डा. मनिष थापा नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

  २०८० पुष १९ गते १७:२९     विकासन्युज

काठमाडौं । कोस्टारिका सरकारले डा.मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको छ । नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै कोस्टारिका सरकारले डा.थापालाई उक्त पदमा नियुक्त गरेको हो ।

यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने बताइएको छ । नेपाल र कोस्टारिकाबीच अगस्ट १६, १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । डा. थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिनेछ ।

नेपाल र कोस्टारिकाबीचको सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ, जहाँ दुवै राष्ट्रले विकास र पारस्परिक लाभका लागि पर्याप्त सम्भावना देख्छन् ।

अवैतनिक वाणिज्यदूतको हैसियतमा डा. मनिष थापाले नेपाल र कोस्टारिकाबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढाव उनले प्रयास गर्नेछन् ।

कोस्टारिका सरकारले डा. थापालाई बधाई दिँदै नेपालसँग समृद्ध साझेदारीको अपेक्षा गरेको छ । यसले डा. थापाको पहल र द्विपक्षीय सम्बन्धलाई अटल समर्थन देखाउँछ ।

नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन डा. मनिष थापाले महत्वपूर्ण भूमिका खेलेको इतिहास छ । उनको प्रयासमा कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रूपमा सेवारत रहँदा अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई सहजीकरण गरेका थिए । यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत कार्यालय ग्लोबल इक्विटी फण्डको कार्यालय सानेपामा अवस्थित छ । जसले कोस्टारिका र नेपाली नागरिक दुवैलाई आवश्यक कन्सुलर सेवाहरू उपलब्ध गराउने छ, जसले दुई राष्ट्रहरू बीचको महत्वपूर्ण पुलको रूपमा काम गर्नेछ । डा. थापाले सरकारी अधिकारीहरू, व्यवसायी नेताहरू र सांस्कृतिक संस्थाहरूसँग सहकार्य र वृद्धिका नयाँ मार्गहरू खोज्न सक्रिय रूपमा संलग्न हुने अपेक्षा गरिएको छ ।

नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतका रूपमा डा. मनिष थापाको नियुक्ति दुवै देशको कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई विस्तार र सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ ।