२०८० माघ १७ गते १३:२२ विकासन्युज
काठमाडौं । पाकिस्तानको केन्द्रीय बैंकले मुद्रा अभाव र नक्कली नोटको खतरासँग जुध्न एडभान्स सुरक्षा प्रविधियुक्त नयाँ नोट ल्याउने घोषणा गरेको छ । स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदले नयाँ नोटहरू छाप्ने घोषणा गरेका हुन् ।
उनले नयाँ नोटहरू अन्तर्राष्ट्रिय एडभान्स सुरक्षा प्रविधियुक्त हुने बताएका छन् । पाकिस्तानी मुद्रालाई आधुनिकीकरण गर्न यसमा विशेष सुरक्षा नम्बर र डिजाइन प्रयोग गरिने बताइएको छ । पाकिस्तानले पहिलो चरणमा २०, ५०, १००, ५००, १००० र ५००० का नोट छाप्ने बताएको छ । यसअघिका नोटहरू बने बन्द हुनेछन् ।
अहमदले विगतमा अन्य देशमा जस्तो पाकिस्तानमा सार्वजनिकस्तरमा कुनै समस्या नआउने गरी क्रमशः यो परिवर्तन गरिने बताए । तर, कतिपय वित्तीय विज्ञले आश्चर्य व्यक्त गर्दै प्रश्न गरेका छन्- ‘यससँगै नक्कली नोट र कालोबजारीको समस्या समाधान गर्न ५ हजार वा सोभन्दा माथिका नोटलाई पनि विमुद्रीकरण गर्न सकिन्छ ?’
पाकिस्तानका अर्थविदहरू नगदको अभावबाट ग्रसित पाकिस्तानको अर्थतन्त्र कालो धनको अवैध प्रयोगबाट निकै प्रभावित भएको बताउँछन् । जुन उच्च मूल्यको नोटको चलनका कारण सहज छ ।
पाकिस्तानले लामो समयदेखि ठूलो आर्थिक संकटको सामना गरिरहेको छ र जसका कारण त्यहाँका जनताले ठूलो आर्थिक समस्या भोगिरहेका छन् । बेलाबेलामा त्यहाँको दुर्दशा र गरिबीका तस्बिरहरू देखा पर्छन् । यसबाहेक पाकिस्तान सरकार आईएमएफबाट प्राप्त आर्थिक राहत प्याकेजको पर्खाइमा बसेको छ ।
नेपालमा पनि बहस
नेपालमा पनि ५०० र १००० का नोट बन्द गरेर नयाँ नोट छाप्नु पर्ने बहस लामो समयदेखि हुँदै आएको छ ।
विभिन्न विज्ञहरूले नेपालमा भ्रष्टाचार बढेको, मान्छेहरूले घरभित्रै पैसा लुकाएकोले अर्थतन्त्रमा समस्या आएको बताउँदै सरकारले ५०० र १००० का नोट बन्द गरेर नयाँ नोट छाप्नु पर्ने धारणा राखिरहेका छन् ।
यसअघि भारतले पनि नक्कली नोटको प्रयोग बढेको भन्दै ५०० र १००० को नोट बन्द गरेको थियो । त्यसको अभ्यास हेर्दै नेपालमा पनि पाँच सय र एक हजारको नोट बन्द गरेर नयाँ नोट छाप्नु पर्ने आवाज उठिरहेको छ । नेपालमा अधिकांश मानिसले घरभित्रै पैसा लुकाएकाे आशंका बेला बखतमा गर्ने गरिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.