हमाससँगको युद्धले इजरायलमा कामदार अभाव, कम तलबमा पनि हजारौं भारतीय जाँदै

  २०८० चैत २४ गते १६:०२     विकासन्युज

काठमाडौं । हमाससँगको युद्धपछि इजरायलमा कामदार अभाव भएको छ ।

युद्धका कारण भएको क्षति कम गर्न र पूर्वाधार निर्माणका लागि भारतबाट त्यहाँ मजदुर पठाइएको छ ।

हरियाणाबाट ६० कामदारको पहिलो समूह इजरायल पुगेको छ । कामदार अभाव भएपछि इजरायल सरकारले भारतीय कामदार भर्ना गर्ने निर्णय गरेको थियो ।

दुई सरकारबीच यो सम्झौता हुँदा हरियाणा सरकारले हजारौं बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको थियो । यसका लागि विभिन्न सहरमा शिविर आयोजना गरी भर्ना प्रक्रिया सुरु गरिएको थियो । तोकिएका भर्ती सर्तहरू पूरा गर्नेलाई अब क्रमशः इजरायल पठाइँदै छ ।

भर्ती प्रक्रियाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । रोजगारी खोज्ने अधिकांश युवा उत्तर प्रदेश ९यूपी० र बिहारबाट आएका थिए ।

इजरायली टोली भर्ती प्रक्रियाको एक भागका रूपमा आवेदकहरूको परीक्षण गर्न आएको थियो । इजरायलबाट आएको टोलीले शटरिङ, पेन्टर र खेतबारीसम्बन्धी कामका लागि परीक्षणका आधारमा मजदुर भर्ती गरेको थियो ।

रोजगारी पाउनेमा यूपी, बिहार बाहेक पञ्जाब र राजस्थानका युवाहरू पनि परेका थिए ।

इजरायलमा ठूलो क्षति भएपछि त्यहाँको सरकारले भारतसँग सहयोग मागेको थियो । यसका लागि भारतमा भर्ना प्रक्रिया चलाएर कामदार छनोट गरिएको थियो ।

युद्ध हुनुअघि प्यालेस्टिनी मजदुरहरू त्यहाँ काम गर्थे । तर, हमाससँगको युद्धपछि उनीहरूको अनुमति रद्द भयो । त्यसपछि इजरायलमा कामदार अभाव भयो ।

यो अभाव पूर्ति गर्न सरकारसँगको सम्झौताअनुसार शिविर आयोजना गरी भर्ना गरिएको हो । आगामी दिनमा भारतबाट विभिन्न ब्याचमा थप कामदार पठाइने भएको छ ।

इजरायलमा तलब अन्य देशभन्दा कम

मिडिया रिपोर्टका अनुसार इजरायल पठाइएका कामदारहरूसँग एक वर्षको सम्झौता गरिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार इजरायल जाने भारतीय मजदुरहरूले हरेक महिना ६ हजार १ इजरायली नयाँ शेकेल मुद्रा पाउनेछन् । भारतीय रुपैयाँमा यो लगभग १ लाख ४० हजार हो । तलब बाहेक १६ हजार ५ सय १५ रुपैयाँ बोनस दिइने छ ।

त्यहाँ काम गर्ने मजदुरहरूलाई इजरायली सरकारले स्वास्थ्य बीमा, खाना र बासको व्यवस्था गर्दै आएको छ । तर, यूएई र अमेरिकामा कामदारहरूले यो भन्दा बढी पैसा पाउँछन् ।

युएई र अमेरिकामा तलब

अन्तर्राष्ट्रिय मानव संशाधन संगठनका अनुसार सन् २०२३ मा युएईको औसत तलब १६ हजार ५ सय दिराम रहेको छ । भारतीय रुपैयाँमा यो लगभग ३ लाख ७५ हजार हो ।

यसबाहेक, अमेरिकामा कुनै पनि कामदारको औसत तलब ७.५ डलर प्रतिघण्टा छ । यदि कसैले १२ घण्टा काम गर्छ भने उसले प्रतिदिन ८८ डलर कमाउने छ। एक दिनको ७ हजार ३ सय ३६ भारु हुन्छ । प्रतिमहिना हिसाब गर्ने हो भने २ लाख २० हजार रुपैयाँ हुन्छ । एजेन्सी