२०८१ जेठ २३ गते ११:२८ विकासन्युज
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चंकी कुँवर क्षेत्री । क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरूको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् । ओरियण्टल इन्स्योरेन्स र साविक युनाइटेड इन्स्योरेन्समा काम गरिसकेका क्षेत्री २६ वर्षदेखि सलिकोमा कार्यरत छन् । बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव भएका सीईओ क्षेत्रीसँग बीमाको वर्तमान अवस्था, चुनौति, अवसर र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् ।
बीमा कम्पनीहरू बलिया हुँदा उनीहरूले खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईंको कम्पनीले यसतर्फ के-के काम गरिरहेको छ ?
मर्जरपछि कसरी सिनर्जी ल्याउन कम्पनीहरूले काम गरिरहेका छन् । मर्जर सम्पन्न भएको एक वर्ष भयो । यस अवधिमा जति सिनर्जी आउनु पर्ने हो त्यति धेरै आएको छैन । किनभने आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । व्यापार व्यवसाय वृद्धि हुन सकेको छैन । त्यसैले मर्जरमा गएका कम्पनीमा सिनर्जी नआएको हो । आगामी दिनमा पक्कै पनि सिनर्जी आउने अपेक्षा छ । बीमा कम्पनीहरू भावी योजना तथा रणनीति तयार गर्दै अगाडि बढिरहेका छन् । पुँजी वृद्धिपछि इनोभेटिभ प्रडक्ट, जनतालाई छिटो छरितो सेवा दिन कम्पनी सफल भएको छ । पोलिसी बेचेर व्यवसाय वृद्धि गर्ने नभई दाबी भुक्तानीलाई छिटोछरितो गर्ने गरी काम गरिरहेका छौं ।
अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम् अभ्यास गरिरहेको छ ?
आर्थिक क्रियाकलाप भएर लगानी बढेपछि मात्रै सुरक्षा खोजिन्छ । त्यसको लागि बीमा आवश्यक पर्छ र एउटा औजार बन्न सक्छ । लगानी नै नभएपछि सुरक्षाको विषय नै उठ्दैन । हाल भइरहेको लगानीले व्यवसायमा कुनै असर परेको छैन । तर, बीमा व्यवसायको वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधि भएपछि बीमाको दायरा पनि बढ्छ । जीवन बीमाको हकमा जब मान्छे सहज अवस्थामा हुन्छ, आम्दानी बढ्छ, पैसाको पहुँचमा पुग्छ । त्यसपछि व्यक्तिले सुरक्षा खोज्छ र बीमाको दायरामा आउँछ । अर्थतन्त्र चलायमान भएर बीमा पोलिसी बिक्रीदर बढ्यो भने कम्पनीहरूको व्यवसाय पनि बढ्छ । बीमा भनेको के हो, यसको महत्व कति छ र उद्देश्य के हुन् भन्ने विषय सरकारले बुझ्न जरूरी छ । सरकारले बुझेको खण्डमा जनतामाझ जान बीमा कम्पनीलाई पनि सहज हुन्छ ।
बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । किन, बीमा कम्पनीहरू आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ?
जहाँ लगानी हुन्छ, त्यो लगानीको सुरक्षा अवश्य चाहिन्छ । बैंक र बीमा एक रथका दुई पाङ्ग्रा हुन् । बीमाको सुरक्षा नहुँदासम्म बैंकले लगानी गर्दैन । तर, बीमा सचेतनाका कार्यक्रम व्यापक बन्दै गएपछि सर्वसाधारणले पनि महत्व बुझ्नुहुन्छ । त्यसपछि स्वस्फूर्तरूपमा आफैं बीमा गर्नुहुन्छ ।
वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ?
बीमा व्यवसायका लागि अवसर नै अवसर छन् । किनभने नयाँ व्यवसाय, विकास निर्माणका काम हुन बाँकी नै छन् । अर्थतन्त्र जति छिटो चलायमान भयो त्यति न छिटो बीमाको दायरा बढ्छ । साथै, बीमा व्यवसाय सदावहार बढ्ने व्यवसाय पनि हो ।
वर्तमान समयमा बीमा व्यवसायमा समस्या के छन् ? जोखिम के छन् ? अवरोध के छन् ?
बीमा व्यवसाय जोखिममा खेल्ने व्यवसाय हो । तर, प्रिमियमको आकार ठूलो भएन भने राम्रो रिइन्स्योरेन्स कम्पनी आउँदैनन् । रिइन्स्योरेन्स कम्पनी नआएपछि सबै जोखिम बीमा कम्पनीले बेहोर्न सक्दैनन् । जस्तो जलविद्युतको क्षेत्रमा जलवायु परिवर्तन, बाढी पहिरो र भौगोलीक बनावटका कारण दाबीका मुद्दा धेरै परेका छन् । तर, रेटेड रिइन्स्योरेन्स कम्पनीहरू नेपालको व्यवसायको आकार कम भएकाले आउन इच्छा राख्दैनन् । तत्कालका लागि बीमा कम्पनीहरूले यो चुनौति सामना गर्नु परेको छ । भौगोलीक बनावटका कारण पुर्वाधार विकास तथा निर्माण कार्यमा बाढी पहिरोको सामना गर्नु परेको छ । जसकारण घाटा हुने सम्भावना धेरै भएकाले यसलाई समाधान गरेर अगाडि बढाउनुपर्छ ।
कृषिमा उत्पादन बढाउनर कृषकहरूलाई राहत पुग्ने गरि कृषि बीमामा सरकारले प्रिमियममा अनुदान दिएको थियो । सरकारले कृषिमा राम्रो पहल गरेको थियो । तर, बीमा कम्पनीलाई समयमा बीमा अनुदानको रकम नदिएका कारण समस्या उत्पन्न भएको छ । किनभने बीमा कम्पनीले प्रिमियम रकम पाएका छैनन् । तर, दाबी भुक्तानी गरिसके । जसकारण बीमा कम्पनीमा फाइनान्सियल क्रस भएको छ । यसलाई सरकारले राम्रोसँग सहजीकरण गर्याे भने बीमा कम्पनी गाउँगाउँमा जान तयार छन् । तर, ग्राहकहरू पनि जहिले पनि सरकारको अनुदानमा आत्मनिर्भर हुनु हुँदैन । ग्राहकहरूको व्यवहारमा परिवर्तन हुन जरूरी छ । बीमा कम्पनीहरू गाईभैँसी, पशुपालनहरूको बीमामा धेरै अगाडि छन् । प्रिमियम रकम कम छ, आगामी दिनमा क्षति भयो भने दाबी रकम पाइन्छ भनेर ग्राहकहरू आफैं बीमा गर्न आउनु हुन्छ । अन्नबालीहरूका लागि व्यवसायीक हुन सकेको छैन । त्यसका लागि बीमा कम्पनी गाउँगाउँमा जानुपर्ने छ ।
बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ?
बीमा कम्पनीहरूको अभिभावक हो, बीमा प्राधिकरण । बीमा प्राधिकरणले ल्याएका नीति निर्देशन बीमा कम्पनीहरूले कार्यान्वय गर्नुपर्छ । प्राधिकरणले नीति निर्देशन परिवर्तन गर्दा कम्पनीहरूसँग सुझाव सल्लाह लिनुपर्छ । कहिलेकाहीँ राम्रो काम गर्दा गर्दै नकारात्मक प्रभाव परेका उदाहरण छन् । जस्तो बीमा कम्पनीले बजारमा कुनै नयाँ प्रडक्ट लायो भने सबै प्रडक्टहरू हिट र बिक्री हुन्छन् भन्ने हुँदैन । त्यसकारण बीमा क्षेत्र चलायमान गर्न सहकार्य गरेर अगाडि बढ्नुपर्छ । किनभने नियामक भएपछि कम्पनीलाई पेनाल्टी तोक्ने, कडा कारवाही गर्ने भन्दा पनि भइरहेका कामलाई सुविधा दिएर सहजीकरण गर्नुपर्छ ।
जोखिम वर्गीकरणका लागि दुइटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीबाट कस्तो सेवा पाइरहेका छन् ?
जोखिम जहाँ हुन्छ, त्यहाँ बीमा हुन्छ । त्यसलाई अण्डरराईट गरेर जोखिम न्यूनीकरण गर्ने हो । प्रिमियम र क्लेम रेसियोलाई जस्टिफाइ हुने गरी अण्डरराइट हुनुपर्छ । बीमा कम्पनी र पुनर्बीमा कम्पनीले व्यवसाय गर्दा छोटो अवधिका लागि नभई दीर्घकालिन नाफा हेर्छ । दीर्घकालमा विभिन्न घटनाहरू पनि घट्छन् । त्यसलाई बजारबाट रिकभरी कसरी गर्ने भन्ने सोचले तथ्याङ्कका आधारमा काम गर्नुपर्ने हुन्छ । नेपालको अवधारणा जलविद्युत, पर्यटनमा ठूलो छलाङ मार्ने देखिन्छ । फेरी त्यही क्षेत्रको बीमा भएन भने हामी धेरै पछाडि पर्छाैं ।यसलाई खाँचोका रूपमा लिएका छौं । यस विषयमा इप्पानसँग कुराकानी भइरहेको छ । रिइन्स्योरेन्ससँग पनि यो सन्देस पुर्याइरहेका छौं । आगामी दिनमा यो सबै अवस्था सहज हुने अपेक्षा छ । उहाँहरूको मनोबल बढाउनुपर्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.