२०८० चैत ६ गते १२:१३ विकासन्युज
काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको छ । बैंक अफ जापान (बीओजे)ले ऋणात्मक अवस्थामा रहेको ब्याजदरलाई बढाएर सकारात्मक बिन्दुमा पुर्याएको हो । यसअघि -०.१ प्रतिशत रहेको ब्याज बढाएर शून्य प्रतिशत कायम गरेको हो ।
देशमा मुद्रास्फिति बढेपछि जापान सरकारले ब्याज पनि बढाउने नीति अघि सारेको हो । जापानमा महँगी बढ्दा ज्याला पनि वृद्धि भइरहेको छ ।
बैंक अफ जापानले सन् २०१६ मा स्थिर ब्याजदर कायम गरेको थियो । त्यसयता ऋणात्मक रहेको जापानको ब्याजदर अहिले सकारात्मक अवस्थामा पुगेको हो ।
ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरूले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।
जापानमा मुद्रास्फिति अझै बढ्ने देखिएपछि यसअघिको नीति पुनरावलोकन गर्दै नकारात्मक ब्याजदर हटाएको हो । पछिल्लो समयमा लिएको नीतिले १० वर्षे सरकारी बन्डलाई शून्य प्रतिशतको सन्तुलनमा राख्न सघाउ पुर्याउने जापानको केन्द्रिय बैंकले जनाएको छ ।
बैंक अफ जापानले मुद्रास्फिति दुई प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । सन् २०१६ मा केन्द्रिय बैंकले नकारात्मक ब्याजदर नीति घोषणा गरेको थियो । सन् २०१६ मा जापानको ब्याजदर ० प्रतिशत नै थियो । त्यसपछि ऋणात्मक नीति लिँदा घटेको थियो । ब्याज ऋणात्मक बनेको ८ वर्षपछि सकारात्मक बनेको हो ।
कुनै बेला जापानको ब्याज अधिकतम् ९ प्रतिशत थियो । सन् २००८ मा ०.५ प्रतिशत ब्याजदर थियो भने सन् २००१ मा ०.२५ प्रतिशत थियो । सन् १९९१ मा ६ प्रतिशत रहेको जापानको ब्याजदर सन् १९८० मा ९ प्रतिशत थियो । बैंकको ब्याजदर बढ्दानले अब जापनिज मुद्रा येनमा सुधार हुने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.