२०८० फागुन २५ गते ११:४८ इन्द्रसरा खड्का
काठमाडाैं । फरक देश, फरक भाषा, चालचलन सबै फरक । नेपाल उनका लागि नयाँ थियो । टाढाको देश नभए पनि परिवेश फरक थियो । फरक समुदाय अथवा समाजको मान्छे अर्को समाजमा जाँदा घुलमिल हुन समय लाग्छ नै । अनामिकाको हकमा पनि यस्तै भयो । उनलाई फररर नेपाली बोल्न निकै मिहिनेत गर्नुपर्यो ।
भाषामात्र होइन नेपालको रहनसहन र परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । नेपाली बोल्न भाषा सिक्नु पर्ने अनामिका अहिले काठमाडौंको एउटा कलेज हाँकिरहेकी छन् । आफू यो अवस्थामा पुग्न निकै संघर्ष गर्नु परेको उनी बताउँछिन् ।
उनै अनामिका श्रीवास्तव अहिले ललितपुरको सानेपामा रहेको क्याम्पियन कलेजको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेकी छन् । ‘काम गर्ने इच्छा शक्ती हुँदा भाषा र परिवेशलेमात्र फरक नपार्दो रहेछ,’ उनी भन्छिन्, ‘मिहिनेत गर्नुपर्छ सबै कुरा सम्भव हुन्छ, फरक यति हो केही समय बढी लाग्न सक्छ ।’
अनामिका श्रीवास्तवको जन्म घर भारतको विहार हो । उनले यन्थ्रोपोलिजीबाट एमफिलसम्मको अध्ययन भारतमै गरिन् । भारत र नेपालबिच रोटी बेटीको सम्बन्ध छ । अनामिकाको सम्बन्ध पनि नेपालमा गाँसिन पुग्यो ।
‘छोरीको भाग्यमा कहाँ कोसँग लेखिएको हुन्छ थाहा हुँदैन,’ उनी भन्छिन्, ‘न कहिले देखेको, न भेटेको नेपाली केटासँग विवाह भयो, नेपाली भइयो ।’
अनामिकाले सन् १९८९मा रौतहट गौरको केटासँग विवाह गरिन् । विवाहपछि उनी काठमाडौंमा बस्न थालिन् । उनका श्रीमान मेकानिकल इन्जिनियर । उनी नेपाल आयल निगमबाट रिटायर्ड कर्मचारी । उनका दुइटा सन्तान छन् ।
अनामिका शिक्षण पेशामा आवद्ध भएको २५ वर्ष भयो । विभिन्न विद्यालय कलेजमा अध्यापन गर्दै आएकी उनी विगत दुई वर्ष देखि क्याम्पियन कलेजको प्रधानाध्यापकको जिम्मेवारीमा छिन् ।
साढे दुई दशकदेखि शिक्षणमा
अनामिका विवाह गरेर नेपाल आइसकेपछि अब के काम गर्ने भन्ने विषयले पिरोल्न थाल्यो । उनी लोकसेवा आयोगको तयारीमा लागिन् । आयोगमा धेरै साथिहरू असफल भएको देख्दा उनलाई पनि मन लागेन । एकदिन उनले नोबेल एकेडेमीमा शिक्षक चाहिएको सुचना देखिन् ।
आफू बस्ने नजिकैको विद्याल भएकाले उनले आवेदन दिइन् । नभन्दै उनी छनोटमा परिन् । त्यसपछि उनले त्यो पेशाबाट पछाडि फर्केर हेर्नु परेन । सुरूमा उनले नोबेलमा समाजशास्त्र पढाउन सुरू गरिन् । सुरुमा पढाउन जाँदाको आनुभव उनलाई फरक छ ।
‘म अंग्रेजी बोल्थें, बच्चाहरू नेपाली खोज्थे, नेपाली आउँदैन्थ्यो, ४० मिनेट कतिखेर सकिएला जस्तो लाग्थ्यो,’ उनले आफ्नो अनुभव सुनाइन् ।
नेपाली बोल्न नआउँदा कतिपय विद्यार्थीले उनलाइ रिजेक्ट गर्नुपर्छ समेत भने । अनामिकाले नेपाली बोल्न मिहिनेत गरिन् । उनले नेपाली भाषा सिकिन् । पत्रिका पढ्ने, साथीभाइसँग बोल्न सिक्ने, नेपाली गीत सुन्ने बानीले नेपाली बोल्न सकेको उनी बताउँछिन् ।
‘मैले यो पेसामा आउन निंकै संघर्ष गरेँ,’ उनी भन्छिन्,‘ मैले मिहिनेत गरेकै हो, पछि नेपाली पनि बोल्न सक्ने भएँ, सबैले स्वीकार्यो ।’
उनले जसरी विद्यालय जाँदा किताव अध्ययन गर्नुपथ्र्यो त्यो भन्दा धेरै मिहिनेत नेपालमा आएर अध्यापन गराउँदा गर्नुप¥यो । ‘नेपाली भाषा कसरी बोल्ने, त्यो भाषाको अर्थ के हो भन्ने विषयमा मैले सिकेँ,’ उनी भन्छिन्, पढाइ त म भारतमा सकेर आएँको थिएँ । तर, यहाँ आएपछि मेरो जीवनको अर्कै अध्याय सुरु भयो ।’
अनामिकाले अध्यापनको यात्रा काठमाडौंको नोबेल एकेडेमीबाट सुरु गरिन् । त्यसपछि उनले सेन्टजेभियर कलेजमा अध्यापन गरिन् । उनी आफ्नो जीवनमा परिवर्तन ल्याउन सेन्टजेभियर कलेजको ठूलो भूमिका रहेको बताउँछिन् । त्यसपछि उनले भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा अध्ययापन गरिन् ।
भीएस निकेतनमा पनि उनले प्रधानाध्यापकको भूमिकामा रहेर काम गरिन् । ‘विभिन्न विद्यालय, कलेजमा मैले पढाएँ,’ ’उनी भन्छिन्, ‘फरक–फरक जिम्मेवारीमा धेरै ठाउँ काम गरेँँ, अहिले पनि यात्रा जारी छ, यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो, जबसम्म सक्छु यही क्षेत्रमा रहन्छु ।’
प्रधानाध्यापक जिम्मेवारी पद हो । यसमा रहेपछि हरेक कुराको जिम्मा लिनुपर्छ । तर, शिक्षकको भूमिका पनि उत्तिकै हुन्छ । आज कक्षामा विद्यार्थीलाई नयाँ के दिएँ, यसको लागि मैले कस्तो तयारी गर्ने भन्ने उत्तिकै जिम्मेवार हुनुपर्छ । तर, प्रधानाध्यापकको भूमिका धेरै हुने उनी बताउँछिन् ।
कसरी आफ्नो संस्थाको विकास गर्ने, विद्यार्थीको आवश्यकता के छ, आवश्यकता कसरी पुरा गर्न सक्छु भन्ने विषयमा ध्यान दिनुपर्छ । विद्यार्थी, अभिभावक बच्चा तीन वटा मेजर स्टेकहोल्डरलाई कसरी सन्तुष्ट राख्न सक्छु भन्ने विषयमा जानकार हुन सकेमा सफल भइने उनी बताउँछिन् ।
महिलामाथि अभिभावकको विश्वास
महिला नेतृत्वदायी पेसामा पुग्दाको अनुभव अनामिकासँग फरक छ । उनी महिला प्रधानाध्यापक हुँदा अभिभावकहरूले बढी विश्वास गर्ने गरेको बताउँछिन् ।
‘महिला जब लिडरको भूमिकामा हुन्छ तब बढी संवेदनसिल हुन्छन,’ उनी भन्छिन्,‘ कुन काम कसरी गर्ने, के गर्दा राम्रो, के गर्दा नराम्रो यो बढी महिलाले बुझन सक्छन्, जसले सहानुभूतिपूर्ण बनाउँछ र यही कुराले महिलाको पदमाथि विश्वास गरिन्छ ।’
पुरुषले भने महिलाको भूमिकालाई स्वीकार्न नसक्ने उनी बताउँछिन् । ‘म पुरुष छु, मैले महिलाको अण्डरमा रहेर काम गर्ने, महिलाले फाइनान्समा राम्रो गर्न सक्दैन भन्ने सोच पुरुषको हुन्छ,’ उनी भन्छिन् ।
एउटा महिलाले नेतृत्वदायी भूमिकामा रहेर काम गर्न गाह्रो रहेको अनुभव उनको छ । तर, त्यो गाह्रोलाई अवसरको रूपमा लिएर काम गर्नु पर्ने तर्क उनको छ ।
‘जब व्यक्ति हरेक काममा इमान्दार र निष्ठावान भएर काम गर्छ, तव अगाडि बढ्छ । यो समाजमा अहिले पनि महिला अगाडि बढ्न हुँदैन, उसले सक्दैन भन्ने सोच छ, यसमा धेरै परिर्वतन भइसकेको छ,’ उनी भन्छिन्, ‘अहिले नेपालका अधिकांश स्कुल कलेजको नेतृत्व महिलाले गरिरहेका छन् ।’
क्याम्पियन कलेज सिजी एजुकेशनबाट सञ्चालन भएको कलेज हो । त्यहाँ स्नातक र स्नातकोत्तर अन्तर्गत म्यानेजमेन्ट र बिएसडब्लू, बीबीएस, बीबीए संकाय पढाइ हुन्छ ।
समय सापेक्ष शिक्षा आवश्यक
अनामिका समय सापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको बताउँछिन् । आजको विद्यार्थीले के खोजिरहेको छ । ‘उनीहरूले विदेशमा के पाइरहेका छन्, किन विद्यार्थी विदेश गइरका छन् भन्ने सबैले थाहा पाउनुपर्यो,’ उनी भन्छिन्, ‘धेरैले भन्छन राम्रो शिक्षा भएन । तर, राम्रो शिक्षा भनेको के हो ? विद्यार्थीले कस्तो शिक्षा खोजिरहेका छन् त्यो दिन सक्नुपर्यो ।’
विदेश जाने सबै विद्यार्थी पढ्न जाँदैनन्,उनीहरू कमाइ गर्न विदेश जान्छन् । नेपालमा त्यस्तो अवस्था छैन । चार वर्ष पढिसकेपछि मेरो भविष्य के होला ? म राम्रो जागिर पाउँछु कि पाउँदैन ? आफ्नो परिवारलाई राम्रोसँग हेरचाह गर्न सक्छु कि सक्दैन ? विद्यार्थीहरूमा यही कुराको विश्वास नहुँदा विकल्प खोज्न थालेको उनको भनाइ छ । जबसम्म विद्यार्थीमा यस्ता कुराको विश्वास हुँदैन तब सम्म यो क्रम नरोकिने उनी बताउँछिन् ।
उनी अभिभावक र विद्यार्थीको मानसिकतामा पनि परिवर्तन ल्याउनु पर्ने बताउँछिन् । ‘विद्यार्थीमा १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने मानसिकता र अभिभावकको मेरो छोराछोरीलाई विदेश पठाउनुपर्छ भन्ने भावनामा परिवर्तन नआउँदासम्म यस्तै चलिरहन्छ,’ उनले भनिन् ।
क्याम्पियन कलेजले आफ्नो कलेजमा पढेका विद्यार्थीलाई बाहिर जागिर खोज्न जानुपर्ने अवस्था नरहेको प्रधानाध्यापक अनामिकाको भनाइछ । ‘हामी शिक्षासँगै सीपमुलक विषयलाई पनि ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्छौ, ‘उनी भन्छिन्, ‘हामी वर्षमा विभिन्न ६ विधामा कार्यक्रम गर्छौ, यस्ता कार्यक्रम विद्यार्थी आफैंले गर्नुहुन्छ जसबाट उनीहरूको व्यक्तित्व विकासदेखि हरेक कुरामा सहज हुन्छ ।’
स्वरोजगार कसरी बन्ने भन्नेबारे सिकाइन्छ जसका लागि सामाजिक उद्यमशिलता बारे पढाइ हुन्छ । सामाजिक उद्यमी कसरी बन्ने भन्नेबारे तीन महिने ‘नबिल स्कुल अफ सोसल इन्टरपेनोसिप’ कोर्स सञ्चालन गरिएको छ ।
एउटा विद्यार्थीकले काम खोज्न जाँदा कसरी कुरा गर्ने, कस्तो व्यवहार गर्ने भन्नेबारे प्रस्नालिटी डेवलपमेन्टका कार्यक्रम पनि कलेजले गरिरहेको छ ।
भारतमा पढाउने शिक्षा र नेपालको शिक्षामा धेरै रहेको उनको अनुभव छ । । उनी आफुले पढ्दा रिसर्च पेपर पढ्ने, विभिन्न प्रोजेक्टको काम गर्नु परे पनि नेपालमा त्यस्तो नभएको धारणा राख्छिन् ।
नेपाली विद्यार्थीमा धेरै क्षमता रहेको र उनीहरूले गर्न खोज्यो भने धेरै राम्रो गर्न सक्ने उनी बताउँछिन् । तर, यसका लागि राम्रो वातावरणको आवश्यकता रहेको उनी बताउँछिन् ।
‘विद्यार्थीमा केही गरौँ भन्ने छ । तर, राम्रो वातावरण नपाएर हो वा मोवाइलमा रुमलिएर हो उनीहरूले गर्न सकिरहेको छैनन्, आँट गरेर अगाडि बढ्न सक्यो भने नेपाली विद्यार्थी धेरै माथि पुग्न सक्छन् ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.