२०८१ जेठ १३ गते १७:५५ विकासन्युज
काठमाडौं । आइतबार संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण २०८०/८१ मा नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीतिको तारिफ गरिएको छ । विदेशी मुद्रा संचिति घट्दै जाँदा नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको थियो । तर, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्र बैंकमाथि खुकुलो नीति लिन चर्को दबाब दिएका थिए ।
कसिलो मौद्रिक नीति अंगालेर सरकारलाई असहयोग गरेको भन्दै तत्कालीन अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्ने सम्मको निणर्य लिएका थिए । तर, अदालतको आदेशका आधारमा गभर्नर अधिकारी पुनः पदमा फर्किएर काम गरिरहेका छन् ।
रोचक यो पनि छ कि गभर्नर अधिकारीलाई गलत नीति लिएको भनेर हटाउने तत्कालीन अर्थमन्त्री शर्मा पनि माओवादी नेता थिए भने राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिनु सहिीथियो भनेर आर्थिक सर्वेक्षणमा तारिफ गर्ने अर्थमन्त्री वर्षामान पुन पनि माओवादी नेता हुन् ।
अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षणमा देशको शोधनान्तर अवस्था र मौद्रिक नीतिबारे मञ्जुषा बक्समा यसरी व्याख्या गरेका छन् ।
(निश्चित समयावधि भित्र आवासीय र गैरआवासीय व्यक्ति एवं संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्दछ । कुनै निश्चित समयावधिमा विदेशी मुद्रा मुलुकभित्र भित्रिने भन्दा बढी बाहिरिएको अवस्थालाई शोधनान्तर घाटा र मुलुकबाट विदेशी मुद्रा बाहिरीने भन्दा भित्रिने रकम बढी भएको अवस्थालाई शोधनान्तर बचत भनिन्छ । शोधानान्तर घाटा नेपालजस्तो पैठारीमा आधारित अर्थतन्त्रका लागि ज्यादै संवेदनशील विषय हो ।
नेपालको अर्थतन्त्रमा विभिन्न समयमा शोधनान्तर घाटाको समस्या देखापरेको थियो । आर्थिक वर्ष २०३१/३२ पछिको शोधनान्तर स्थितिको प्रवृत्ति विश्लेषण गर्दा आर्थिक वर्ष २०३९ / ४० देखि आर्थिक वर्ष २०४१/४२ सम्म लगातार तीन वर्ष, आर्थिक वर्ष २०५२/५३ देखि आर्थिक वर्ष २०५८ / ५९ सम्म लगातार दुई वर्ष, आर्थिक वर्ष २०५८/५९ र आर्थिक वर्ष २०६६/६७ मा शोधनान्तर घाटा देखिएको थियो । यी आर्थिक वर्षमा शोधनान्तर घाटा सामान्य रहेको थियो । तर आर्थिक वर्ष २०७५/७६ मा भने रू. ६७ अर्बको उच्च शोधनान्तर घाटा देखिएको थियो । नेपालले बिगतमा देखिएका स-साना शोधनान्तर घाटा पूर्ति गर्न सुन लगायत बिलासी वस्तुको भन्सार दर बढाउनेदेखि सहुलियतपूर्ण वैदेशिक ऋण लिने कार्य गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा करिब रू. २ खर्व ५२ अर्बले शोधनान्तर घाटा देखिएको थियो । यो शोधनान्तर घाटा तुलनात्मकरूपमा उच्च थियो । आर्थिक वर्ष २०७७/७८ को असारमा रू. १ अर्ब २२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७८/७९ को वैशाखमा करिव रु. २ खर्व ८८ अर्बले घाटामा देखिएको थियो। यस समयमा नेपाल राष्ट्र बैङ्कमा रहेको विदेशी विनिमय सञ्चिति करिब रू.१२ खर्व १५ अर्व पुगेको थियो । उक्त विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु पैठारी र ६.९ महिनाको वस्तु तथा सेवा पैठारी धान्न मात्र पर्याप्त थियो । शोधनान्तर घाटाको प्रभाव वित्तीय प्रणालीमा समेत पर्न गई तरलता अभावको स्थितिसमेत सिर्जना भएको थियो । यो शोधनान्तर घाटा सामान्य प्रक्रियाले समाधान हुने स्थिति थिएन ।
तत्कालीन अन्तर्राष्ट्रिय एवं आन्तरिक आर्थिक स्थितिलाई मध्यनजर गर्दै समग्र बाह्य क्षेत्रमा देखिएको समस्या समाधानको लागि मौद्रिक नीति, २०७९/८० को कार्यदिशा सजगतापूर्वक कसिलो बनाइएको थियो । त्यसैगरी, बढ्दो पैठारीलाई दृष्टिगत गरी सरकारले पैठारी नियमन नीति अवलम्बन गरेको थियो । फलस्वरूप, २०७९ असोजबाट बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएको थियो । चालु खाता घाटामा उल्लेख्य सुधार भई शोधनान्तर स्थिति १४ महिनापछि २०७९ असोजमा पहिलोपटक बचतमा रहेको थियो । साथै, विदेशी विनिमय सञ्चितिमा समेत सुधार हुँदै गएको थियो । आर्थिक वर्ष २०७९/८० असारमा शोधनान्तर स्थिति करिब रू.२ खर्व ८५ अर्बले बचतमा रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म शोधनान्तर स्थिति करिब रू. ३ खर्ब २७ अर्ब (२ अर्ब ४६ करोड अमेरिकी डलर) ले बचतमा रहेको छ । शोधनान्तर स्थिति मात्रै नभएर चालु खातामा पनि उल्लेख्य सुधार भएको छ। आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म चालु खाता रू. १ खर्ब ६६ अर्ब ८७ करोड (१ अर्ब २५ करोड अमेरिकी डलर) ले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू. ५५ अर्ब २८ करोड (४२ करोड ९३ लाख अमेरिकी डलर) ले घाटामा रहेको थियो ।
बाह्य क्षेत्र स्थितिमा भएको सुधार र मुद्रास्फीतिमा आएको कमीलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक केही लचिलो बनाइएको थियो। आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको कार्यदिशा समेत सजगतापूर्वक लचिलो बनाइएको छ ।)
Copyright © 2025 Bikash Media Pvt. Ltd.