२०८१ वैशाख २१ गते १०:४६ विकासन्युज
काठमाडौं । नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार मेलाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघले वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी आयोजना हुने लागेको हो ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले महासंघले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको १७औं को मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको छ । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिविम्वित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।
विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ को नाममा आयोजना हुने सिंहले जानकारी दिए ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा सात करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.