विश्व युद्ध निम्त्याउँदै, चीन सुन भित्र्याउँदै

  २०८१ वैशाख ४ गते १२:०५     विकासन्युज

काठमाडौं । एकातिर संसार युद्धको डिलमा उभिएको छ । एकपछि अर्को युद्ध भइरहेका छन् । इजरायल र हमासबीचको विवादमा इरान पनि जोडिन पुगेको छ । इरान र इजरायल आमनेसामने छन् । रुस र युक्रेनबीच युद्ध चलिरहेकै छ ।

मध्यपूर्वमा तनावको बीचमा चीन भने अर्कै ध्याउन्नमा छ । चीनले पछिल्लो १७ महिनामा सबैभन्दा धेरै सुन किनेको छ । विश्वका केन्द्रीय बैंकहरू मध्ये पिपुल्स बैंक अफ चाइनाले आक्रामक सबैभन्दा    धेरै सुन खरिद गरिरहेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पनि उच्च रेकर्ड कायम गरेको छ । सुनको भाउले रेकर्ड वृद्धि गरिरहँदा चीनले भने निरन्तर सुन खरिद गरिरहेको छ । सुन किन्ने मामिलामा चीनले धेरै देशलाई उछिनेको छ ।

चीनले किन किनिरहेकाे छ सुन ?

सन् २०२३ देखि चीन निरन्तर सुन खरिदमा व्यस्त छ । सुन खरिदमा चीनले धेरै देशलाई पछि पारेको छ । सन् २०२२ को तुलनामा २०२३ मा चीनको सुनको भण्डार ११ प्रतिशतले बढेको छ ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार २०२३ मा चीनको पिपुल्स बैंकले २ सय २५ टन सुन खरिद गरेको छ र त्यसको खरिद क्रम जारी छ ।

सन् २०२२ सम्ममा चीनको सुनको भण्डार २०२० टन रहेको भए पनि सन् २०२३ सम्ममा चीनको सुनको भण्डार बढेर २ हजार २ सय ३५ टन पुगेको छ ।

विश्वका विभिन्न भागमा जारी युद्धले विश्व अर्थतन्त्रलाई असर गरेको छ । विश्वका धेरै देशहरू मन्दीको चपेटामा छन् । विश्वको दोस्रो महाशक्ति चीन कोभिड–१९ यता आफ्नो अर्थतन्त्र व्यवस्थापनमा व्यस्त छ ।

चीनमा जारी रियल इस्टेट संकटले बैंकिङ क्षेत्रलाई घेरेको छ । चीनको सुस्त अर्थतन्त्र र अमेरिकी मुद्रा डलरमाथिको निर्भरता घटाउन चीन अहिले सुरक्षित लगानीतर्फ अघि बढिरहेको छ ।

सुनलाई सधैं सुरक्षित लगानी मानिन्छ । यस्तो अवस्थामा चीनले सुनमा लगानी बढाएर सुरक्षित लगानीमार्फत अर्थतन्त्रलाई मजबुत बनाउने प्रयास गरिरहेको छ ।

भूराजनीतिक तनाव बढ्दै गएपछि चीनले सुनमा लगानी गरेर आफ्नो अर्थतन्त्रलाई त्यो दबाबबाट जोगाउन खोजिरहेको छ ।

धेरै सुन किन्नुको पछाडि चीनको वास्तविक उद्देश्य

भूराजनीतिक तनाव र अमेरिकी ब्याजदर कटौतीको सम्भावनाले सुनको माग बढेको हो । सुनको बम्पर रिटर्नले यसको माग बढाएको छ । सन् २०२३ मा सुनले डलरको हिसाबले १४ प्रतिशत प्रतिफल दिएको छ । यी कारणले सुनको भाउ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक सुनको भाउ प्रति औंस २३ सय डलर पुगेको छ । वास्तवमा, रिजर्भ मुद्राको रूपमा डलरको प्रभुत्व छ । चीन र अमेरिकाबीचको विवाद कसैबाट लुकेको छैन ।

चीनले अमेरिकी डलरको काउन्टर खोज्ने प्रयास गरिरहेको छ। चीन डलरमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छ । यसले विदेशी मुद्रा सञ्चितिलाई विविधीकरण गर्न चाहन्छ, जसका लागि उसले सुनमाथिको निर्भरता बढाएको छ ।

सुन जम्मा गर्नु भनेको चीनको अर्थतन्त्र जोगाउने प्रयास मात्र होइन, यसले डलरको शक्तिलाई पनि चुनौती दिन चाहन्छ ।

चीनसँग कति छ सुन ?

सरकारी तथ्यांकअनुसार मार्चको अन्त्यमा चीनसँग ७ करोड २७ लाख ४० हजार औंस सुन रहेको थियो । यो वृद्धिपछि चीनको सुन भण्डार १ खर्ब ४८ अर्ब ६४ करोड डलरबाट बढेर १ खर्ब ६१ अर्ब ७ करार डलर बराबर पुगेको छ ।

सन् २०२३ मा सबैभन्दा ठूलो सुन खरिदकर्ता पिपुल्स बैंक अफ चाइना थियो, यसले ७२ लाख ३० हजार औंस अर्थात करिब २ सय २५ टन सुन खरिद गरेको थियो । एसेन्सीहरूकाे सहयाेगमा