२०८१ वैशाख ४ गते ८:३५ विकासन्युज
काठमाडौं । भारतको दिल्ली विमानस्थल सन् २०२३ का लागि विश्वको व्यस्त विमानस्थल सूचीमा १० नम्बरमा परेको छ ।
हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल यो सूचीको शीर्ष स्थानमा छ । एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल (एसीआई) वर्ल्डका अनुसार भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल व्यस्तताका हिसाबले १०औं स्थानमा छ भने दुबई र डालस विमानस्थल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।
सोमबार सूची सार्वजनिक गर्दै एसीआईले सन् २०२३ का लागि विश्वव्यापी कुल हवाई यात्रु प्रक्षेपण ८ अर्ब ५० करोड नजिक रहेको पनि बताएको छ जुन कोरोना महामारी अघिको स्तरभन्दा ९३.८ प्रतिशत र २०२२ को तुलनामा २७.२ प्रतिशतले बढी हो ।
प्रतिवेदनका अनुसार विश्वका शीर्ष १० व्यस्त विमानस्थलमध्ये पाँचवटा अमेरिकाका छन् । १०औं स्थानमा दिल्ली विमानस्थल रहेको छ जहाँबाट २०२२ मा ७ करोड २२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका थिए । २०२२ मा दिल्ली नवौं स्थानमा थियो ।
हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल सूचीको शीर्षमा छ र गत वर्ष १० करोड ४ लाख ६० हजारभन्दा बढी यात्रुलाई सेवा दियो ।
अधिभोगका हिसाबले यो दुबई अन्तर्राष्ट्रिय विमानस्थलको पछि छ । जसबाट ८ करोड ६९ लाखभन्दा बढी हवाई यात्रु आवागमन गरे ।
डलास फोर्थ वर्थ अन्तर्राष्ट्रिय विमानस्थल २०२३ मा ८ करोड १७ लाखभन्दा बढी यात्रुले प्रयोग गरेका थिए, जुन सूचीको तेस्रो स्थानमा छ ।
सूचीमा चौथो स्थानमा लन्डनको हिथ्रो विमानस्थल, पाँचौंमा टोकियोको हानेडा विमानस्थल, छैटौंमा डेन्भर अन्तर्राष्ट्रिय विमानस्थल, सातौंमा इस्तानबुल विमानस्थल, आठौं स्थानमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल र नवौं स्थानमा शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । एसीआई विश्वका एयरपोर्टहरूको व्यापारिक संगठन हो । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.