बुटवल पावरको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित

  २०८० पुष २९ गते १८:४३     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीको लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश र एफपीओ जारी गर्ने दुबै प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश पाउने छन् । उक्त लाभांश कम्पनीले नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई सक्दो छिटो वितरण गर्ने बताएको छ ।

साथै, सो सभाले कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँलाई बढाई ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेगावाट को खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीले जानकारी गराएको छ ।

३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको छ । यस आयोजनाको निर्माण कार्य २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।

तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् ।

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरि यस आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको चैत्र भित्रै शुरु गर्ने योजना रहेको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ । १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।