२०८० चैत २९ गते १७:१९ विकासन्युज
काठमाडौं । भियतनामको एक अदालतले अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीकाे आरोप लागेकी महिला ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।
पक्राउ परेकी लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । तर, २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको अभियोजनकर्ताहरूले बताएका छन् ।
बीबीसीका अनुसार यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले १ सय ४ वटा बाकस भरिएको र यी कागजपत्रको तौल ५ टन रहेको बताइएको छ । भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि २ सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए ।
चिनियाँ–भियतनामी परिवारबाट आएकी ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगी हुन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको सुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो ।
सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई एउटै बैंकको पाँच प्रतिशतभन्दा बढी सेयर राख्न निषेध गरेको छ । तर, लानले आफ्ना कामदार र नातेदारहरूको नामबाट साइगोन बैंकमा ९० प्रतिशत सेयर पुर्याएकी थिइन् । त्यसपछि बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको लानमाथि आरोप लागेको छ ।
कुनै बेला साइगोन कमर्सियल बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको थियो । बैंकको अवस्थ खराब हुन थालेपछि उनले सन् २०१९ को फेब्रुअरीदेखि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेकी थिइन् । यदि भियतनामको सबैभन्दा ठूलो नोटमा भए पनि चार अर्ब डलरको तौल दुई टन हुने खबरमा उल्लेख छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने खुलेको छैन ।
लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई पनि आजीवन कारावासको सजाय माग गरिएको छ । बीबीसी
Copyright © 2025 Bikash Media Pvt. Ltd.