निजी विद्यालय सञ्चालकले टेरेनन् बालेनको निर्णय, कारबाही गरेर देखाउन चुनौती

  २०८१ वैशाख १४ गते १७:४२      इन्द्रसरा खड्का

काठमाडौं । काठमाडौं महानगरले नगरभित्र रहेका सबै विद्यालयको नाम नेपाली मौलिकपन झल्कने खालको राख्नुपर्ने निर्णय गर्‍यो । त्यही निर्णय अनुसार सबै विद्यालयलाई ३५ दिनभित्र नाम राखिसक्न पत्राचार पनि गर्‍यो । निर्देशनपछि कतिपय शैक्षिक संस्थाले नयाँ नाम प्रस्ताव गरे पनि कतिपय स्कुलका सञ्चालकले भने नाम फेर्ने सुरसार समेत गरेका छैनन् ।

काठमाडौं महानगरभित्र ५ सय १२ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । तिमध्ये ३ सय २४ वटाको नाम अंग्रेजीबाट राखिएको छ । महानगरको निर्देशनपछि २ सय २ विद्यालयले नाम परिवर्तनको प्रस्ताव पठाइसकेका छन् भने १२२ वटा नाम चलेका विद्यालयले अटेरी गरेका छन् ।

महानगरले अंग्रेजीमा नाम राखेका विद्यालयलाई पत्राचार गरेको करिब महिना पुग्न लाग्यो । धेरैजसो शैक्षिक संस्थाले नाम परिवर्तनका लागि नाम समेत दर्ता गराइसकेका भए पनि नाम चलेका ठूला विद्यालय सञ्चालकहरूले उल्टै निर्णयविरुद्ध अदालत जाने चेतावनी नै दिएका छन् । नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्न सरकारी निकायले पटक–पटक दिएका निर्देशनलाई समेत विद्यालय सञ्चालकहरूले अटेरी गर्दै आएका छन् । उल्टै, आफूहरूलाई कारबाही गरिए कानुनी लडाइँ लड्नेसम्मको चेतावनी दिएका छन् ।

कोटेश्वरमा रहेको ट्राइटन इन्टरनेश्नल कलेजले यही नाममा विद्यालय पनि सञ्चालन गरेको छ । विद्यालयको नाम परिर्वतन गर्दा कलेजको नाम पनि परिवर्तन गर्नुपर्ने उसको बाध्यता छ । विद्यालयको सहायक प्रिन्सिपल सुजित तामाङ ट्राइटनको अंग्रेजी अर्थ ‘पानीमा बस्ने जल देवता’ को नाम हुने भएकाले यसको नाम फेर्नैपर्ने बाध्यता नरहेको बताउँछन् । ‘ट्राइटन आफैमा देवताको नाम हो,’ उनी भन्छन्, ‘हामीले यो विषयमा स्पष्ट पारेर महानगरलाई पत्र पठाइसकेका छौँ, अब महानगरले पत्रको जवाफ दिएपछि त्यसपछि के गर्ने भन्नेबारे सोच्नुपर्छ ।’

विद्यार्थी भर्ना गराउने समयमा महानगरले दिएको निर्देशनले समस्या सिर्जना भएको विद्यालयका सञ्चालकहरूको भनाइ छ । सुजित कापी कलम टाइ बेल्ट लगायतका सामाग्रीमा विद्यालयको नाम राखेर ल्याइसकेकाले अब नाम परिवर्तन गर्दा यसमा समस्या हुने बताए ।

‘भर्नाको मुखमा आएर महानगरले नाम परिवर्तन गर्न भन्दा अभिभावकलाई नै समस्या हुने भयो,’ उनी भन्छन, ‘हामीले अंग्रेजीमा यसको अर्थ यो हुन्छ भनेर लेटर महानगरलाई बुझाइसकेका छौँ अब महानगरको लेटर आएपछि के गर्ने भन्ने विषयमा सोच्नुपर्छ ।’

विकासन्युजले केही विद्यालयलाई सम्पर्क गर्दा कतिपयले नयाँ नाम दर्ता गरिसकेको बताएका छन् भने कतिपयले प्रक्रियामा रहेको र कतिपयले नाम नफेर्ने बताएका छन् । नाम परिर्वतन गर्नेमध्ये युनिग्लोबलले यल स्कुल, लिभरपुल- काठमाडौं माध्यामिक विद्यालय, क्याम्ब्रीज इन्टरनेशनल- सयपत्री शिक्षालय, कोलम्बस इन्टरनेशनल- मेधाश्री विद्यालय, एसफोडेल पब्लिक स्कुल– मण्डला मावि, प्याराडाइम पब्लिकले ज्ञानशालाका नाममा नाम दर्ता गराएका छन् । अन्य विद्यालयले पनि नाम परिवर्तन गरिसकेपछि सबै नामावली एकैपटक सार्वजनिक गर्ने महानगरले जनाएको छ । काठमाडौं महानगरको शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोख्रेलले अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने बताइन् । उनी भन्छिन्, ‘अहिले हामी प्रक्रियामै छौँ, समय सकिएपछि हामी सबै नामावली सार्वजनिक गर्ने छौँ ।’

पटक-पटक निर्देशन

काठमाडौं महानगरले नाम परिर्वतन गर्न दिएको निर्देशन यो पहिलो पटक मात्र भने होइन । योभन्दा अगाडि पनि यस्ता निर्देशन दिएको पाइन्छ । २०२८ सालमा तत्कालीन जिल्ला शिक्षा समिति काठमाडौंले जिल्ला भित्रका अंग्रेजी नामकरण भएका विद्यालयले नेपाली नामकरण गर्नुपर्ने निर्णय गरेको थियो । २०२८ साल चैत्र २९ गतेको गोरखापत्रमा सूचना निकालेर गरेको आग्रहलाई पनि त्यो बेलाका विद्यालय सञ्चालकले अटेरी गरेका थिए । त्यसपछि थप अन्य निजी विद्यालय खुल्दा उनीहरूले धमाधम अंग्रेजीमा नाम राख्दै गए ।

अंग्रेजी शिक्षामा विद्यार्थीलाई आर्कषण गर्न निजी विद्यालयले धमाधम अंग्रेजीबाट नाम राख्न थाले । त्यसपछि २०६८ सालमा बनाइएको एउटा निर्देशिकाले अंग्रेजीमा नाम राख्न नपाइने ब्यवस्था गरेको थियो । २०६९ सालमा पनि यो कुरा उठेको थियो । अहिले फेरि २०८० साल चैत २१ ग्तते काठमाडौं महानगरले महानगरभित्रका विद्यालयलाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । पटक-पटक विद्यालयको नामका बारेमा नियम बनाइने निर्देशन दिने कुरा भइरहे पनि यसको कार्यान्वनमा भने चुनौती देखिएको छ ।

के छ कानुनमा ?

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । महानगरले त्यही कानुनमा रही विद्यालयलाई नाम परिर्वतन गर्न आग्रह गरेको हो ।

कानुनमा उल्लेख भएको कुरा मान्दिनँ, जान्दिनँ भन्न उपयुक्त नहुने कानुनका जानकार बताउँछन् । अधिवक्ता शशी बस्नेत कानुन पालना नगर्नेलाई कानुनअनुसार नै कारबाही गर्ने अधिकार महानगरलाई रहेको बताउँछिन् । विद्यालयको नवीकरण रोक्का गर्ने, खाता सञ्चालन गर्न नदिने लगायतका काम गर्न सकिने उनको भनाइ छ । महानगरले दिएको निर्देशन नमान्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अझै पनि केही दिन बाँकी रहेकाले सबै विद्यालयले नाम परिवर्तनका लागि निवेदन दिनेमा ढुक्क रहेको बताए । उनी भन्छन्, ‘समय अझै छ, सबै विद्यालय सम्पर्कमा आउँछन् भन्ने आशा छ, तर समयभित्र सम्पर्कमा नआउने विद्यालयलाई कारबाही गरिने छ ।’  महानगरको आदेश अवज्ञा गरे भर्ना प्रक्रिया नै रोकिदिने महानगरले चेतावनी दिएको छ ।

अभिभावक अन्योलमा

विद्यालयको नाम परिर्वतन र महानगरको चेतावनीले अभिभावक भने अन्योलमा परेका छन् । दोलखाकी रिना थापाकी छोरी अहिले ६ वर्षकी भइन् । उनले छोरीलाई काठमाडौंको अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलमा पढाइरहेकी छिन् । उनकी छोरी अहिले कक्षा १ मा पढिछ्न । उनले यो साता छोरीको विद्यालयमा भर्ना गरिन् ।

किताब कापी सबै किनिसकिन् । तर, छोरीका लागि स्कुल ड्रेस भने किनेकी छैनन् । विकासन्युजसँग रिना भन्छिन् ‘अंग्रेजीबाट नाम राखेका स्कुलको नाम परिर्वतन गर्नुपर्छ रे भन्ने हल्ला छ, स्कुलले केही भनेको छैन, ड्रेस पनि किनौं कि नकिनाैं दोधारमा परेकी छु ।’ उनलाई अहिले ड्रेस किनौं भने फेरि स्कुलको नाम परिवर्तन भएर टाइ बेल्ट नयाँ किन्नुपर्छ कि भन्ने पीर छ । ‘खोई के गर्नु के नगर्नु छोरीलाई पुरानै ड्रेसमा स्कुल पठाइरहेकी छु पछि के हुन्छ त्यही अनुसार गर्नुपर्ला,’ उनले थपिन् ।

रिना जस्तै धेरै विद्यालयमा भर्ना भएका विद्यार्थीका अभिभावकलाई यही पीर छ । एक पटक खर्च गरिसकेका उनीहरू विद्यालयको नाम परिवर्तन हुँदा फेरि खर्च दोहोरिन्छ कि भन्ने पीरमा छन् । तर, स्कुलले भने यो विषयमा अभिभावकलाई कुनै पनि जानकारी गराएको छैन । काठमाडौ महानगरपालिकाले भर्ना बन्द गरिदिने हो कि भन्ने अन्योल शिक्षक, कर्मचारी र अभिभावकमा रहेको छ ।

विद्यालयको नाम परिवर्तन नगर्ने चेतावनी

गोल्डेन गेट इन्टरनेश्नल कलेजको आफ्नै स्कुल पनि छ । उसले नाम परिर्वतन गर्न अटेर गरेको छ । कलेजका अध्यक्ष तथा उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघका अध्यक्ष समेत रहेका रमेश सिलवालले कुनै पनि हालतमा विद्यालयको नाम परिवर्तन नगर्ने चेतावनी दिएका छन् । सिलवालले यसका लागि महानगरले कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।

‘कानूनले विद्यालयको नाम नेपालीपन झल्किने खालको राख्न भनेको छ, तर २०७४ सालअघि स्थापना भएका पुराना स्कुलका लागि अनिवार्य भनेको छैन, जसले यो निर्देशन दिएको छ उसलाई एकपटक कानुन बारेमा राम्ररी अध्ययन गर्न आग्रह गर्छु,’ उनले भने, ‘कुनै पनि संघसस्थाको नाम त्यतिकै राखिँदैन, विभिन्न ठाउँमा नाम दर्ता गराइएको हुन्छ, यदि पहिलेदेखि नै यो कुराको निर्देशन दिएको थियो भने नाम दर्ता गर्दा किन यस्ता कुरा उतिबेला सोधिएन ?’

उनले यो विषयमा हिसान, प्यावसन सबैको एकैमत रहेको र त्यो मत नाम परिवर्तन नगर्नेमा रहेको उनले बताए । उनले आफ्ना विद्यालय कानुनसम्मत सञ्चालनमा रहेकाले नाम परिवर्तन नगर्ने बताए । ‘हामीले विद्यालयको नाम दर्ता गर्दा विद्यार्थी र अभिभावकमा समेत समस्या आउँछ,’ उनी थप्छन्, ‘हामीले नाम परिवर्तन गर्दा अहिले भर्ना भएका विद्यार्थीको कागजात केही गरी नष्ट भयो भने पछि कसरी बनाउने ? पुरानो नामबाट दियो भने जालसाजी र ठगीमा परिँदैन ? ’ पहिचान कायम गरेको नाम फेर्दा विद्यार्थीमा अन्योल सिर्जना हुने विद्यालय सञ्चालकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.