२०८० माघ २२ गते १६:५४ सम्पादकीय
चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका छन् । साथै यस अवधिमा भएका दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका छन् । ३ हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका छ ।
सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौं उपत्यकामा ५ हजार ८६५, कोशी प्रदेशमा १ हजार ६३९, मधेसमा ३ हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको छ । सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । दुर्घटनामा भएको मानविय क्षति मात्र कुनै ठूलो महामारी वा प्रलयमा भएको क्षति जस्तो देखिन्छ । त्यसभित्रको आर्थिक पक्ष हेरिएको छैन । सवारी दुर्घटना हुँदा हुने आर्थिक क्षतिबारे रिपोटिङ गर्ने अभ्यास छैन । यदि आर्थिक नोक्सानीको पनि हिसाव राख्ने हो भने अर्बौ रुपैयाँ बराबरको नोक्सान भएको रिपोर्ट बन्ने थियो ।
यस वर्ष मात्र होइन, हरेक वर्ष सवारी दुर्घनाको ग्राफ बढ्दो छ । सडक सञ्जाल विस्तार, सवारी संख्या वृद्धिसँगै सवारी दुर्घटना वृद्धिलाई सरकारी निकायले सामान्यकरण गर्न खोजेको पाइन्छ । अधिकांश ठूला दुर्घटना खराव सडक भएको कारण हुने गरेको छ । कच्ची सडक, जीणर् सडक, ज्यादा उकालो ओरालो भएको सडक ज्यादा घुम्ती भएको सडकमा बढी दुर्घटना हुने गरेको छ । यस्ता दुर्घटना हुुनुमा सरकारी निकाय नै मुख्य जिम्मेवार हुन्छ । ट्राक खोलेपछि सवारी गुड्न दिने तर वर्षौसम्म त्यसको स्तरवृद्धि नगर्ने, पुराना सडक जीणर् हुँदा, जताततै खाल्टखुल्टी हुँदा, सडक बनाउने तर खोला नदिमा पुल नबनाउने जस्ता लापारवाहीका कारण पनि धेरै सडक दुर्घटना हुने गरेका छन् ।
सवारी चालकलाई प्रयाप्त तालिम तथा सिकाई नहुनु, तीव्र गतिमा सवारी चलाउने जस्ता चालकका कमजोरी, जहाँबाट मन लाग्यो त्यहिबाट बाटो काट्ने यात्रुको जीवनशैली पनि सवारी दुर्घटनाको अर्को प्रमुख कारण हो । मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवन गरी सवारी चलाउने जस्ता लापरवाहीले पनि धेरै दुर्घट्ना हुने गरेका छन् । ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र विना सवारी चलाउँदा हुने दुर्घट्नाले पनि ठूलो नोक्सान हुने गरेको छ । ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग तथा यान्त्रिक गडबडी पनि दुर्घटना हुन्छ । झुण्डिएर यात्रा गर्नु, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको छ । यस्ता प्रकृतिको दुर्घटना कम गर्न सरकारी प्रयास मात्र काफी छैन । जनस्तरका चेतना फैलाउने, जीवनशैलीमा सुधार ल्याउने, सडकमा निस्कदा यात्रु र चालक दुबै पक्ष जिम्मेवार बन्ने बनाउनेतर्फ सबैको ध्यान जानुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.