स्याबास निराकार, बधाई लक्ष्मी मोटर्स

  २०८१ वैशाख ३१ गते १६:३१     सम्पादकीय

सम्पादकीयमा यो शीर्षक अलि बढी भयो भन्न सकिएला तर यतिबेला निराकार श्रेष्ठलाई स्याबास भन्नैपर्छ । पर्दामा नदेखिने निराकार र पर्दामा धेरै देखिने अन्जन श्रेष्ठको नेतृत्वमा नेपालमा कार उत्पादन सुरु भएको छ । संस्थागत हिसाबले लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, यस समूहका कार्यकारी निर्देशकहरू सुनिल श्रेष्ठ र निरन्जन श्रेष्ठ पनि बधाईका पात्र हुन् ।

उनीहरूले वेन्जामित फ्याङलिनले जस्तो विद्युतको आविष्कार पनि गरेका होइनन् । राईट दाजुभाईले जस्तो हवाईजहाजको आविष्कार गरेका पनि होइनन् । मार्टिन कोपरले जस्तो मोबाइल फोनको आविष्कार गरेका पनि होइनन् ।

तर, नेपालमा सियाे पनि बन्दैन भन्ने भाष्य मानिसको जिब्रो-जिब्रोमा झुण्डिरहेको यो देश र समाजमा कार एसेम्ब्ली प्लान्ट स्थापना गर्नु, हुण्डाई भन्यूले नेपाली जमिनमा आकार लिनु र व्यावसायिक उत्पादन सुरु हुनु गर्वको विषय हो ।

जुनबेला आर्थिक मन्दीका बारेमा मात्र चर्चा भइरहेको छ, लगानीकर्ताबाट निराशा मात्र सुन्न सकिन्छ, नयाँ लगानी र उत्पादनबारे समाचार पढ्न पाइँदैन, त्यहीबेला कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएको छ । यहीबेला सिद्धि लक्ष्मी स्टिल उद्योगको स्तरवृद्धिमा लक्ष्मी ग्रुपले ठूलो लगानी गरिरहेको छ ।

यतिबेला बैंकहरूले उद्योगीलाई कर्जा दिन्छन्, ब्याजदर पनि घट्दै गएको छ । २०७८ देखि २०८० प्रारम्भसम्म तरलता अभावले बैंकहरू सिकिस्त भएका थिए । कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि थियो । यस अवस्थामा उद्योग खोल्ने आँट गर्नु र लगानी जुटाउनु साँच्चिकै कठिन र उच्च जोखिमपूर्ण काम थियो । यस परिवेशमा उनीहरूले लिएको आँट, उठाएको जोखिम उद्यमीमा हुने विशिष्ट गुण हो । सबैमा यस्तो गुण हुँदैन ।

एसकेडी प्लान्टमा पहिलो चरणमा करिब ३ अर्ब रुपैयाँ लगानी हुँदैछ । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सीबीयू (कम्प्लिट व्यूल्ट युनिट) प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउँदा कोरियाली कम्पनी हुण्डाई मोटर्सको पनि लगानी हुने र त्यतिबेलासम्म कम्तिमा २५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । यो प्लान्ट १० बिगाहा जमिनमा बनेको छ । हाललाई वार्षिक ५ हजार कार एसेम्ब्ली गर्ने प्लान्टको क्षमता छ । तत्काल २०० जनाले रोजगारी पाएका छन् भने निकट भविष्यमा ५०० जनाले रोजगारी पाउनेछन् ।

कम्पनीले अहिले भेन्यू उत्पादन थालेको छ । आइटेन र क्रेटा एसेम्ब्ली गर्ने अन्तिम तयारी भइरहेको र अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली हुने कम्पनीले जनाएको छ । केही वर्षभित्रै सीबीयू प्लान्ट सञ्चालनमा ल्याउने र हुण्डाईका कोरिया, भारतमा बन्ने गाडीहरू नेपालमा नै बनाउने लक्ष्मी मोटर्स कर्पोरेशनको योजना छ । सीबीयू प्लान्ट सञ्चालनमा आएको देख्ने सबै नेपाली तीव्र प्रतिक्षामा बसिरहनेछन् ।

हुण्डाईका गाडी नेपालको बजारमा मात्र होइन, विश्वभरि रुचाइएका र सर्वाधिक बिक्री हुने गाडीमा पर्छन । एसेम्ब्ली नेपालमा भए पनि सबै सामान कोरियाबाट आयात हुने र एसेम्ब्लिङ मापदण्ड र गुणस्तर जाँचमा मदर कम्पनी हुण्डाई मोटर्सले नै नियन्त्रण गरेको छ । गुणस्तरका मापदण्ड अनुसरण गर्दै गाडीका पार्टहरू उत्पादन पनि नेपालमा नै गर्न सकियो भने देशका लागि त्यो दीर्घकालीन रूपमा लाभदायी हुनेछ । नेपालमा उत्पादन सुरु भएपछि मूल्य घट्ने अपेक्षा सबै नेपालीको छ । त्यसतर्फ कम्पनीलाई छिट्टै सफलता मिलाेस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.