टेलिकम एमडीमा दरखास्त आह्वान, यस्ता छन् मापदण्ड

  २०८१ जेठ २२ गते १४:२६     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पद (एमडी) का लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

गत साताको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद र शैक्षिक योग्यता हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान पनि थप गरेको छ ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ ।

हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक (डेपुटी एमडी) संगीता पहाडी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

यस पदका लागि ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायमा १२ वर्षको कार्यअनुभव र व्यवस्थापकीय पदमा काम गरेको हुनुपर्ने छ ।

इच्छुक नागरिकले १५ दिनभित्र आवेदन बुझाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.