२०८० माघ १५ गते १०:४५ ऋतु
काठमाडौं । वर्षौं पुरानो भवन, साँघुरो ठाउँ । यात्रुहरूको भीडभाड थेगिनसक्नु । यात्रुहरू वायुसेवा कम्पनीका काउन्टरसम्म पुग्न उस्तै परे घण्टौं लाइनमा उभिनुपर्ने ।
यस्ता कुरामा यात्रुहरू आफ्ना गन्तव्य पुग्न जहाज चढ्नुअघि नै ‘माइण्ड प्रिपेयर’ गरेर आउँथे । सास्तीका कुरै नगरौं ।
अनि, गन्तव्य पुग्न हतारिएका यात्रु र उताबाट फर्केका यात्रुबीच एकै ठाउँ जम्काभेट हुन्थ्यो । त्यसपछि अर्को गन्जागोल भइहाल्थ्यो । समस्या, अर्को पनि थियो । फर्केर आउँदा आफ्ना लगेज, ब्यागेज वा अलि ठूला आकारका सामानका झोला वा सुटकेस लिन अर्को कैयौँ मिनेट कुर्नुपर्ने । कतिखेर आफ्नो सामान आइपुग्ला भनेर ‘ट्याग’ समातेर उभिनुको विकल्प पनि थिएन ।
यी त भए विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक हवाई टर्मिनलमा यात्रुले खपेका सास्तीका कुरा । र, अब यो इतिहास भइसकेको छ ।
साँच्चै, अहिले के भएको छ त ? समस्या ज्युँका त्युँ छ ? तपाईंलाई लाग्न सक्छ, हो त्रिभुवन विमानस्थल न पर्यो, यति समस्या पनि सामना नगरे त्रिभुवन विमानस्थलको विशेषता नै के रह्यो र !
तर होइन, तपाईं गलत हुनुहुन्छ । विगतमा यात्रुहरूले झेलेका, भोगेका र सामना गरेका समस्या जादुको छडी झैं ‘छु मन्तर’ भएको छ ।
कसरी ? त्रिभुवन विमानस्थल व्यवस्थापनले आन्तरिक उडान गर्ने यात्रुका लागि भिन्नै ‘अराइभल’ टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ । अब विगतमा भोगको सारा समस्या हटेर जाने निश्चित छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) मा आन्तरिक उडान गर्ने यात्रुहरूको प्रस्थान र आगमनका लागि छुट्टाछुट्टै टर्मिनल भवन तयार भएर सञ्चालनमा आएका छन् ।
संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले माघ १० मा भवन उट्घाटन गरे । योसँगै आन्तरिकतर्फका यात्रुका लागि प्रस्थान भवन र आगमन छुट्टै भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अराइभल टर्मिनलको क्षमता प्रतिघन्टा ४ सय यात्रु ‘ह्यान्डल’ गर्न सक्नेछ ।
माघ अघिसम्म त्रिभुवन विमानस्थलको आन्तरिक सेवातर्फ ‘डिपार्चर’ (आगमन) टर्मिनलमात्र थियो । त्यसैले अराइभल र डिपार्चरका यात्रु व्यवस्थापन गर्दै आएको थियो । तर, अहिले छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रु सेवा सहज भएको विमानस्थलले जनाएको छ ।
अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट (यात्रुका लगेज, ब्यागेज) मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो ।
विगतमा डिपार्चर टर्मिनलको यात्रु क्षमता एक पटकमा ५ सय जनाबराबर थियो । अराइभल कक्षमा रहेको कन्भेयर बेल्टमार्फत एकपटकमा सय बढी यात्रुलाई सेवा दिन मुस्किल थियो ।
विमानस्थल सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय तथा मुलुकको उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल अब डिपार्चर र अराइभल दुवै सेवाका लागि छुट्टछुट्टै भवन सञ्चालनमा आएपछि यात्रुले सहजै सुविधा पाउन थालेको बताउँछन् ।
‘पुरानो डिपार्चर टर्मिनलको प्रतिघण्टा ५ सय जनाको क्षमता थियो । तीन वर्षअघि हामीले डिपार्चरमा सानो एउटा पार्ट जोड्यौं, त्यो अहिले बुद्ध एयरलाई प्रयोग गर्न टर्मिनल दिएका छौं,’ उनले भने, ‘त्यसको २ सय यात्रु क्षमता हो । अहिले प्रतिघण्टा जम्मा यात्रु क्षमता ७ सय छ ।’
उनका अनुसार अराइभलको छेउमा भने छुट्टै टर्मिनल थिएन । ६ वर्षअघि डिपार्चरको राइटपट्टि कन्भेयर बेल्ट राखिएको थियो । अराइभल भनेर छुट्टै बस्न ठाउँ थिएन ।
‘अहिले प्रायः हाम्रो पुरानो डोमेस्टिक एयरपोर्टहरूमा डिर्पाचर गर्दा एयरलाइन्सको चेक इन एरिया, पर्खने ठाउँ, रेस्टरुम (शौचालय) सबै छ,’ सूचना अधिकारी भूलले भने, ‘किनभने मान्छे वेट नगर्ने, सिधै गइहाल्ने भएकाले अराइभल टर्मिनल थिएन ।’
काठमाडौंमा पहिलोपटक डोमेस्टिक टर्मिनलभित्र डिपार्चर टर्मिनलको छुट्टै व्यवस्था गरिएको उनले बताए । जसले प्रतिघण्टा ७ सय यात्रु ह्यान्डल गर्न सक्छ । दक्षिण भागमा अराइभल टर्मिनल नयाँ बनाइएको हो ।
‘नयाँमा दुइटा कन्भेयर बेल्ट छ,’ उनले भने, ‘ती दुइटा कन्भेयर बेल्टमा ब्यागेजहरू आउँछ, कहिलेकाहीँ ब्यागेज आउन ढिलो भयो र कसैको टेकओभर गर्ने व्यक्ति ढिलो भयो भने त्यहाँ वेट गर्न मिल्यो । र, त्यसले प्रतिघन्टा ४ सय यात्रु ह्यान्डल गर्न सक्छ ।’
पहिला दुई/तीन उडान सँगैसँगै आउँदा ब्यागेजका लागि पर्खिनुपर्थ्यो, कन्भेयर बेल्टमा भीडभाड हुन्थ्यो । नयाँ टर्मिनल भवन बनेसँगै त्यो समस्या समाधान भएको सूचना अधिकारी भूल बताउँछन् ।
उनका अनुसार कुनै कारण यात्रु बाहिर आउन सकेनन् भने त्यहाँ पर्खिने व्यवस्था छ । निःशुल्क वाइफाई, पिउने पानी र शौचालयको पनि उपयुक्त सुविधा छ ।
त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ पनि नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरू निकै खुसी भएको सूचना अधिकारी भूलले बताए ।
‘पहिला जहाजबाट ल्यान्ड गरेपछि बसमा चढेर सिधै सडकमा आउनुपर्थ्यो,’ उनले भने, ‘अब केही समय वेट गर्ने, बस्ने, चिया, कफी खाने सम्पूर्ण व्यवस्था हुने भएकाले आन्तरिक हवाई यात्रा गर्ने यात्रुको प्रतिक्रिया राम्रो छ ।’
विमानस्थलको अहिलेको प्रमुख लक्ष्य यात्रुलाई राम्रो सेवा सुविधा दिने र बिस्तारै प्रतिक्रिया लिएर अन्य सुविधा पनि थप्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन बनेपछि यात्रुहरूलाई धेरै नै सहज भएको र सबैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् ।
उनका अनुसार २०७९ जेठमा अराइभल टर्मिनल भवन निर्माण सुरु गरिएको थियो । ६ करोड रुपैयाँ लागतमा नयाँ टर्मिनल भवन निर्माण भएको हो ।
नयाँ अराइभल कक्षमा दुइटा कन्भेयर बेल्ट छन् । ‘अब अराइभल र डिपार्चरका छुट्टाछुट्टै भवन भएका छन्,’ प्रवक्ता झाले भने, ‘अराइभल टर्मिनलमा एउटा कन्भेयर बेल्ट राखिसकिएको छ । अहिले भइरहेको अराइभल बेल्टलाई पनि नयाँ टर्मिनलमा सार्नुपर्छ । दुइटा कन्भेयर बेल्ट भएपछि यात्रुलाई सहज तरिकाले सेवा प्रदान गर्न सकिने छ ।’
पहिला एउटामात्र कन्भेयर बेल्ट थियो । एकैपटक तीन/चारवटा जहाज आउँदा सबै यात्रुको भीडभाड हुन्थ्यो र ठाउँ पनि साँघुरो थियो । अहिले एक घण्टामा ४ सय यात्रुले ओहोरदोहोर गर्न सक्छन् । पहिला अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्टमात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो ।
दुइटा कन्भेयर बेल्ट भएपछि प्रतिघण्टा ४ सय यात्रु प्रोसेस हुँदा पनि एकैपटक पाँच जहाज आए भने पनि ती जहाजलाई म्यानेज गर्न सकिने अवस्था बनेको प्रवक्ता झाले बताए ।
‘यो भनेको पहिलाको भन्दा दोब्बर क्षमता हो,’ उनले विकासन्युजसँग भने, ‘ब्यागेज बेल्ट पहिला एउटा मात्रै थियो, अहिले दुईवटा भए । यसले यात्रुलाई पनि ब्यागेजका लागि धेरै बेर कुर्नु नपर्ने र सहज भएको छ ।’
एउटा बेल्टमात्रै हुँदा एउटा जहाजका यात्रुको सामान राखेपछि त्यो नसकिँदासम्म अर्को जहाजको राख्न नमिल्ने हुँदा यात्रुलाई पनि पर्खिराख्नुपर्ने झन्झट थियो । अहिले भने एउटै कम्पनीको जहाज छ भने पनि एउटैमा राख्न सजिलो हुने र एकैपट चार/पाँच जहाजको राख्न मिल्ने उनको भनाइ छ ।
‘पहिला ठाउँ साँघुरो हुन्थ्यो, एकपटकमा दुईवटा पनि राख्न नमिल्ने,’ उनले भने, ‘त्यसभित्र त्योभन्दा बढी कुरेर बस्न ठाउँ पनि हुँदैनथ्यो । अहिले त्यो समस्या क्लियर भएको छ ।’
विमानस्थलको सेवा पहिलाभन्दा अहिले राम्रो र सहज भएपछि यात्रुहरू पनि खुसी भएको झाले बताए । ‘यात्रुहरू पनि खुसी हुनुहुन्छ,’ उनी भन्छन्, ‘अझै केही दिन चलेपछि अरू धेरै फिडब्याक आउलान् । सुरुको दिनमा राम्रै मान्नुभएको छ ।’
प्रवक्ता झाका अनुसार टिआइएले वार्षिक ८० देखि ८५ लाखहाराहारीमा यात्रु ह्यान्डल गर्छ ।
अहिले विमानस्थलमा वृद्ध यात्रुका लागि पहिलाभन्दा धेरै कुर्सी थपिएको झा बताउँछन् । नयाँ टर्मिनलमा दुईवटा शौचालय र फ्लाइट डिस्प्ले राखिएको छ । एउटा रेस्टुरेन्ट राख्ने योजना पनि रहेको झाले बताए । आवश्यकताअनुसार अरू सुविधा थप्दै जाने उनको भनाइ छ । पार्किङ क्षेत्रवरिपरि एक्सेस रोड पनि बनाइएको छ ।
आन्तरिक विमानस्थलमा फेरिएको अर्को महत्वपूर्ण कार्य हो इन्ट्री र एक्जिट गेट । पहिले आगमन र बहिर्गमन गेट एउटै थियो । सवारी साधनको भीड बाक्लो हुन्थ्यो । तर, अहिले सवारी आवागन गर्ने बाटो फेरिएको छ । जसले यात्रुलाई धेरै सहज भएको छ ।
तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले सुरु गरेको निःशुल्क माइक्रोबस सेवा सञ्चालन गरेपछि यात्रुलाई धेरै सहज भएको छ । विगतमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको छ ।
झाका अनुसार अहिले सञ्चालनमा रहेको अराइभल कक्षलाई नवीकरण गरेर भिआइपी कक्ष बनाउने योजना छ ।
ट्विनअटर विमान उडान हुने देशका अरू विमानस्थलमा पनि टर्मिनल भवन विस्तार गरिने सूचना अधिकारी भूलले बताए । उनका अनुसार अहिले नेपालगन्ज, विराटनगर र भरतपुरमा काम सुरु भइसकेको छ भने अन्यमा बिस्तारै सुरु गरिने छ ।
‘ती विमानस्थलमा नयाँ संरचना बनाउँदा अराइभल र डिपार्चरको क्षमता डिक्लेयर गरेर अलग-अलग पार्टबाट बनाउँछौं, त्यसमा कन्भेयर बेल्ट, चेकिङ मेसिन राख्ने व्यवस्था गर्छौं,’ उनले भने ।
पर्यटन व्यवसायी के भन्छन् ?
पर्यटन व्यवसायी विजय अमात्य त्रिभुवन विमानस्थलमा यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन सञ्चालनमा आउनु यात्रुका लागि सहजता र खुसीको कुरा भएको बताउँछन् ।
‘अन्तराष्ट्रियतर्फ अहिले धेरै सुधार भएको छ,’ उनी भन्छन्, ‘अब त्यहाँ इमिग्रेसनमा जति काउन्टर छन्, त्यसमा २४ घन्टाका लागि जनशक्ति परिचालन गर्नुपर्छ । उता आन्तरिकमा पनि सुधार हुनु पर्यटकका लागि पनि सुखद खबर हो ।’
उनका अनुसार लगेज र स्क्रिनिङमा समस्या छैन । डोमेस्टिकतिर पनि बन्दा शतप्रतिशत नै नभए पनि ६० देखि ७० प्रतिशत सहज हुने देखिन्छ ।
‘विमानस्थल व्यवस्थापनले ढिलै भए पनि आन्तरिकतर्फ छुट्टै अराइभल टर्मिनल भवन सञ्चालनमा ल्याउनु नेपाल घुम्न आउने पर्यटकका लागि पनि सहज हवाई सेवा पुग्नु हो,’ अमात्यले भने, ‘आन्तरिकतर्फ अब भीडभाड कम हुने देखिन्छ । यसले पर्यटकमाझ हाम्रो विमानस्थलको छवि थप सकारात्मक हुने निश्चित छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.