अनुपम राठीको नेतृत्वमा मोरङ उद्योग व्यापार संघको नयाँ समिति गठन

  २०८१ वैशाख २५ गते ७:०८     विकासन्युज

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औं कार्यसमितिको अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् ।

साथै, बैठकमा संघको नियमबमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाहरूतर्फबाट कृष्णप्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।

संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

सोमबार, मोरङ व्यापार संघ (साविकको मोरङ व्यापार संघ) को ३४औं कार्यसमिति सदस्यहरूको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो ।

संघको विधानअनुसार वाणिज्यतर्फ आठजना र उद्योगतर्फ आठजना सदस्यका लागि निर्वाचन भएको थियो । त्यही संख्याको उमेदवारी दर्ता हुन गई सोही उमेदवाहरू संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरेको छ । साथै, संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मा मनोनीत भएका छन् ।