२०८१ जेठ १४ गते ११:५५ विकासन्युज
काठमाडौं । सरकारले औद्योगिक पूर्वाधारको क्षेत्रमा लगानी विस्तार गरे पनि कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान घट्दै गएको छ । विगत दुई आर्थिक वर्षमा उद्योग क्षेत्रको उत्पादन वृद्धि दर नै ऋणात्मक भएको छ ।
२०८० फागुनसम्म १० औद्योगिक क्षेत्रमा नेपाल सरकारबाट ५५ अर्ब ३४ करोड ५० लाख रूपैयाँ र निजी क्षेत्रबाट २० अर्ब ३१ करोड ५१ लाख रूपैयाँ गरी ७५ अर्ब ६६ करोड १ लाख रूपैयाँ बराबरको लगानी भएको छ ।
२०८० फागुनसम्म ६ हजार १६.३ रोपनी जग्गामा सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्र भित्र कायम रहेका ७०३ उद्योगमध्ये ६१९ उद्योग सञ्चालनमा रहेका छन् भने ६२ निर्माणाधीन र २२ बन्द रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट १९ हजार १२८ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । यस्ता उद्योगबाट वार्षिक २० अर्ब रूपैयाँ बराबरको राजस्व सङ्कलन हुने अनुमान छ ।
भैरहवा विशेष आर्थिक क्षेत्रमा २०८० फागुनसम्म करिब ४ अर्ब ७२ करोड रूपैयाँको लगानीमा २४ उद्योग सञ्चालनमा रही २ हजार ४२९ व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा १ अर्ब ३१ करोड रूपैयाँ लगानीमा थप ७ उद्योग सञ्चालन गर्न अनुमति दिइएको र उद्योग सञ्चालनबाट ४९९ थप रोजगारी सिर्जना हुने अनुमान छ ।
सिमरा विशेष आर्थिक क्षेत्रमा २०८० फागुनसम्म करिब ५ अर्ब ५९ करोड रूपैयाँको लगानीमा २७ उद्योग सञ्चालनमा रही ४ हजार ३७४ व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा २३ करोड ५७ लाख रूपैयाँ लगानीमा थप ३ उद्योग सञ्चालन गर्न अनुमति दिइएको र उद्योग सञ्चालनबाट ६७६ थप रोजगारी सिर्जना हुने अनुमान छ ।
हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार २०८० फागुनसम्म कोशी प्रदेशको दमक-झापा, बागमती प्रदेशको मयुरधाप-हेटौंडा तथा शक्तिखोर-चितवन, लुम्बिनी प्रदेशको मोतिपुर-रूपन्देही, लक्ष्मीपुर-दाङ तथा नौबस्ता-बाँके र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर-दैजी गरी ७ औद्योगिक क्षेत्र घोषणा भई प्रारम्भिक कार्य अगाडि बढेको छ ।
ग्रामिण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पुर्याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाको रूपमा अगाडि बढाइएको छ । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकोमा २०८० फागुनसम्म १२० स्थानीय तहमा १२० औद्योगिक ग्राम घोषणा भई निर्माणाधीन रहेका छन् ।
यसरी औद्योगिक क्षेत्रमा लगानी बढ्दै गए पनि उद्योगहरुको उत्पादन भने घट्दो छ । गत आर्थिक वर्ष १.९८ प्रतिशतले ऋणात्मक रहेको औद्योगिक क्षेत्र (उत्पादनमूलक उद्योग ) को कुल मूल्य अभिवृद्धि (उत्पादन) चालु आर्थिक वर्ष समेत १.६ प्रतिशतले ऋणात्मक रहने आर्थिक सर्वेक्षणमा उल्लेख छ । वस्तु तथा सेवाको समग्र मागमा कमी आएको कारण उत्पादनमूलक उद्योग पूणर् क्षमतामा सञ्चालन हुन नसकेको र विश्वव्यापीरूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा मुलुकका उद्योगको उत्पादनमा समेत सङ्कुचन देखापर्ने अनुमानका आधारमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान छ । पछिल्लो दशकमा उत्पादनमूलक उद्योगको औसत वार्षिक वृद्धिदर २.५९ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान पनि घट्दै गएको छ । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ५.१६ प्रतिशत रहेको थियो । पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान वार्षिक औसत ५.४६ प्रतिशत रहेको छ ।
पन्ध्रौं पञ्चवर्षीय योजनाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ६.५ प्रतिशत पुर्याउने लक्ष्य राखे पनि लक्ष्य भन्दा न्यून उपलब्धि हासिल भएको छ । यस योजना अवधिभर औसत आर्थिक वृद्धिदर २.७८ प्रतिशत रहे पनि उत्पादनमूलक उद्योगको औसत वृद्धिदर ०.५५ प्रतिशत रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.