यति छ पाकिस्तानकी पहिलो महिला मुख्यमन्त्री मरियम नवाजको सम्पत्ति

  २०८० फागुन १५ गते ९:१०     विकासन्युज

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजले इतिहास रचेकी छिन् । उनी पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् ।

मरियम हाल पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै मरियमले आफ्नो सरकारले कुनै प्रतिशोधात्मक कारबाही नगर्ने बताइन् ।

उनले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । मरियमलाई पञ्जाब विधानसभामा २ सय २० विधायकको समर्थन प्राप्त भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्त राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा पञ्जाबमा सत्ता कब्जा गर्न राजनीतिक दलहरूबीच ठूलो टक्कर चलिरहन्छ । मरियमको जन्म सन् १९७३ मा पाकिस्तानको लाहोर सहरमा भएको थियो ।

मरियम २०१२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् । २०१३ को पाकिस्तानी चुनावमा मरियमलाई पार्टीको चुनावी अभियानको इन्चार्जमा चयन गरिएको थियो ।

उनको नेतृत्वले पीएमएल-एनले चुनावमा जित हासिल गरेको थियो । त्यसपछि सोही वर्ष उनी प्रधानमन्त्री युवा कार्यक्रमको अध्यक्षमा नियुक्त भइन् । तर, उनको नियुक्तिलाई लाहोर उच्च अदालतमा चुनौती दिएपछि उनले २०१४ मा राजीनामा दिएकी थिइन् ।

२०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले पनामा पेपर्स स्क्यान्डलको कारण मरियमलाई सार्वजनिक पद धारण गर्न अयोग्य ठहरायो ।

अदालतले मरियम मनी लान्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मा संलग्न रहेको फैसला सुनायो । तर, पीएमएल-एनले उनीमाथि लागेको आरोप अस्वीकार गर्दै निर्दोष भएको बताएको छ ।

२०२४ को पाकिस्तानी आमनिर्वाचनमा मरियम पहिलोपटक पाकिस्तानको राष्ट्रिय सभा (एनए) र पञ्जाबको प्रान्तीय सभामा निर्वाचित भइन् ।

उनले प्रान्तीय सभा (एमपीए) को सदस्यका रूपमा शपथ लिइन् र पञ्जाब प्रान्तको मुख्यमन्त्री बन्न आफ्नो संसदीय सिट त्यागिन् । मरियम नवाजका बुबा नवाज शरीफ, काका शहबाज शरीफ र उनका भाइ हमजा शहबाज पनि पञ्जाब प्रान्तका मुख्यमन्त्री भइसकेका छन् ।

मरियमले लाहोरको कन्भेन्ट अफ जीसस एन्ड मेरी स्कुलबाट शिक्षा हासिल गरेकी थिइन् । त्यसपछि उनले लाहोरको कलेज फर उमनमा एफएससी पढिन् ।

कमजोर पढाइका कारण मरियम लाहोरको प्रसिद्ध किन्नर्ड कलेजमा भर्ना हुन सकिनन् । त्यसमा पञ्जाब प्रान्तका मुख्यमन्त्री रहेका उनका पिता नवाज सरिफले कलेजका प्रिन्सिपललाई निलम्बन गरेका थिए ।

त्यसपछि कलेजका विद्यार्थी र कर्मचारीले प्रिन्सिपललाई पुनर्बहालीको माग गर्दै अनिश्चितकालीन हडताल सुरु गरेका थिए ।

यो कुरा चर्चामा आएपछि नवाज सरिफले प्रधानाध्यापकलाई पुनर्बहाली गर्नुपर्‍यो । त्यसपछि मरियमले डाक्टर बन्ने प्रयास गरिन् ।

त्यसैले उनले १९८० को दशकको अन्त्यतिर किङ एडवर्ड मेडिकल कलेजमा भर्ना भइन् । तर, अवैध भर्नाको विषयमा विवाद भएपछि उनले डिग्री पूरा नगरी कलेज छाड्नुपरेको थियो ।

१९९२ मा मरियमले १९ वर्षको उमेरमा सफदर अवानसँग विवाह गरिन् । उनले आफ्नो पतिको उपनाम मरियम सफदर राखिन् । सफदर त्यतिबेला पाकिस्तानी सेनामा क्याप्टेनका रूपमा सेवा गरिरहेका थिए र पाकिस्तानको प्रधानमन्त्री हुँदा नवाज शरीफको सुरक्षा अधिकारी थिए । सफदर अवानसँग उनका एक छोरा र दुई छोरी गरी तीन सन्तान छन् ।

सन् १९९९ मा पाकिस्तानमा ‘कु’ भएपछि मरियमले कठिनाइको सामना गर्नुपरेको थियो । सुरुमा मरियम र उनकी आमालाई चार महिनासम्म घरमै नजरबन्दमा राखिएको थियो ।

रिहा भएपछि उनले बुबाविरुद्ध भ्रष्टाचार, आतंकवाद र कर छलीको आरोपको सामना गरिन् । आफ्नो बुबाको रिहाइका लागि उनले धेरै पटक जेलको चक्कर काटिन् ।

पछि उनलाई शरीफ परिवारका २२ सदस्यसहित साउदी अरबमा निर्वासनमा पठाइयो । आफ्नो लामो निर्वासनमा उनी अरबी भाषामा धाराप्रवाह भइन् ।

२०११ मा पाकिस्तानी एन्कर साना बुचासँगको एक टिभी कार्यक्रममा मरियमले मध्यलन्डनमा मात्रै होइन, पाकिस्तानमा पनि आफ्नो कुनै सम्पत्ति नभएको बताएकी थिइन् ।

तर, पनामा पेपर्स मामिलामा मरियम नवाजले लन्डनमा कम्तीमा चारवटा फ्ल्याट किनेको दाबी गरिएको थियो । यो पछि २०१७ मा संयुक्त अनुसन्धान टोलीले खुलासा गर्यो– ‘उनी लन्डन फ्ल्याटको लाभार्थी थिइन् र जानाजानी यी विदेशी सम्पत्तिहरूको स्वामित्व कहिल्यै घोषणा गरिनन् । नक्कली कागजात पेस गरेर पाकिस्तानको सर्वोच्च अदालतलाई गुमराह गरिन् ।’

२९ सेप्टेम्बर २०२२ मा लन्डनमा एक अपार्टमेन्ट खरिदसम्बन्धी उनको सजाय उल्ट्याइयो । इस्लामावाद उच्च अदालतको दुई न्यायाधीशको प्यानलले उनीविरुद्धको अभियोजन पक्षलाई अस्वीकार गरेको थियो ।

२०१८ मा पाकिस्तानको निर्वाचन आयोगमा आफ्नो शपथ पत्रमा मरियमले आफ्नो सम्पत्ति २४ करोड ३ लाख ४४ हजार ७ सय ५० रुपैयाँ घोषणा गरिन् ।

उनीसँग १ हजार ५ सय ६ कनल (१ सय ८८ एकड)  कृषि जमिन छ र विभिन्न कम्पनीमा लाखौं लगानी छ । एजेन्सी