२०८१ जेठ १५ गते ११:०७ विकासन्युज
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इजाजत अनुमतिपत्र (लाइसेन्स) नवीकरणका लागि चार अर्ब रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले जेठ १४ गतेभित्र २० अर्ब रुपैयाँ बुझाएर लाइसेन्स नवीकरण गर्नुपर्ने भएपनि चार अर्ब रुपैयाँ मात्रै बुझाएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जानकारी दिएकाे छ ।
कम्पनीको २० वर्षे लाइसेन्स अवधि सकिने भएकाले दूरसञ्चार ऐन अनुसार तीन महिना अगावै उक्त रकम बुझाएर लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ ।
२५ वर्षका लागि लाइसेन्स जारी गरिएको दूरसञ्चार सेवा प्रदायकहरूले १० वर्षमा पहिलो नवीकरण र त्यस पछिका पाँच/पाँच वर्षमा दोस्रो र तेस्रो नवीकरण गराउनु पर्ने हुन्छ । २०६१ सालमा बोलकबोल हुँदा सेवा प्रदायक कम्पनीहरूले लाइसेन्स नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउन तयार भएका थिए । यदि तोकिएको समयमा नवीकरण नगराए लाइसेन्स स्वतः रद्द हुने व्यवस्था दूरसञ्चार ऐन तथा नियमावलीमा छ ।
एनसेलले नवीकरण बापतको पहिलोचरणमा चार अर्ब रुपैयाँ मात्रै बुझाएको र बाँकी रकम बिस्तारै तिर्ने प्राधिकरणलाई बताएको छ । अब एनसेलको लाइसेन्स के गर्ने भन्ने विषयमा प्राधिकरण पनि अन्यौलमा रहेको छ ।
यस विषयमा आन्तरिक छलफल भइरहेको प्राधिकरण स्रोतको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.