२०८० माघ ८ गते १३:४० इन्द्रसरा खड्का
काठमाडौं । विगतमा समाचार वाचन तथा रिपोर्टमा ‘भ्वाइस ओभर’का लागि कर्मचारी परिचालन गर्दै आएको नेपाल एफएमले हाल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर रिपोर्ट प्रसारण गर्छ । सो सञ्चार माध्यमले अहिले कर्मचारी कटौती गरेर एआईको व्यापक प्रयोग बढाएको छ । पहिले कर्मचारीमा मासिक लाखौं खर्च गरेर उत्पादन हुने रिपोर्टहरू अहिले निःशुल्क उत्पादन भइरहेका छन् । समाचारका हरेक बुलेटिनमा रेडियो रिपोर्ट तयार पारेर एआईलाई पढ्न दिएपछि उसले अडियोमा रेकर्ड गरेर तयार गर्छ र आफूले चाहेको बेला महिला वा पुरुष आवाजमा अडिओ रेकर्ड गर्न सकिन्छ ।
‘एआई’ले रिपोर्टको स्क्रिप्ट पढ्न थालेपछि धेरै सहज भएको नेपाल एफएमका कार्यकारी निर्देशक गोविन्द्र खड्का बताउँछन् । ‘अब डेस्कमा राम्रो काम गर्न सक्ने मान्छे छ भने एक जनाले पनि रेडियो चलाउन सकिन्छ, एआईलाई काम दिन सक्ने मान्छे भए पुग्यो,’ उनी भन्छन्, ‘महिलाले डेस्क हेरिरहेको छ भने पुरुषको आवाजमा र पुरुषले डेस्क हेरिरहेको छ भने महिलाको आवाजमा हामीले रिपोर्ट पढाउने गरेका छौं, अब एआईको राम्रो प्रयोग गर्न सक्ने मान्छे भए धेरै कर्मचारी राखिरहन पर्दैन ।’
पछिल्लो समय मिडियामा दक्ष जनशक्तिको अभाव छ । अब कर्मचारी थप्नेभन्दा पनि भएका जनशक्तिलाई प्रविधिको विषयमा सिकाउन सकेमा कम जनशक्तिबाट धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा खड्काको छ । उनले पनि अहिले कर्मचारी कटौती गरेर एआईको प्रयोगलाई व्यापकता दिइरहेका छन् ।
रेडियोमा मात्र होइन अहिले विभिन्न सञ्चार माध्यमले एआईको प्रयोगलाई व्यापकता दिएका छन् । अनलाइन सञ्चार माध्यमले पनि समाचारसँगै अडियो क्लिप पोष्ट गर्ने गरेका छन् । जुन अडियो एआईको नै हो । भारतमा टेलिभिजनको प्रस्तोता पनि एआई नै छ ।
नेपाली युट्युवरहरूले पनि एआईको प्रयोगबाट भिडिओहरू निर्माण गर्ने गरेका छन् । नेपाल चित्र नामक युटुव च्यानलले पनि पछिल्लो समय एआईको प्रयोगले नै भिडिओ बनाउने गरेको छ । नेपाल चित्रका सञ्चालक विशाल सापकोटा विगत ६ महिनादेखि युटुबमा एआईको प्रयोग गरिरहेको बताउँछन् ।
‘भिडिओका लागि कन्टेन्ट र तस्बिर हाम्रै हुन्छ, स्टोरी पढाउनका लागि एआईको प्रयोग गर्छौं, हामीसँग ठूलो मिडिया हाउस चलाउने स्रोत छैन, जनशक्ति नभएको मिडियाको लागि एआई राम्रो माध्यम बन्न सक्छ,’ उनले भने ।
एआईमार्फत् कन्टेन्ट पढाउँदा छिटो पनि हुने उनको भनाइ छ । ‘मान्छेले आफैंले पढ्दा धेरै टेक खानुपर्छ, अडियो पनि सम्पादन गर्नुप¥यो । तर, एआईको प्रयोग गर्दा समय पनि नलाग्ने, चाहेको जस्तै आवाज बन्छ,’ उनी भन्छन्, ‘स्टोरी शुद्ध भयो भने आवाज पनि राम्रै बन्छ ।’
अडियो र भिडिओमा मात्र नभइ अनलाइन, पत्रपत्रिकामा काम गर्ने धेरै जसो पत्रकार एआईको प्रयोग गरिरहेका छन् । कतिपय सम्पादकले एआईकै प्रयोगले समाचार सम्पादन गर्ने गरेको पनि देखिन्छ ।
अब प्रविधिकै सहयोग र प्रयोगले सबै काम गर्न सकिने जानकारहरू बताउँछन् । आम मानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनको सहायताले हरेक काम गर्न छिटो र छरितो मात्रै होइन गुणस्तरीय बन्ने चर्चा पनि छ । मान्छेले एआईको प्रयोग गरेर नै सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा तस्बीर राख्नेदेखि भिडियोमा निर्माण पनि गरिरहेका छन् ।
कसरी प्रयोग गर्ने एआई ?
एआईलाई रेडियो रिपोर्ट पढाउँदा सबैभन्दा पहिले आफ्नो युजर आईडी बनाउनु पर्ने हुन्छ । त्यसपछि भ्वाइस मेकर डट इन खोज्नु पर्ने हुन्छ । सर्च (खोजी) गर्दा धेरै टुल्सहरू देखिन्छन् । ती मध्ये कुनै एकमा जान सकिन्छ । नेपालका रेडियो, युटुब जसले एआई प्रयोग गरिरहेका छन् तिनिहरूले छुट्टाछुट्टै तरिकाले प्रयोग गरिरहेका छन् ।
भ्वाइस मेकर डट इन खोल्ने वित्तिकै युजर आइडी माग्छ । त्यसको लागि आफ्नो अकाउण्ट हुनुपर्छ । त्यसमा भाषा छानिसकेपछि महिला वा पुरुष कुनबाट अडिओ पढाउन खोजिएको हो त्यो विकल्प क्लिक गर्नुपर्छ ।
रिपोर्ट तयार भइसकेपछि रिपोर्टको गति छान्नुपर्छ । त्यसलाई डाउनलोड गरेर रेडियोमा बजाउन मिल्छ । पछिल्लो समय धेरैले एआईमार्फत् तस्बिर पनि बनाउने गरेका छन् । त्यसका लागि विभिन्न वेवसाइटहरू छन् । कतिपय निःशुल्क छन् भने कतिपयमा पैसा पनि लाग्ने गरेको छ । नेपाली मिडियामा भने अहिले निःशुल्क रूपमा एआईको प्रयोग भइरहेको छ ।
काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रबी राज बराल युट्युव र सामाजिक सञ्जलमा यसको प्रयोग बढी भइरहेको बताउँछन् । नेपाली मिडियामा पत्रकारले तयार पारेको समाचार वा रिपोर्टको स्क्रिप्ट एआईको सफट्वेरमा राख्ने र उसले पढेर बनाएको अडियो र त्यसलाई भिडियोमा राखेको पाइएको उनको भनाइ छ ।
‘युटुबर र सोसलमिडिया क्रियटरले एआईको प्रयोग गरिरहेका छन्, कतिपय टेलिभिजनमा बिरोलको रूपमा एआईको प्रयोग भइरहेको छ,’ उनी भन्छन् ।
लण्डन स्कूल अफ इकोनोमिक युनिभर्सीटीको एउटा रिसर्च सेन्टरले सन् २०२० मा ३२ देशका ७१ समाचार कक्षमा कसरी एआईको प्रयोग गरिरहेको छ भन्ने विषयमा अध्ययन गरेको थियो । त्यहाँ धेरै मान्छेलाई एआई भनेको के हो थाहै नभएको र केहीलाई भने थोरै जानकार िभएको अध्ययनबाट खुलेको थियो । नेपालमा भने यो विषयमा अनुसन्धान नै भएको छैन । नेपालका पत्रकारले जेनेरेटिक एआईको प्रयोग गरिरहेका छन् ।
नेपाल चेकका सम्पादक दिपक अधिकारी पछिल्लो समय नेपाली सञ्चार माध्यमले प्रयोग गर्ने अधिकांश फोटोहरू एआईबाट बनेको बताउँछन् । ‘पत्रकारहरूले एआईजस्ता टुल्स पहिलेदेखि नै प्रयोग गर्दै आइरहेका छन्, डेटा जर्नलिजमको लागि विभिन्न टुल्सदेखि एक्सल प्रयोग गर्नेसम्म पत्रकारले पहिलेदेखि यस्ता प्रविधिको प्रयोग गरिरहेका थिए, अहिले प्रयोग गर्नेको संख्या बढेको छ,’ उनी भन्छन् ।
अधिकारीका अनुसार एआईको प्रयोग नेपाली मिडियामा दुई किसिममा भइरहेको छ । एउटा फोटो भिडियो, अर्को शब्द (टेक्स्ट)मा यसको प्रयोग भइरहेको छ ।
विश्वसनियतामाथि प्रश्न
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई एक सफ्टवेर हो । कम्प्युटर विज्ञानमा कृत्रिम बौद्धिकता एआईलाई यान्त्रिक बुद्धी पनि भनिन्छ । यो एउटा मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । मानव शरिरको अलावा मानव निर्मित उपकरणद्धारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रक्रिया हो । एआईले कम्युटर नेटवर्कका आधारमा काम गर्छ ।
तर, एआईबाट हुने काम भने सतप्रतिशत सही नहुने विज्ञहरूको दाबी छ । एआइबारे नेपालमा एक दशकदेखि अध्ययन गर्दै आएका नेचुरल लेंग्वेज प्रोसेसिङका प्रमुख अजयमणी गौतम एआईले गर्ने सबै काम सही नहुने धारणा राख्छन् ।
एआईले अंग्रेजी वा अन्य भाषालाई राम्ररी बुझेपनि नेपाली भाषाको शब्द भण्डार नै प्रयाप्त नभएकाले उसले सोधेको सबै कुरा भन्न नसक्ने उनी बताउँछन् । ‘सहयोग एआईको लिए पनि दिमाग आफ्नो लगाउनुपर्छ, नेपाली भाषा प्रविधिमा लैजान डिजिटल्ली शब्दको भण्डार बनिसकेको छैन,’ उनी भन्छन्, ‘एआईले दिएको सबै सूचना सत्य हुँदैन ।’
एआइले रिर्पोटरलाई राम्रो रिपोर्ट तयार पार्नमा भने सघाउ पुग्ने विज्ञहरू बताउँछन् । ‘एआईलाई अनुवादमा प्रयोग गर्न सकिन्छ, लामो रिपोर्टलाई सारांशमा लेख्न सहयोग पुग्छ । तर, पूर्ण रूपमा विश्वस्त भने हुनु हुँदैन,’ उनले भने ।
एआईले ड्राइभरबिनाको कार बनाइसकेको छ भने एआईकै कारण पाइलटबिनै जहाज उड्ने प्रविधिको विकास समेत भइसकेका समाचार सुनिन्छन् । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् ।
एआइसँगै च्याट जीपीटी प्रयोग गर्नेको संख्या पनि बढेको छ । च्याट जीपीटीको मुख्य उद्देश्य गुगलसर्चबाट इन्जिनलाई विस्थापित गर्दै सर्च इन्जिन हिस्सा लिने हो । यसको असर मिडिया र सोसल मिडियामा पर्छ । एआई र च्याट जीपीटीकै कारण नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको जागिर पनि जोखिममा रहेको बुझाइ धेरैको छ । तर, तत्काल नेपाली मिडियाले पत्रकारहरूलाई नै रिप्लेस हुने गरी काम गर्न नसक्ने धारणा जानकारहरूको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.