२०८१ जेठ १५ गते १९:१२ विकासन्युज
काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे ।
उक्त बजेटबारे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिक्रिया दिएका छन् ।
यस्तो छ अध्यक्ष ढकालको धारणा
नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार वर्ष घोषणा भएको छ ।
महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ ।
पर्यटनमा वैवाहिक पर्यटन र हिल स्टेसन विकास गर्ने विषय आएका छन् ।
सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना छन् । निजी क्षेत्र प्रवर्द्धन जुन महासंघको सधैंको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।
बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.