२०८१ वैशाख ६ गते १८:२२ विकासन्युज
फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए । उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका घटनाहरूमा प्रयोग गरिन्छ । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु गरेका छन् ।
चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन (पाँच करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ ।
बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ ।
सत्तारूढ कम्युनिष्ट पार्टीको आन्तरिक भ्रष्टाचारविरोधी एजेन्सीले सन् २०२३ जुनमा ‘व्यावसायिक कर्तव्यको गम्भीर उल्लङ्घन’ गरेको भन्दै फ्यानले घुस लिएको आशङ्का गरिएको बताएको थियो । केन्द्रीय अनुशासन निरीक्षण आयोगले सो बेला फ्यानलाई सार्वजनिक पदबाट बर्खास्त गरिएको, उनको गैरकानूनी आम्दानी जफत गरिएको र फौजदारी मुद्दा चलाइएको बताएको थियो ।
समर्थकहरूले राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिने बताए पनि आलोचकहरूले उक्त अभियान सीका लागि राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यम भएको बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.