लोकसभा चुनाव नजिक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

  २०८० चैत ९ गते ११:१९     विकासन्युज

एजेन्सी । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारमा परेका छन् । पर्वतन निर्देशनालय (इडी)ले मदिरा सम्बन्धी नीतिमा भएको भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवालाई पक्राउ गरेको भारतका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इडीले बिहीबार राती केजरीवाललाई उनकै आवासबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि उनको मेडिकल चेकअप गरिएको छ । साथै उनलाई आज नै अदालत पेस गरेर थप अनुसन्धानको लागि इडीले हिरासतमा राख्न अनुमति लिने बताइएको छ ।

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीपछि आम आद्मी पार्टीले विरोध प्रदर्शन शुरु गरेको छ भने भने पार्टीको तर्फबाट सर्वोच्च अदालत जाने बताइएको छ ।

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीले डराएको तानसाहले एक मरेको लोकतन्त्र बनाउन चाहेको बताएका छन् । अर्की कांग्रेसकी नेतृ प्रियंका गान्धीले चुनावको बेलामा मुख्यमन्त्रीको टार्गेट गरेर गिरफ्तारी गर्नु एकदमी गलत र असंवैधानिक भएको बताएकी छन् ।

त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि अब भारतीय जनता पार्टी सत्तामा नआउने डरले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गरेको भन्दै यसले नयाँ जनक्रान्ती जन्माउने प्रतिक्रिया दिएका छन् ।