२०८० माघ २२ गते १८:४९ विकासन्युज
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । माघ २२ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध चयन गरेको हो ।
जसमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन रहेका छन् ।
संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रञ्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।
वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै, संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.