२०८० माघ ९ गते १७:५६ विकासन्युज
काठमाडौं । रिलायबल इन्डष्ट्रिज प्रा.लि.ले एक वर्षमै ४५३ प्रतिशतले व्यापार बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०२२को तुलनामा आर्थिक वर्ष २०२३ मा आफ्नो व्यापार ह्वात्तै बढाएको हो ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले आर्थिक वर्ष २०२३ मा ५३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी अघिल्लो आवमा ९ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार भएको थियो भने आर्थिक वर्ष २०२१ मा ५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ । उक्त तथ्यांक अनुसार कम्पनीले विगत तीन वर्षमा आफ्नो व्यापार निरन्तर बढाउँदै गएको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले हाल विभिन्न प्रकारका वायर अर्थात तार जालीहरुको उत्पादन गर्दै आएको छ । जुलाई २०२३ अघि भने कम्पनी हार्डवयर उत्पादनहरुको व्यापारमा संलग्न थियो ।
पर्सामा उत्पादन केन्द्र रहेको कम्पनीको प्रतिवर्ष २० हजार मिलियन टन तार जाली उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न कामको लागि प्रयोग गरिने बाइन्डिङ र ग्याल्भेनाइज्ड तारहरू पनि उत्पादन गर्दै आएको छ, जुन भिन्नाभिन्नै आकार, आयाम र मोटाईमा पाइन्छ ।
कम्पनीको नीति निर्माण तथा रणनीतिहरु कम्पनीका अध्यक्ष धिरज अग्रवालले बनाउँदै आएका छन् । जो रिल्स स्टीलको संस्थापक हुन् भने नेपालको सबैभन्दा पुरानो छापाखाना शंकर प्रेसका सञ्चालक हुन् ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको दीर्घकालिन र अल्पकालिन कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले दीर्घकालीन कर्जाको लागि केयर एनपी डबल बी माइनस र अल्पकालीनको लागि केयर एनपी एफोरको रेटिङ दिएको छ । कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ बराबरको दीर्घकालिन कर्जा, ११ करोड ७० लाख रुपैयाँ बराबरको अल्पकालिन कर्जा र २६ करोड ४८ लाख रुपैयाँ बराबरको दीर्घकालिन तथा अल्पकालिन कर्जाको लागि उक्त रेटिङ एजेन्सीमा रेटिङ गराएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.