१७७ यात्रु बोकेको विमानभित्र जब बम भएको सूचना आयो

  २०८१ जेठ १५ गते १३:२५     विकासन्युज

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मंगलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ ।

अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो ।

१७७ यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन ।

‘अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो राजधानी नयाँदिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीको श्रृङ्खलामध्ये पछिल्लो घटना हो । एजेन्सी