अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’

  २०८० माघ ११ गते १६:२१     सन्तोष रोकाया

काठमाडौं । नेपाली अटोमोबाइल्स क्षेत्रमा अधिकांशले चिन्ने नाम हो राजनबाबु श्रेष्ठ । देशको सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठले अटोमोबाइल क्षेत्रमा काम गरेको तीन दशक भयो । तीन दशकको अवधिमा उनले धेरै उतार चढाव, आरोह अवरोह तथा सफलता र अफलताका फेहरिस्तहरूको अनुभव गरे । सिप्रदीलाई देशकै सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी बनाउनु र त्यसको सीईओ बन्नु आफैंमा ठूलो चुनौतीको विषय हो । त्यसका लागि एउटा अब्बलता र नेतृत्व क्षमताको आवश्यकता त पर्छ नै ।

भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीमा उनले काम सुरु गरेको साढे दुई दशक भयो । यो अवधिमा कम्पनीको देशभर सञ्जाल विस्तार गर्न, ग्राहकलाई कम्पनीप्रति आकर्षण बढाउन, टीमलाई मोबिलाइज गर्न र कम्पनीलाई आर्थिक रूपमा पनि सबल बनाउनका लागि उनले चालेका रणनीतिक योजना र खेलेको भूमिकाभित्र ठूलो संघर्ष लुकेको छ । त्यो अथाह परिश्रमपछि मात्रै उनी प्रशंसाका पात्र बनेका हुन् ।

उनले कम्पनीमा काम सुरु गरेर सिप्रदीको विगतको साख मात्रै जोगाएनन्, कम्पनीलाई थप विस्तार गर्न ठूलो भूमिका समेत खेलेका छन् । एउटा असल व्यवस्थापकको कुशलता राजनबाबुले प्रमाणित गरिसकेका छन् । अहिले कम्पनीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । त्यसैले पनि राजनबाबु बजारमा पनि सधैं अपेडट र अभ्यस्त भइरहेका हुन्छन् । त्यसका लागि उनलाई उनको टीमको साथ र सहयोग पनि अथाह छ । उनी भन्छन्, ‘नेतृत्व सफल हुनका लागि टीमको भूमिका महत्वपूर्ण हुन्छ, जसले समग्र संस्थालाई एउटा उचाइमा पुर्याउन मद्दत पुग्छ ।’

यो किसिमको सफलता कसरी प्राप्त गर्न सकिन्छ ? हामीले उनै सीईओ राजनबाबुलाई प्रश्न गर्यौं । उनले जवाफमा भने, ‘आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोविलाइज गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन ।’

यो सफलताको पछाडि राजनबाबुको ठूलो मिहिनेत लुकेको छ । काठमाडौंको रैथाने राजनबाबुको जन्म भने गोरखामा भयो । सरकारी जागिरे बुबा गोरखामा काम गर्ने भएकोले उनको जन्म पनि सन् १९७० मा गोरखामै भयो । विद्यार्थी जीवन उनको गोरखामै बित्यो । बिहान तीन बजेर पढ्न बसेका विद्यार्थी जीवनका ती दिनहरू राजनबाबुको दिमाखमा अहिले पनि ताजै छन् । उनी आफैंलाई प्रश्न गछर्न्- ‘यदि मेरो बुबाले बिहानै उठाएर तीन बजेदेखि नपढाएको भए, पढेर ठूलो मान्छे बन्नुपर्छ बाबु भनेर झकझक्याएको नभए,’ उनी रोकिन्छन् ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार नेपालको बजारमा कमर्सियल तथा प्यासेन्जर दुबै सेगमेन्टमा सबैभन्दा ठूलो हिस्सा टाटा ब्राण्डले लिएको छ । सिप्रदी ट्रेडिङ र यसका प्रवर्द्धक सिद्धार्थ शमशेर राणालाई नेपाल सरकारले सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।

हुनत हरेक आमाबुबाको चाहना मेरो छोराछोरी ठूलो मान्छे बनुन्, राम्रो पढाइ गरून्, धेरै कमाउन्, परिवारलाई खुसीका साथ राखुन् भन्ने नै हुन्छ । राजनबाबुका आमाबुबा पनि त्यही सोच्थे । सोही कारण पनि उनी प्लसटु पढ्नका लागि गोरखाबाट काठमाडौं आए । ललितपुरको पाटन क्याम्पसनमा विज्ञान विषय पढाइ सुरु गरे । उसो त विज्ञान विषय लिएपछि कि डाक्टर कि इन्जिनियरिङ पेसा रोज्नु पर्थ्यो । राजनबाबुले इन्जिनियरिङ रोजे र पढाइका लागि भारततर्फ लागे ।

उनले भारतको पञ्जावमा रहेको पञ्जाव इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङ पढे । सन् १९९३ मा इन्जिनियरिङ पास गरेर नेपाल फर्किए । हुन त त्यतिखेर इन्जिनियरहरूको माग विश्व बजारमा प्रयाप्त थियो । राजनबाबुसँगै पढेका साथीहरू कति विदेशतिर लागे । कतिपय भारतमै बसे । तर, उनी स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किए ।

‘त्यतिखेर पनि विद्यार्थी विदेसिने अभ्यास बढी थियो, अझै इन्जिनियर पढेको मान्छे त नेपालमा किन बस्ने भन्ने प्रश्न गरिन्थ्यो । तर, मैले आफ्नै देशमा केही काम गर्नुपर्छ भनेर भारतबाट इन्जिनियरिङ पास गरेपछि नेपालमै फर्किएँ,’ उनी भन्छन्, ‘अहिले जे छु, जस्तो छु, जे काम गरिरहेको छु, धेरै खुसी छु ।’

साढे दुई दशकदेखि एउटै संस्थामा

राजनबाबु सन् १९९३ मा भारतबाट फर्केपछि टोयटाको डिलर युनाइटेड ट्रेडर्स सिन्डिकेटमा काम सुरु गरे । त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएको उनको भनाई छ । त्यहाँ काम गरेको केही समयपछि उनी मारूती सुजुकीको अरुण इन्टरकन्टिनेन्टलमा आवद्ध भए । उनले त्यहाँ पनि केही समय काम गरेपछि सन् १९९९ मा सिप्रदीसँग जोडिए ।

सिप्रदीमा उनले टेक्निकल म्यानेजरको रूपमा काम सुरु गरे । सिप्रदी नै उनको सफलताको उत्तम केन्द्र बन्यो । यो साढे दुई दशकमा उनले आफूलाई अटो बजारमा अभ्यस्त बनाइसकेका छन् । राजनबाबुको करिअर ग्रोथका लागि सिप्रदी एउटा गतिलो प्लेटफर्म बन्यो । देश तथा विदेशका तालिम, सेमिनार, अटोमोबाइल्स सम्बन्धी विभिन्न कोर्षहरू लगायत क्षमता अभिवृद्धिका कार्यक्रममा भाग लिने अवसर उनले पाए । उनले फिलिपिन्सको एसियन इन्स्टिच्यूट अफ म्यानेज्मेन्ट र अमेरिकाको हार्वर्ड बिजनेस स्कूल लगायत शैक्षिक संस्थामा पनि अटोबजार सम्बन्धी विभिन्न कोर्षहरू पढेका छन् । परिणामस्वरूप उनी एउटा अब्बल व्यवस्थापकको रूपमा नेपाली अटो मोबाइल्स क्षेत्रमा परिचित छन् ।

एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुनैपर्छ । भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ । बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने क्षमता नेतृत्वमा चाहिन्छ ।

सिप्रदीमा टेक्निकल म्यानेजरमा प्रवेश गरेका राजनबाबुले छिटोछिटो प्रमोशनको अवसर पाए । मिडिल म्यानेजर, म्यानेजर, कम्पनीको प्रमुख सञ्चालन अधिकृत, महाप्रबन्धक र भाइस प्रेसिडेन्ट हुँदै अहिले उनी सिप्रदीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा काम गरिरहेका छन् । उनी सीईओ भएको ७ वर्ष भईसकेको छ ।

‘म काम गर्न रुचाउँछु, म सधैं टीमलाई अगाडि बढाउँछु, एउटा कम्पनीको सम्पत्ति भनेको ग्राहक र कर्मचारी हो, यसमा हामीले ठूलो लगानी गरिरहेका छौं, त्यसको नतिजा पनि प्राप्त गरेका छौं, समयअनुसार सीप सिकाइरहेका हुन्छौं,’ उनी भन्छन्, ‘म रणनीतिक हिसाबमा काम गर्न रूचाउँछु ।’

नेतृत्व बजारसँग अपडेट हुन सक्नु पर्ने उनको भनाइ छ । हुन त नेपालमा अटो मार्केट सानो छ । यो सानो मार्केटमा धेरै कम्पनीहरूले प्रतिस्पर्धा गर्नु आफैंमा ठूलो चुनौती थियो र छ पनि । त्यो प्रतिस्पर्धाको परिवेशबाट अटो क्षेत्रमा होमिएका राजनबाबुलाई लाग्थ्यो, ‘म यो कम्पनीलाई पाँच हजार करोड रुपैयाँको बनाउँछु ।’

सरकारको नीति, विश्व महामारीका रूपमा फैलिएको कोरोना र त्यसअघिको विनासकारी भूकम्प उनको व्यवसायिक लक्ष्य प्राप्तिका लागि बाधक बने । उनको ५ हजार करोडको कम्पनी बनाउने योजना पुरा नभएपनि उनी त्यसमा अझैं लागिरहेका छन् । भन्छन्- ‘आफ्नो लक्ष्यप्रति म अहिले पनि दृढ छु । त्यो प्राप्त गर्न सकिन्छ । मलाई ग्राहक र कर्मचारीहरूको साथ चाहिएको छ ।’

‘हामी ग्राहकप्रति धेरै जिम्मेवार छौं, ग्राहककै कारण हामी यहाँसम्म आइपुगेका हौं, ग्राहककै सन्तुष्टिका लागि हामी काम गरिरहेका छौं, ग्राहकको सेवामा कुनै कम्प्रमाइज गर्दैनौं,’ उनी खुसीका साथ भन्छन्, ‘त्यसैले त सिप्रदी अहिले देशको नम्बर वान अटो मोबाइल्स कम्पनी बनेको छ ।’ आफूले दिने सेवाप्रति ग्राहकलाई सन्तुष्ट बनाउन जे पर्छ, त्यो गर्न कम्पनीको सबै टिम परिचालित भएको उनले बताए ।

नेपालमा टाटाका ट्रक, बस, ट्रिपर र बिजुलीको गाडीलाई धेरै विश्वास गरिन्छ । त्यसको मुख्य कारण भनेको ग्राहकको चाहनाअनुसारको सेवा र कम सञ्चालन खर्च । सिप्रदी कमर्सियल भेहिकलतर्फ धेरै वर्ष अघिदेखि पनि नम्बर वान कम्पनीका रूपमा स्थापित छ भने इलेक्ट्रिक भइकल्सतर्फ पनि नम्वर वान कम्पनीको रुपमा उदाएको छ ।

अब्बल व्यवस्थापक

राजनबाबु श्रेष्ठले सिप्रदीमा एउटा अब्बल व्यवस्थापकको छवि बनाएका छन् । जसरी उनी विद्यार्थी जीवनमा क्लासमा सधैं दोस्रो र तेस्रो हुन्थे त्यसरी नै अटो क्षेत्रमा पनि नम्बर वान सीईओको रूपमा काम गरिरहेका छन् । त्यो कम्पनीको संरचना होस्, कर्मचारीको अब्बलता र उत्पादकत्व होस् वा पाउने पारिश्रमिक नै किन नहोस् राजनबाबु अटोबजार क्षेत्रका एक आशलाग्दा र चाखलाग्दा सीईओ हुन् ।

नेपालका ठूला वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतकहरुले मासिक तलब १५/१८ लाख रुपैयाँ तलब सुविधा लिन्छन् । भनिन्छ वाणिज्य बैंकहरुको भन्दा बढी तलब सुविधा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृतले पाउँछन् । तर यस विषयमा राजनबाबुले बोल्न इच्छाएनन् । उनले भने- सिप्रदीका कर्मचारीलाई राम्रो सेवा सुविधा छ । त्यो हामीले भनिराख्नु पर्दैन । साथै, सिप्रदी सरकारी नीति नियमको पूर्ण परिपालना गर्ने कम्पनी हो । यो कम्पनीले धेरै पटक उत्कृष्ट कर बुझाउने कम्पनीको रुपमा सरकारबाट सम्मान पाएका छ ।’

आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोबिलाइज्ड गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन ।

यस कम्पनीका प्रवर्द्धक एवं सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा पनि व्यक्तिगततर्फ अहिलेसम्म सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सरकारबाट सम्मानित भएका छन् । नियमअनुसार लाग्ने सबै प्रकारका कर तिर्नुपर्छ भन्ने संस्कार कम्पनीमा पूर्णतः लागू भएको छ । अध्यक्ष राणाले कम्पनीलाई एउटा लय र राणनीतिका साथ अगाडि बढाइरहेका छन्, त्यसमा हस्तेमा हैसे उनै राजनबाबुले गरिरहेका छन् । राणाले बनाउने नीतिलाई सफल कार्यान्वयन गराउन शतप्रतिशत भूमिका उनै राजनबाबुले खेलिरहेका छन् ।

‘सिद्धार्थ सरले नीति, योजना तथा रणनीति बनाउनुहुन्छ, हामीले उहाँको भिजनलाई पुरा गर्नका लागि काम गर्ने हो, उहाँको भिजनले सकारात्मक नतिजा पनि आइरहेको छ, बोर्डको शतप्रतिशत साथ र सहयोग भएकै कारण हामी सफल पनि भइरहेका छौं,’ राजनबाबुले अनुभव सुनाए ।

अटो मोबाइल्स क्षेत्रसँग हरेक क्षेत्र जोडिएको छ । भेन्डर, सरकारी निकाय र ग्राहकको प्रतिक्रियाका आधारमा नै कम्पनीले आफूलाई परिस्कृत गर्दै गएको छ । ‘हामी कम्प्लायन्समा चुकेका छैनौं, सबैसँग हाम्रो समान व्यवहार हुन्छ, हाम्रोमा बोर्डको कुनै हस्तक्षेप हुँदैन, कम्पनी चलाउने भनेको कर्मचारीले भन्ने मानसिकता कम्पनीका सबैलाई छ,’ उनी भन्छन्,‘ एउटा व्यवस्थापकले सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्नुपर्छ ।’

राजनबाबु सिप्रदीको प्रमुख कार्यकारी अधिकृत भएको सात वर्ष भयो । कम्पनीलाई समयसँगै कसरी स्मार्ट बनाउने, टीमलाई कसरी डेभलप गर्ने र बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा उनी सजक र जानकार छन् । सिप्रदीको चार दशकको इतिहासलाई थप एउटा उचाइमा पुर्याउने लक्ष्य राजनबाबुको छ ।

एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुन आवश्यक रहेको उनी बताउँछन् । ‘भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ, बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने अब्बलता नेतृत्वमा चाहिन्छ,’ उनी भन्छन् ।

उनी सिप्रदीको नेतृत्व गर्न पाउनुलाई अवसर ठान्छन् । यो अवसरसँगै बजारमा आफ्नो उपस्थिति र हिस्सा बढाउँदै लैजानु पर्ने चुनौती पनि रहेको उनको भनाइ छ । उनका अनुसार हाल नेपाली अटो बजारमा सिप्रदीको विद्युतीय गाडीको हिस्सा ४३ प्रतिशत छ भने विद्युतीय र आइस गाडीसहित ३५ प्रतिशत हिस्सा छ ।

उनी नेतृत्वको नियत सफा हुनुपर्ने बताउँछन् । ‘संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषय नेतृत्वको नियतमा भरपर्छ । उसले कुन नियतले र कसरी काम गरिरहेको छ भन्ने विषय महत्वपूर्ण हुन्छ, जसले स्रोतसाधनको व्यवस्थापन तथा सही ढंगले प्रयोग गरेर अगाडि बढ्छ, ऊ नै सफल बन्छ,’ उनी भन्छन्, ‘जसले नियत सफा राख्दैन, त्यो असफल हुन्छ ।’

कर्मचारीलाई ‘पूर्ण अधिकार’

सिप्रदी ट्रेडिङ सिस्टममा चलेको कम्पनी हो । कम्पनीलाई प्रोफेसनलरूपमा अगाडि बढाउनका लागि बोर्ड र व्यवस्थापक लागिरहेका छन् । सिस्टम स्ट्रोङ बनाउनु नै सिप्रदीको प्रमुख प्राथमिकता हो । योसँगै कम्पनीले आफ्नो टीमलाई काम गर्नका लागि पूर्ण अधिकार प्रदान गरेको छ ।

‘सिप्रदीलाई एउटा सिस्टमले गाइड गरेको छ, हामी सबै सिस्टममा बाँधिइरहेका हुन्छौं, प्रत्येक कर्मचारीलाई काम गर्नका लागि पूर्ण अथोरिटी हुन्छ, मैले के आधारमा निर्णय गरेको हुँ भन्ने आधार हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसले उक्त व्यक्तिलाई जिम्मेवार महसुस गराउँछ, विश्वसनियता पनि हुन्छ ।’

सिप्रदीमा ‘टप टु डाउन’ डिसिजन हुँदैन । निर्णय गर्दा पनि सबैको सहभागिता हुन्छ । सबैको सहभागितामा गरेको निर्णयले कार्यान्वयन गर्दा पनि सबैलाई आत्मबोध तथा अनरसिप हुने राजनबाबु बताउँछन् ।

पञ्जाव इन्जिनियरिङ कलेजबाट ब्याचलर्स इन इन्जिनियरिङ (बीई), साथै हार्डवर्ड बिजनेश स्कूल, आईआईएम अम्दावादबाट सीपमूलक एक्जियूटिम तालिम प्राप्त राजनबाबुसँग लिडरसिप कलासँगै प्राविधिक ज्ञान पनि राम्रो छ । उनी सीटीईभिटीको बोर्ड मेम्बर, राष्ट्रिय सीप परीक्षा बोर्डको बोर्ड मेम्बर समेत रहेका छन् ।

अर्को, महत्वपूर्ण विषय भनेको सिप्रदीले नेतृत्व वा महत्वपूर्ण पदका लागि बाहिरबाट मान्छे हायर गर्दैन । बरु त्यसका लागि कम्पनीभित्रकै कर्मचारीलाई तयार पार्छ । ‘सबैले ग्रोथको अवसर देखुन् भन्ने हो, हामीले प्रत्येक वर्ष कर्मचारीको मूल्यांकन गर्छौं, कसको कहाँ ग्याप छ, त्यहीअनुसार तालिम दिइरहेका हुन्छौं, सक्सेसरको प्लानिङ हुन्छ,’ राजनबाबुले भने ।

उनले कम्पनीले ब्राण्ड, प्रडक्ट र सर्भिसमा प्राथमिकता दिइरहेको बताए । ‘ग्राहकको प्रतिक्रियालाई हामीले सधैं सर्वोपरी ठानिरहेका छौं, त्यसले हामीलाई ग्रोथको अवसर पनि देखायो,’ उनले भने । हाल सिप्रदीमा १२ सय कर्मचारी छन् ।

पञ्जावमा प्रेम, काठमाडौंमा बिहे

राजनबाबु भारतमा इन्जिनियर पढ्दै गर्दा काठमाडौंकी हिमा कर्माचार्यसँग भेट भयो । राजनबाबु इलेक्ट्रिक इन्जियिरिङ पढ्दै थिए भने हिमा स्ट्रक्चलर इन्जिनियरिङ ।

एउटै कलेज भएकोले पनि उनीहरूबीच भेटघाट भइरहन्थ्यो । उनीहरूको पञ्जावमै प्रेम बस्यो । पछि नेपाल फर्किएपछि विवाह भयो । अहिले उनको दुई छोरी छन् । जेठी छोरी एमबीबीएस सकेर एमडीको तयारीमा छिन् भने कान्छो छोरी एसईईको तयारीमा ।

राजनबाबुलाई कहिलेकाहीँ छोरीहरू विदेश जाने निर्णय गर्छन् कि भन्ने चिन्ता पनि छ । उनलाई अहिले युवाहरूको विदेशतिरको आकर्षणले चिन्तित पनि बनाउँछ । सरकारले युवालाई रोजगारीको सिर्जना गर्न नसक्दा उनीहरू विदेसिन बाध्य भएको उनी बताउँछन् ।

‘नेपालमा राम्रो जागिरको अवसर सिर्जना गर्न नसकेको पनि हो, व्यवसायिक वातावरण राम्रो भएको छैन, आम्दानीलाई महँगीले धान्न सक्ने अवस्था छैन, घर र गाडी जोड्न पनि ठूलो चुनौती भयो, त्यसका लागि वर्षौं वर्ष समय लाग्ने देखियो, त्यही चिजका लागि विदेश गयो भने दुई/चार वर्षमा पुरा भइरहेको छ, त्यसैले पनि युवाहरू विदेशतिर आकर्षित भइरहेका छन्, यो एउटा चुनौतीको विषय हो,’ उनले भने ।

अहिले आफ्नो कम्पनीमा कर्मचारी टिकाउन गाह्रो भएको अनुभव राजनबाबुसँग छ । ‘सीपयुक्त कर्मचारी विदेश गइरहेका छन्, उनीहरूले विदेशमा अवसर देखिरहेका छन्,’ उनी भन्छन्, ‘यसले कुनै दिन ठूलो समस्या सिर्जना हुन सक्छ ।’

(देशविकासबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.