२०८० माघ ४ गते १७:५९ विकासन्युज
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् प्रा.लि.बीच रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने साझेदारी भएको छ । बुधबार एक कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोनपोइन्टसका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टसले गर्नेछ । फोन पोइन्टसले इसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ ।
साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने- ‘ हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौं र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौं । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौं ।’
फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । दुवै कम्पनी इनोभेशनलाई बढवा दिन तथा ग्राहकको सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।
फोनपोइन्टस् एक लोयल्टी पोइन्ट व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी प्रोग्रामहरूमासँग संलग्न हुने तरिकामा धेरै तरिकाले परिवर्तन गर्ने लक्ष्य राख्छ । इनोभेशनमा ध्यान केन्द्रित गर्दै फोनपोइन्टसले सबैका लागि रिवार्ड प्राप्त र प्रयोग गर्ने अनुभवमा आयाम् परिवर्तन ल्याउनेछ ।
सन् २००९ मा स्थापना भएको इसेवा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त अग्रणी भुक्तानी सेवा प्रदायक संस्था हो । एफवान सफ्ट इन्टरनेशनलसँग आवद्ध रहेको इसेवाले नगदरहित डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गर्दै सुविधाजनक र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने सेवा प्रदान गर्दै आएको छ । नेपालभरी ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत थप लाखौं बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको इसेवामा ४ लाख बढी मर्चेन्टको साथमा २५ सय भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.