इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरबाट ननिस्कनू, समस्या परे फोन गर्नू

  २०८१ वैशाख २ गते १३:२०     विकासन्युज

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि दूतावासले उक्त सार्वजनिक सूचना जारी  गरेको हो ।

‘इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्, आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

साथै, सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।