क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

  २०८१ जेठ ३२ गते १०:५५     विकासन्युज

काठमाडौं । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा बालुवा उद्योगहरुको नविकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्नै चेतावनी दिँदै आन्दोलन घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघलाई पनि आन्दोलनमा समर्थन जनाउन माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले परिपत्र गरेको थियो ।

निर्माण व्यवसायी महासंघले भने क्रसर व्यवसायीहरुको माग जायज रहेको बताउँदै आफ्नो आंशिक सहयोग रहेको बताएको छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले क्रसर तथा खानी उद्योग महासंघ क्रसर, खानी तथा बालुवा उद्योगहरुको नविकरण नभए असार १ गतेदेखि आन्दोलनको चेतावनी दिएको भन्द सरकारले समयमा नै वार्ताका माध्यमबाट व्यवसायीहरुका माग सम्बोधन गर्न आवश्यक रहेको बताए ।

निर्माण सामग्रीको अभावले निर्माण क्षेत्रमा थप असर र ढिलाइ हुने भन्दै सरकारले तत्काल वार्ता गरी समाधान निकाल्नुपर्ने बताए । क्रसर व्यवसायीहरुलाई निर्माण व्यवसायी महासंघले अहिले काम पूरा गर्ने समय भएकाले उद्योगहरु बन्द नगर्न आग्रह गरेको पनि बताए । क्रसर व्यवसायीहरुको माग जायज रहेको भन्दै उहाँले कुनैपनि सञ्चालन भएका उद्योग कानूनी रुपमा सञ्चालन गर्न नविकरण अनिवार्य रहेकाले अहिले समस्या नभएपनि साउनबाट समस्या आउने जानकारी दिए ।

समस्या आउनुपूर्व नै पहिलाकै स्थितिमा उद्योग नविकरणको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । क्रसरजन्य सामग्रीको अभावले निर्माण व्यवसायीहरुले ठेक्का लिएका कामहरु सम्पन्न गर्न पनि असर पुग्ने भएकाले सरकारले समयमा नै समस्याको समाधान गर्न आवश्यक रहेको जानकारी दिए ।

‘क्रसर तथा खानी उद्योग महासंघले जुन बन्द गर्ने भनेको छ १ गतेबाट हामीलाई पनि पत्र मार्फत ऐक्यवद्धता जनाउन अनुरोध गर्नुभएको छ । उहाँहरुको पनि विशेष गरी समस्या छ । अहिले नभए पनि साउन १ गतेबाट पक्कै पनि यो समस्या आउन सक्छ । उहाँहरुलाई यो समयमा निर्माण सामग्री बन्द नगरिदिन आग्रह पनि गरेका छौँ ।  सरकारलाई पनि उपयुक्त वातावरण बनाइ वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका छाैँ’, उनले भने ।

महासचिव दाहालले आन्दोलनबाट सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधन पश्चात म्याद थप भई सुचारु हुन लागेका एवं अन्य आयोजनाको कार्यान्वयन एवं सम्पादनमा गम्भीर असर पर्ने बताए । आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहदा असार १ गतेबाट आन्दोलन थाल्दा मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त शिथिल रहेको वर्तमान अवस्थामा निर्माण कार्यहरू ठप्प भई निर्माण उद्योग र समस्त निर्माण व्यवसायीलाई अझ मार पर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.