भारतमा बढ्दो तापक्रम : स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

  २०८१ जेठ १८ गते ७:०९     विकासन्युज

काठमाडौं । भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुतरूपमा सार्वजनिक स्वास्थ्य संकटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।

भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् । करोडौं बढी जनसङ्ख्या भएको राजधानी नयाँदिल्लीमा बुधबार उच्च तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।

बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबैभन्दा ठूलो खतरा रहेको साथै दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको विज्ञको भनाइ छ ।

भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनअनुसार भारतीय सहरहरू २००१–२०१० को दशकमा जति चिसो थिए त्यति हाल रातमा पनि चिसो नभएको बताएको छ ।

सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनारमा रहेको फलोदीमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको थियो । यो भारतमा अहिलेसम्मको सबैभन्दा उच्च पुष्टि गरिएको तापक्रम हो ।

अनुसन्धानकर्ताका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याइरहेको छ र यसलाई चेतावनीको रूपमा लिनुपर्छ ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यासहरूको तेस्रो ठूलो उत्सर्जक हो तर २०७० सम्ममा शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको छ । हाल यो विद्युत उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । एजेन्सी