सीईओ श्रेष्ठलाई प्रश्न : कम्पनीले पुँजी वृद्धि कसरी गर्दैछ ?

  २०८१ जेठ ३१ गते १६:२८     विकासन्युज

गत बैशाखमा राष्ट्रिय बीमा कम्पनको प्रमुख कार्यकारी अधिृकत (सीईओ)का रुपमा नियुक्त भएका डा. शिवहरि श्रेष्ठ परिचित नाम हो । यसअघि राष्ट्रिय बीमा संस्थानको प्रशासक समेत भएर काम गरिसकेका डा. श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धकका रुपमा र नेपाल औद्योगिक विकास निगममा पनि नेतृत्व गरिसकेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ समेत भएर काम गरिसकेका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनै सीईओ श्रेष्ठसँग वर्तमान बीमा, व्यसाय, कम्पनीको पुँजी वृद्धिको योजना र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको पुँजी साढे २ अर्ब रुपैयाँ हुनु पर्ने नीति बनाएको छ, राष्ट्रिय बीमा कम्पनीको पुँजी वृद्धिको योजना के–कस्तो छ ?

राष्ट्रिय बीमा कम्पनीले सर्वप्रथम प्रथम मापदण्ड अनुसार चुक्ता पुँजी पुर्याउने विषयमा नयाँ क्यापिटल प्लान तयार गरिरहेको छ । केही समयपछि सो मापदण्ड पुर्याइनेछ । हामीले समावधिभित्र पुँजी पुर्याउने तयारी गरिरहेका छौं । कम्पनीले नयाँ-नयाँ पोलिसीहरू अनुसार सेवा प्रदान गरिरहेको छ भने स्वीकृत क्षेत्रहरूमा लगानी गर्नका लागि लगानी नीति तथा कार्य विधि २०८० तयार गरिरहेको छ ।

अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्यो । यो संकटबाट माथि उठ्न तपाईंको कम्पनीले कस्ता किसिमका अभ्यास गरिरहेको छ ?

विश्व अथतन्त्र संकुचन भई सोको असर नेपाली अर्थतन्त्र र बीमा क्षेत्रमा समेत पर्याे । यस कम्पनीको व्यवसायमा पनि केही संकुचन आएको अवस्था छ । तर, केही नयाँ बीमाका प्रडक्टहरू ल्याई बीमा व्यवसायको दायरा र कम्पनीको व्यवसाय वृद्धि नै प्रमुख लक्ष्यका साथ अघि बढिरहेको छ ।

बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ?

बैंक र बीमा एक अर्काका परिपूरक हुन् । बैंकले लगानी गरेमा विभिन्न परियोजनाहरू अगाडि बढ्ने हो र त्यसैको बीमा गर्ने हो । तर, बैंकहरूले सोचेअनुसार लगानी गर्न सकिरहेका छैनन् । यो समस्याले प्रत्यक्ष रूपमा बीमा कम्पनीमा असर परेको छ । बैंकप्रति बढी निर्भरता नहुनका लागि बीमा क्षेत्रले स–साना किसिमका माइक्रोइन्स्योरेन्स प्रडक्ट ल्याउनुपर्छ र ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ ।

वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ?

बीमामा अवसर नै अवसर छन् । नयाँ प्रडक्ट ल्याउन सकेमा धेरै व्यवसाय विस्तार गर्न सकिने ठाउँहरू छन् । अहिले जलवायु पविर्तनले गर्दा चुनौतीहरु थपिएका छन् र अवसरहरू पनि थपिएका छन् । जस्तै, साइबर सेक्युरिटी, स्वास्थ्य बीमा, माइक्रोइन्स्योरेन्स तथा क्रप्स एण्ड क्याटल इन्स्योरेन्स आदि रहेका छन् ।

अहिले बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ?

बीमाका समस्याहरू धेरै छन् । सर्वसाधारणामा बीमाको चेतनाको स्तर कमी हुनु, दाबी भुक्तानी सरल नहुनु, बीमा गर्दा प्रिमियमलाई बढी बयान गरिनु । तर, दाबी लिनपर्छ भन्ने विषय कम महत्वमा रहनु हो ।

बीमा कम्पनीहरूको संरक्षण र प्रवद्र्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ?

नेपाल बीमा प्राधिकरण त बीमाको अभिवावक नै हो । प्राधिकरणले अभिवावकत्व निभाउँदै आएको छ र खेल्नुपर्ने भूमिका निभाएको पनि छ ।