२०८० चैत २१ गते १२:२८ विकासन्युज
पर्वत । लामो समयदेखि महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो ।
नगरपालिकाले बक्यौतामध्ये ५० लाख रुपैयाँ भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत्को लाइन काटिएको हो । हालसम्मको २४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखाप्रमुख शर्माले जानकारी दिए ।
विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले रु ७४ लाख बढी भुक्तानी दिन बाँकी थियोे । नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।
केन्द्र हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए । नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.