प्राधिकरणको ईडी बन्न तीन जनाबीच रस्साकस्सी, कमलराज र पुजनको प्रतिस्पर्धामा सुशीलको इन्ट्री

  २०८१ जेठ ३१ गते १३:४३     सीआर भण्डारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्नका लागि तीन जना निर्देशकबीच प्रतिस्पर्धा देखिएको छ । जेठ ११ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेल अवकाश भएसँगै हाल तीन जना निर्देशकबीच कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धा चलेको हो ।

बीमा प्राधिकणमा अध्यक्षपछि दोस्रो वरियतामा कार्यकारी निर्देशक पद हुन्छ । प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार हाल निर्देशक रहेका व्यक्तिहरूबाटै कार्यकारी निर्देशक छनोट गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणमा हाल ४ जना निर्देशकहरू कार्यरत छन् ।

प्राधिकरणको व्यवस्थाअनुसार निर्देशकहरू कमलप्रसाद रेग्मी, सुशील देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश कुमार लालमध्ये एक जना कार्यकारी निर्देशक बन्नु पर्ने हो । तर, कर्मचारी विनियमावली अनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्न कम्तिमा पाँच वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने चार वर्ष काम गरेको भए पुग्छ ।

कलम प्रसाद रेग्मी २०७२ सालमा प्राधिकरणको निर्देशकमा नियुक्त भएका हुन् । सो आधारमा उनी निर्देशक बनेको ८ वर्ष पुरा भइसकेको छ । यस्तै, सुशील देव सुवेदी, पुजन ढुङ्गेल अधिकारी र दिनेश कुमार लाल २०७६ साउनमा निर्देशकमा बढुवा भएका हुन् । त्यसैले रेग्मी बाहेक अन्य निर्देशकहरूको ४ वर्ष अवधि मात्रै पुगेको छ ।

कानुनी व्यवस्था अनुसार निर्देशक पदमा ५ वर्षभन्दा बढी अवधि भएकाले कार्यकारी निर्देशक बन्न रेग्मी नै बलियो दाबेदार हुन् । तर, महिला र समावेशीको हकमा ४ वर्ष निर्देशक पदमा काम गरेको भएपनि योग्य हुने भएकाले कार्यकारी निर्देशक बन्न रेग्मीसँगै पुजन ढुङ्गेल र दिनेशकुमार लाल पनि प्रतिस्पर्धामा देखिन्छन् ।

तर, निर्देशक दिनेश कुमार लाल जेठ ३२ गते ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश हुँदैछन् । त्यसैले उनी कार्यकारी निर्देशक बन्ने लाइनबाट बाहिर छन् । यस्तै, सुवेदीको पनि निर्देशक भएर चार वर्ष मात्रै काम गरेको कारण उनको तत्काल पाँच वर्ष अनुभव पुग्दैन । अहिले नै प्राधिकरणको ईडी नियुक्त गरेमा रेग्मी र ढुङ्गेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर, प्राधिकरणमा माहोल अर्कै बनिसकेको प्राधिकरण स्रोतको दाबी छ ।

…त्यसपछि सुवेदीको इन्ट्री

प्राधिकरणको कार्यकारी निर्देशकका लागि कमलराज रेग्मी र पुजन ढुङ्गेलबीच प्रतिस्पर्धा देखिन्छ । तर, कार्यकारी निर्देशक नियुक्तीमा ढिलाइ हुँदा अब निर्देशक सुवेदी पनि प्रतिस्पर्धाको लाइनमा आउने देखिन्छन् । किनकी आगागी साउन महिनामा सुवेदीको पाँच वर्ष निर्देशकका रूपमा कार्यानुभव पुग्दैछ । हाललाई कायममुकायम कार्यकारी निर्देशक नियुक्त गरेर साउनपछि मात्रै पूर्णरुपमा नियुक्त गर्ने योजनामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल रहेको स्रोतको भनाइ छ ।

प्राधिकरण स्रोतका अनुसार रेग्मी र ढुङ्गेलले प्राधिकरणका अध्यक्ष सिलवाललाई फकाउन प्रयास गरिरहेका छन् । उनीहरू हाल अध्यक्ष सिलवाल निकट व्यक्तिहरूलाई भेटेर लविङ गरिदिन आग्रह गरिरहेका छन् ।

‘दुवै जनाको लाइन फरक-फरक भएपनि आफूलाई कार्यकारी निर्देशक बनाइदिनु पर्याे भनेर शक्ति केन्द्र धाइराख्नु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो ।

अध्यक्ष सिलवाल निर्देशक रेग्मीलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने मुडमा नरहेको स्रोतको दाबी छ । ‘यदि अध्यक्ष सिलवालको नजरमा रेग्मी परेको भए प्राधिकरणले हालसम्म कार्यकारी निर्देशक पाइसक्थ्यो, किनकी रेग्मी नै अहिलेका प्रमुख दावेबार हुन्, सिलवालले रेग्मीलाई नचाहेकै कारण अहिलेसम्म रोकिएको हो,’ स्रोतले भन्यो ।

योग्यताका हिसाबले रेग्मी बलिया भएपनि अध्यक्षको नजरमा भने कमजोर छन् । रेग्मीको पफर्मेन्सप्रति अध्यक्ष सिलवाल असन्तुष्ट रहेको स्रोतको दाबी छ ।

कार्यकारी निर्देशकको लागि अर्को दाबेदार पुजन ढुङ्गेल शक्ति संघर्षमा सक्रिय बनेकी छन् । स्रोतका अनुसार पछिल्लो समय उनले कार्यकारी निर्देशक बन्नकै लागि ‘हाइप्रोफाइल’ व्यक्तिहरूसँग भेटघाट गरिसकेकी छन् ।

तर, प्राधिकरणका अध्यक्षको चाहाना भने सुशील देव सुवेदीलाई कार्यकारी निर्देशक बनाउने रहेको स्रोतको भनाइ छ । त्यसकारण पनि सिलवालले हालसम्म नयाँ नियुक्ती रोकेका हुन् ।

‘यदि असारभित्र कार्यसम्पदान फाइल खुल्यो भने रेग्मी र ढुङ्गेलमध्ये एक जना कार्यकारी निर्देशक बन्नुहुन्छ, उहाँहरूमध्ये ढुङ्गेलको सम्भावना बलियो छ,’ स्रोतले भन्यो, ‘यदि असारभित्र फाइल खुलेन भने अध्यक्षज्यूले आफैंले कार्यकारी निर्देशक पद ओगटेर कामु कार्यकारी निर्देशक तोक्नुहुन्छ । त्यसपछि प्राधिकरणको कार्यकारी निर्देशक सुशील देव सुवेदी बन्ने सम्भावना रहन सक्छ,’ प्राधिकरण स्रोतले भन्यो ।

कार्यकारी निर्देशकको रुपमा सात वर्षे कार्यकाल पुरा गरेर राजुरमण पौडेल बाहिरिएको १५ दिन बढी बितिसक्दा पनि हालसम्म प्राधिकरणले नयाँ ईडी नपाउनु दुःखद रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष सम्भुप्रसाद मिश्रले हालसम्म कार्यकारी निर्देशक नियुक्त हुन नसक्नु विडम्बना रहेको धारणा राखे । उनले कुनै व्यक्ति चाहना वा नजिक टाढाको भन्दा पनि योग्य व्यक्तिलाई प्राधिरकणको ईडी बनाउनु पर्ने तर्क दिए ।

‘अहिलेसम्म ईडी नियुक्त नहुनु दुःखद हो, कुनै व्यक्तिको व्यक्तिगत लहडले संस्था चल्दैन, हामीलाई योग्य व्यक्ति चाहिएको हो, योग्यलाई नै प्राधिकरणको ईडी बनाउनुपर्छ,’ उनले भने ।