१८ रुपैयाँमा भाँडा माझ्ने जयराम बने ३०० करोडका मालिक

  २०८० फागुन २९ गते १६:३४     विकासन्युज

काठमाडौं । जयराम बनान सागर–रत्न रेष्टुरेन्टका मालिक हुन् । बुवाले कुट्ने डरले उनी घर छाडेर हिँडेका थिए । त्यसपछि उनले धेरै दुःख पनि पाए । तर, हार स्वीकारेनन् । उनले निरन्तर कडा मिहिनेत गरे । अहिले उनले करोडौंको फुड चेन खोलेका छन् । त्यसबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ ।

भारत मंगलौर (कर्नाटक) नजिकै रहेको ‘उडुपी’ गाउको एक साधारण परिवारमा जन्मेका जयरामका बुबा ड्राइभर थिए । जयरामका बुबा अलि क्रोधित स्वभावका थिए । त्यही कारणले उनी आफ्नो बुबासँग धेरै डराउँथे । जयराम स्कुलको परीक्षामा फेल भएपछि बुवाले आफूलाई नराम्रोसँग कुट्छन् भन्ने महसुस गरे । बुबाले कुट्ने डरले १३ वर्षको उमेरमा उनी घरबाट भागेका थिए । घरबाट भाग्नुअघि उनले बुबाको खल्तीबाट केही पैसा निकाले र मंगलौरबाट मुम्बईको बसमा चढे । जयराम सन् १९६७ मा मुम्बई आएका थिए ।

जयराम मुम्बई त आए तर उनीसँग कुनै काम थिएन । त्यहाँ उनको एकजना चिनजानका मान्छे थिए जो रेस्टुरेन्ट चलाउँथे । जयरामले उनकै रेस्टुरेन्टमा काम गर्न थाले ।उनको उमेर पनि सानै भएकाले उनलाई धेर केही आउँदैनथ्यो । यस्तो अवस्थामा उनले रेस्टुरेन्टमा जुठा भाँडा धुने काम गरे । यो कामका लागि उनले मासिक १८ रुपैयाँ पारिश्रमिक पाएका थिए । उनले ६ वर्ष भाँडा माझ्ने काम गरे । जयरामको परिश्रम देखेर उनलाई पहिले वेटर र पछि रेस्टुरेन्टको म्यानेजर बनाइयो । योसँगै उनको तलब मासिक दुई सय रुपैयाँ पुग्यो ।

त्यसपछि सन् १९७४ मा जयराम दिल्ली आए । सुरुमा उनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । उनी दिल्लीमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्थे। यहाँ उनले गाजियाबादको सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडको क्यान्टिन चलाउन थाले । साथीभाइबाट ऋण लिएर र आफ्नै बचतबाट उनले यो काम सुरु गरेका हुन् । त्यसपछि सन् १९८६ मा उनले दक्षिण दिल्लीको डिफेन्स कालोनीमा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेका थिए जसको नाम सागर थियो । पहिलो दिनमै उनले यस रेस्टुरेन्टबाट ४०८ रुपैयाँ कमाए ।

त्यसपछि जयरामको मिहिनेतले प्रतिफल दिन थाल्यो । जयरामको रेष्टुरेन्टमा मानिसको भीड पनि बढ्न थाल्यो । उनको रेस्टुरेन्टमा पाइने साउथ इन्डियन परिकारलाई मानिसहरूले निकै रुचाएका थिए । त्यसपछि उनले दिल्लीको लोधी मार्केटमा पनि पसल खोलेर २० प्रतिशत बढी मूल्यमा त्यही गुणस्तरको खाना दिन थाले । यसरी उनले आफ्नो स्टार्टअप ‘सागर–रत्न’ सुरु गरे । आज दिल्लीमा मात्रै यसको ३० भन्दा बढी रेस्टुरेन्टहरू छन् । जबकि उत्तर भारतमा यसको संख्या बढेर ६० पुगेको छ ।

आज उनको क्यानडा, सिङ्गापुर, बैंककजस्ता देशहरूमा पनि आउटलेटहरु छन् । यी सबैका कारण उनीहरूको वार्षिक कारोबार ३०० करोडभन्दा माथि पुगेको छ । सागर–रत्न बाहेक उनले सन् २००१ मा स्वागत नामको अर्को रेष्टुरेन्ट चेन सुरु गरेका थिए । आज उनका विश्वभर करिब १०० रेस्टुरेन्ट छन् । वर्तमान अवस्थामा जयरामले वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ।