रको बेन्द्री गाउँमा आयोजित एक कार्यक्रममा उक्त उपहार दिएका हुन् ।

दुई वर्ष (खरिफ बजार वर्ष २०१–१५ र २०१५–१६) का लागि धानको बक्यौता बोनसका रूपमा उक्त परिमाणबराबर बोनस रकम किसानहरूको बैंक खातामा हस्तान्तरण गरिएको थियो ।

सरकारले प्रतिएकड २१ क्विन्टल धान किन्ने

राज्यमा विधानसभा चुनावका बेला भाजपाले किसानहरूलाई बकाया बोनस रकम दिने वाचा गरेका थियो । यस अवसरमा मुख्यमन्त्री साईले राज्यका किसानहरूबाट प्रतिएकड २१ क्विन्टलका दरले धान खरिद गर्ने बताए ।

आवश्यक परे समर्थन मूल्यमा धान खरिद गर्ने म्याद पनि थपिने छ । ‘मोदीको ग्यारेन्टीमा हामीले दुई वर्षको बक्यौता बोनस दिने वाचा गरेका थियौं र आज अटलजीको जन्मजयन्ती सुशासन दिवसमा पूरा भएको छ,’ साईले भने, ‘मोदीको ग्यारेन्टीमा राज्यमात्र नभई सिंगो देशले विश्वास गरेको छ ।

१८ लाख घर निर्माण स्वीकृति

मुख्यमन्त्री साईले राज्यका जनतासँग गरिएका जति पनि वाचा छन्, ती सबै पूरा हुने बताए । साईले भने, ‘हामीले सपथ लिएको भोलिपल्टै मन्त्रिपरिषद्को बैठकमा गरिबका लागि १८ लाख घर बनाउने स्वीकृति दियौं । यसले विगत पाँच वर्षमा आवासबाट वञ्चित भएका जनतालाई आवास उपलब्ध गराउने छ ।’

आयुष्मान कार्डले १० लाखसम्मको उपचार सुविधा उपलब्ध गराउने

साईले महातरी वन्दन योजनाअन्तर्गत विवाहित महिलाको खातामा मासिक १ हजार रुपैयाँ दिने वाचा गरेको पनि बताए ।

यसका लागि पुरक बजेटमा व्यवस्था गरिएको उनको भनाइ थियो । ‘उज्ज्वला योजनाअन्तर्गत हामी ग्यास कार्ड भएका परिवारहरूलाई ५ सय रुपैयाँमा सिलिन्डर उपलब्ध गराउने काम पनि गर्नेछौं,’ उनले भने, ‘भूमिहीन कृषि मजदुरलाई वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने काम गरिने छ । विभिन्न विभागका एक लाख रिक्त पदहरू पूर्ण पारदर्शिताका साथ भरिने छ ।’

मुख्यमन्त्रीले आफ्नो सरकारले तेन्दुपात संकलन गर्नेलाई प्रतिमानक झोला ५ हजार ५ सय रुपैयाँका दरले पारिश्रमिक दिने पनि बताए ।

‘यसका साथै संकलनकर्ताका लागि चरण पादुकालगायतका अन्य लाभकारी योजनाहरूलाई निरन्तरता दिइने छ । राज्यका जनताले अब ५ लाखको सट्टा आयुष्मान कार्डमा १० लाखसम्मको उपचार सुविधा पाउनेछन्,’ साईले भने । एजेन्सी