भाजपाले लोकसेवा चुनावमा उम्मेदवार बनाएको अभिनेत्री कंगना रनौतको सम्पत्ति कति छ ?

  २०८० चैत १२ गते १७:४४     विकासन्युज


काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बलिउड अभिनेत्री कंगना रनौतलाई आगामी लोकसभा चुनावका लागि उम्मेदवार बनाएको छ । कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको छ ।

आफ्नो दमदार अभिनयले दर्शकको मनमा अमिट छाप छोडेकी कंगनालाई बलिउडकी महारानी भनिन्छ । उनले सन् २००६ मा अनुराग बासुको फिल्म ग्याङ्स्टरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । आफ्नो १८ वर्ष लामो करियरमा उनले वो लम्हे, फेशन, राज २, वन्स अपन अ टाइम इन मुम्बई, क्वीन, तनु वेड्स मनु, मणिकर्णिका र पंगाजस्ता धेरै फिल्म दिएकी छिन् ।

स्पष्टवक्ता र आफ्नो बोल्ड स्टाइलका लागि चर्चित कंगनाको जन्म २३ मार्च १९८७ मा हिमाचलको मण्डी जिल्लामा भएको थियो । उनकी आमा स्कुल शिक्षिका र बुबा व्यवसायी हुन् । कंगनाको परिवार पहिलेदेखि नै राजनीतिसँग जोडिएको छ । उनका हजुरबुवा सरजु सिंह रनौत विधायक थिए ।

कंगनाले चण्डीगढको डीएभी स्कूलबाट अध्ययन गरेकी छिन् । उनको परिवार उनलाई डाक्टर बनाउन चाहन्थे तर कंगनाले एआईपीएमटी (अहिले नीट) को परीक्षा दिइनन् । उनको सपना अर्कै थियो । यही सपना पूरा गर्न उनी १६ वर्षको उमेरमा घरबाट भागिन् । उनले बिना गडफादर बलिउडमा आफ्नो पहिचान बनाएकी छन् । सुरुमा निकै संघर्ष गर्नुपर्‍यो तर आफ्नो प्रतिभाको आधारमा उनले ठूलो सफलता हासिल गरिन् ।

कति छ उनको सम्पत्ति ?

मिडिया रिपोर्टका अनुसार कंगनाको कुल सम्पत्ति करिब ९० करोड भारु रहेको छ । उनले हरेक फिल्मका लागि २१ देखि २५ करोड भारु लिन्छिन् र बलिउडकी सबैभन्दा महँगो अभिनेत्रीमा गनिन्छिन् । कंगनालाई कार निकै मन पर्छ । उनीसँग एक बीएमडब्ल्यू–७, मर्सिडीज बेन्ज जीएलई एसयूवी, औडी क्यू३ र मर्सिडीज मेब्याक एस–क्लास (मूल्य ७५ लाख) छ । कंगना विलासी जीवन बिताउँछिन् । उनको हिमाचल प्रदेशको मनालीमा ३० करोड भारुको आलिशान बंगला छ । उनीसँग मुम्बईमा पाँच बेडरूमको अपार्टमेन्ट पनि छ जसको मूल्य २० करोड भारु छ । साथै, उनको मुम्बईको पाली हिल क्षेत्रमा ४८ करोड भारुको अफिस छ ।

मिडिया रिपोर्टका अनुसार उनले फिल्म थलाइवीका लागि २१ करोड भारु पारिश्रमिक लिएकी थिइन् । यसरी उनी बलिउडकी सबैभन्दा महँगो अभिनेत्री बनिन् । टिकट पाएपछि कंगनाले भाजपाप्रति आभार व्यक्त गरेकी छिन् ।

कंगनाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेश मण्डीबाट लोकसभा उम्मेदवार घोषणा गरेको छ । लोकसभा चुनाव लड्ने उच्च कमाण्डको निर्णयलाई म स्वीकार गर्दछु । आधिकारिकरूपमा पार्टीमा सामेल हुन पाउँदा गर्व र उत्साहित महसुस गर्छु । म एक कार्यकर्ता र सार्वजनिक सेवकको रूपमा काम गर्न तत्पर छु ।’ एजेन्सी