नेपालको अर्थतन्त्रमा सुधारको संकेत, भारत विश्वमै उत्कृष्ट

  २०८० पुष २५ गते १३:२२     विकासन्युज

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारको गतिमा रहेको देखाएको छ ।  विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार नेपालको अर्थतन्त्र आगामी दिनमा थप सुधार हुँदै जाने निश्कर्ष निकालेको हो ।

प्रतिवेदनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुनेछ । गत आव २०७९/८० मा नेपालकको आर्थिक वृद्धिदर १.९ प्रतिशत हुने अनुमान विश्व बैंकको थियो । सन् २०२५ सम्म भने नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकको छ ।

विश्व अर्थतन्त्रको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विगतको तुलनामा विश्व अर्थतन्त्र भने केही सुस्त हुने अनुमान विश्व बैंकले गरेको छ । सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहनेछ । जुन गत वर्षको तुलनामा कम हो । सन् २०२३ मा विश्वको अर्थतन्त्र २.६ प्रतिशत आर्थिक वृद्धिदर भएको थियो ।

विश्व अर्थतन्त्र भने आगामी आर्थिक वर्ष अर्थात सन् २०२५ मा समेत सुस्त नै रहने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, छिमेकी राष्ट्र भारतको अर्थतन्त्रमा भने निकै राम्रो प्रगति देखिएको छ । यस वर्ष ६.४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्ष समेत सोही गति समात्ने देखिएको छ । अघिल्लो वर्ष भारतले ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी वर्ष ६.५ प्रतिशतको वृद्धि प्राप्त गर्ने अनुमान विश्व बैंकको छ ।