लघुवित्तबाट बैंक ‘एक्जिट’ हुनुपर्छ, घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कहीँ पुगिँदैन

  २०८१ वैशाख २७ गते १५:२६     डा. युवराज खतिवडा

अहिले बैंकरहरू बैंकमा ५/६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भनेर विभिन्न सार्वजनिक छलफलका कार्यक्रमहरूमा बोलेको सुन्छु । बैंकमा पैसा त छ तर कुनै बैंकलाई (कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिर्काइरहेको छ, कुनैलाई पुँजीले त कुनैलाई रिकभरी र कुनैलाई खराब कर्जाले हिर्काइरहेको छ । तपाईंहरूसँग भएको कन्फर्टटेबल पैसा कति हो ? यसको जवाफ बैंकरले दिनुपर्छ । राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशत बनाएको दिन तपाईंहरूको लगानीयोग्य पुँजी कति रहन्छ ? अहिले ७९/८० प्रतिशत सीडी कायम भएको बेला तपाईंहरू गुनासो गरिरहनु भएको छ । सीडी रेसिया बैंकहरूका लागि मेजर विषय पनि होइन । राष्ट्र बैंकले ९० प्रतिशतत सीडी रेसियो कायम गरेर दुनियाँमा कतै नभएको अभ्यास गरेको हो । भोलि राष्ट्र बैंकले सीडी रेसियोलाई ८० प्रतिशतमा झार्यो भने त्यतिबेला अवस्था के बन्छ ? यो अवस्थाको पूर्वमूल्यांकन बैंकरले गर्न सक्नुपर्छ ।

अर्को, अहिले बैंकरहरू भुक्तानीको कुरा गरिहरेको सुन्छु । सरकारले भुक्तानी गर्नुपर्ने पैसा तिरेन भनेर ३०/४० अर्बको कुरा गरिरहनु भएको छ । यहाँ खर्बको लगानीयोग्यको कुरा पनि आइरहेको छ । निर्माण व्यवसायीले पनि ५०/६० अर्ब रुपैयाँ भुक्तानी नपाएको कुरा उठाइरहनु भएको छ । तर, भुक्तानी माग गरिरहनु भएको छ तर आयोजना सम्पन्न भएको छैन । भोली आयेजना सम्पन्न नहुँदै बिलबिजक बिना भुक्तानी गर्यो भने पनि अर्को समस्या आउँछ । भोलि भुक्तानी दिने व्यक्ति नै जेल जान सक्ने अवस्था बन्न सक्छ । काम सम्पन्न भइसकेका र भुक्तानी पाउनु पर्ने रकम कति हो भनेर एकिन रकम भन्न सक्नुपर्छ ।

कोरोना बीमाको कुरा पनि त्यस्तै हो । कतिपय भुक्तानी गर्नु पर्ने पैसा पनि छ र नगर्दा हुने पैसा पनि छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी छ । स्वास्थ्य बीमा र कृषिको अनुदानको पैसा पनि दिनै पर्नेछ । त्यसले अर्थतन्त्रमा केही ‘बुष्टअप’ गरे पनि समस्या समाधान भने गर्न सक्दैन ।

महत्वपूर्ण विषय अहिले कर्जाको माग भएन भन्ने पनि छ । ऋणमाथि ऋण थपेर समस्याको समाधान हुँदैन । हामीले २५/३० लाख मानिसलाई ऋण दिइसक्यौं, अनि समस्या कहाँ भयो ? म भन्छु बैंकहरू लघुवित्तबाट बाहिर जानुपर्छ । एसएमईमै केन्द्रित हुनुपर्छ । बैंकहरूका लागि लघुवित्तको बिजनेस धेरै चल्दैन । अब धितोमा आधारित कर्जामै बैंकहरू जानुपर्छ । सरकारले सबै ठीक्क पारिदियोस् अनि हामी जाऔंला, काम गरौंला भन्ने आशामा बैंकरहरू हुन्छन् । आशामा बस्नु हुँदैन ।

बैंकहरूले नाफाको थप एक प्रतिशत खर्च गरेर थप परियोजनामा लगानी गर्नुपर्छ । फाइनान्सिङको इनोभेसन गर्नुहोस् । बैंकहरूले सरकारले बनाइदेला र लगानी गरौंला भन्ने आशमा बस्नु हुँदैन । सरकारले पकाइदेखा र म खाउँला भन्ने मानसिकतामा बस्नु हुँदैन । यति काम बैंकले पनि गर्नुपर्छ । बैंकहरु परियोजना फाइनान्सिङमा जानै पर्छ । अन्तर्राष्ट्रिय नेटवर्कलाई प्रयोग गरेर लगानी ल्याउन सहयोग गर्न सक्नुपर्छ । त्यसले बैंकलाई मात्रै होइन समग्र देशलाई टेवा पुग्छ । यस कारण बैंकबाट पनि पहलकदमी पुगेको छैन ।

सम्पत्तिको मूल्यांकन बढ्दा लोन क्रियसन पनि बढ्छ भन्ने तर्क बैंकरको हुन्छ । कर्जा प्रवाह पनि बढ्छ भन्ने तर्क ठीक छैन । यो बाटो हिँडेर कतै पुगिँदैन । घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कतै पुगिँदैन । हामीले आम्दानी बढाउने विषय र क्षेत्रमा लगानी गर्नुपर्छ । यसले पुँजी निर्माण हुन सक्दैन । बरु पुँजीको जोखिम सिर्जना हुन्छ ।

हामी आर्थिक मन्दीमा छौं । त्यसबाट माथि जान सकिन्छ । बाहिरी क्षेत्र राम्रो भएको छ भन्ने बहस हुन्छ । तर, सुधार भएको छैन । व्यापार घटेर राम्रो भएको कुरालाई राम्रो मान्न सकिँदैन । दुई वर्षयता देशको व्यापार २२ प्रतिशतले घटेको छ । निर्यात अझै बढी घटेको छ । आयात घट्दा ढुवानीको सेवा घटेको छ । ट्रकको व्यापार घटेको छ । डिजेलको बिक्री भइरहेको छैन । मन्दी आउनुको कारण आयातसँग जोडिएको छ । त्यही आयात घटेको कारण सञ्चिति बढेको हो । यसमा हामीले खुसी मनायौं भने यो उल्टो हुन्छ । त्यस कारण बाह्य क्षेत्रमा सञ्चिति बढेको छ, हामीलाई भुक्तानीको समस्या छैन, त्यति मात्रै हो । धेरै खुसी हुनु पर्ने अवस्था छैन ।

पर्यटनमा सुधार भएकै हो । तर, जति पर्यटक हामीले भित्र्याइरहेका छौं, त्यसको दोब्बर हाम्रा मान्छे बाहिर गइरहेका छन् । उनीहरूले पुँजी बाहिर लिइरहेका छन् । यसमा पनि खासै खुसी हुनु पर्ने अवस्था म देख्दिनँ । रेमिट्यान्सबाट पैसा बढिरहेको छ । यो पनि आयात कम भएकोले बढी देखिएको हो । आयात बढ्दै गयो भने रेमिट्यान्स कति हराउँछ हेर्दै जाउँला ।

केही नीगित सुधार गर्न आवश्यक नै छ । उदाहरणका लागि केही लगाउन नहुने ठाउँमै करको नीति लगाइयो । जसले पुँजी बाहिरिएको अवस्था पनि छ । मौद्रिक नीतिमार्फत् चालु पुँजी कर्जामा अझैं खुकुलो गर्नतर्फ ध्यान दिनुपर्छ । कहिले सतप्रतिशत कडाइ गर्ने र कहिले सतप्रतिशत खुकुलो नीति बनाउनुहुँदैन । लोन भ्यालू रेसियो चलायमान बनाउनुपर्छ । व्यवसायीलाई अहिले सास फेर्न दिनुपर्छ ।

व्यवसाय र बैंकिङ नै जोखिममा पर्ने काम गर्नु हुँदैन । नियमनकारी निकायबाट धरपकड गर्ने नीति बनाउनु हुँदैन । पारदर्शी ढंगबाट जानुपर्छ । एउटा व्यवसायीलाई समात्दा समग्र व्यावसायिक क्षेत्रको मनोबल गिर्छ भने त्यसतर्फ पनि राज्यले ध्यान पुर्याउनु पर्छ । हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामीले आशा गर्नु पर्ने ठाउँ छ । हामी बटमबाट माथि लाग्न थालेका छौं । आर्थिक वृद्धिदर साढे तीन प्रतिशत हुने अनुमान छ । बैंकको कर्जा वृद्धिर ५ प्रतिशत पुग्नै लागेको छ । ब्याजदर घटेको छ । अब बैंकरले तीन वर्षसम्म १० प्रतिशतमा ऋण दिन्छौं भनेर घोषणा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै व्यवसायीमा पनि आत्मबल बढ्छ ।

(सार्वजनिक कार्यक्रममा राखेको धारणा)  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.