१३ प्रतिशत भ्याटलाई १० प्रतिशतमा झार्नुपर्छ : चन्द्र ढकाल

  २०८१ जेठ २ गते १४:५६     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रत्साहन दिने भएकाले अब आउने बजेट हतोत्साहित हुने गरी आउन नहुने बताए ।

‘नयाँ चरणको आर्थिक सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने छ, निजी क्षेत्रलाई हतोत्साहित हुने गरी बजेट आउनु हुँदैन,’ उनले भने ।

१४ निकाय एकल बिन्दु सेवामा बसेर मुलुकभरि व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै उनले राजनीतिक स्थिरता नहुदा कर्माचा सरुवा हुने प्रचलन बढेको पनि बताए । उनले भने, ‘अब कम्तीमा २ वर्ष कर्मचारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ, लगानीकर्ताको मनोबल बढाउन १ सयभन्दा बढी रोजगारी दिने गरी स्थापना भएका उद्योग व्यवसायलाई प्राथमिकता राख्नुपर्छ ।’

आयात प्रतिस्थापन र उत्पादनमुलुक उद्योगलाई ५ वर्ससम्म ५० प्रतिशत विद्युत महसुल छुट दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले मौद्रिक र वित्त नीतिबीच तालमेल हुनुपर्ने बताए । तिनै तहमा लाग्ने कर फरक भए पनि बुझाउनुपर्ने ठाउँ एउटै हुनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा धेरै कर्जा गएको बताउँदै उनले बैंक र निजी क्षेत्रले व्यवसायीको मनोबल बढाउने काममा बढी जोड दिनुपर्ने बताए ।

सबै भन्सारमा एक्सरे मेसिन जडान गर्नुपर्ने उनको माग छ ।

यस्तै उनले जलविद्युत आयोजनामा ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, खनिज र नदिजन्य पदार्थ निर्यातको व्यवस्थालाई बजेटमा स्पष्ट पार्नुपर्ने, नेपाली सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गर्न थालेकाले सडक बाटो पनि ढलान गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

१३ प्रतिशत भ्याटलाई ३ वर्षमा क्रमशः घटाएर १० प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ ।

यस्ता छन् बजेटका लागि ढकालले दिएका सुझाव

[pdf id=483798]