आर्थिक संकुचन काबु बाहिर रहेकाले नियन्त्रण गर्नु सबैको दायित्व हो

  २०८१ जेठ ३२ गते १५:१३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, राजकुमार अर्याल । २ दशकदेखि बीमा क्षेत्रमा आवद्ध अर्याल बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका पूर्व कर्मचारी समेत हुन् । अर्याल २०६३ सालदेखि २०७४ सालसम्म बीमा प्राधिकरणको कानुन विभाग प्रमुख भएर काम गरेका थिए । साथै, काठमाडौं स्कुल अफ लमा सहायक प्राध्यापक र एपेक्स कलेजमा आंशिक प्राध्यापकका रूमा काम गरेका थिए । सीईओ अर्यालसँग वर्तमान बीमा, व्यसाय, कम्पनीको पुँजी वृद्धिको योजना र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् ।

बीमा कम्पनीहरू बलिया हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन । नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन् । बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्फ के-के काम गरिरहेको छ ?

एक स्थितिमा निर्धारित पूँजी अर्को स्थितीमा असमायिक हुन्छ । बीमा क्षेत्रको व्यावसायीक इतिहाससँगै नियामकीय पुँजी राख्नुपर्ने अवधारण विकसित भएको हो । हाम्रो सन्दर्भमा पनि प्रारम्भबाटै न्यूनतम पुँजी कायम गरेर मात्र बीमा व्यवसाय गर्न पाइने व्यवस्था थियो । र, नियामकले समयानुकुल हुने गरी पुँजी वृद्धि गरेको पाईन्छ । यसैक्रममा हालको पुँजी कायम भएको हो । पुँजीगत आधार ठूलो हुँदा कुनै पनि संस्थाको स्तरीकरण गर्न सकिन्छ र विश्वसनीयतामा अभिवृद्धी हुन्छ । बीमा प्राधिकरणले तोकेको समयमा यस कम्पनी चुक्ता पुँजी पुर्याउनेछ । पुँजीगत आधार बढ्दा उत्पन्न हुने संस्थागत जोखिम सँगसँगै सरोकारवालाहरूबाट लिने अपेक्षालाई सन्तुलन कायम गरिरहेका छौं ।

अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम अभ्यास गरिरहेको छ ?

जीवन बीमा अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र भएकाले स्वभाविक रूपमा अर्थतन्त्रमा पर्ने असरबाट यो व्यवसाय प्रभावित हुन्छ । यद्यपी जीवन बीमा व्यवसायको आफ्नै विशेषता हुने हुँदा आरोहअवरोह कसरी व्यवस्थित गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । कुनै समस्या कम्पनीको नियन्त्रण अन्तर्गत रहेमा कम्पनीको विषय हुने र काबु बाहिर रहेमा नियामकीय नीतिबाट नियन्त्रण गर्न सकिने हुँदा सबै पक्षको सरोकारको विषय हो ।

बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक-पटक सुनिन्छ । किन, बीमा कम्पनीहरू आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ?

आर्थिक संकुचनको स्थितीलाई आँकलन गर्दा कसले के भन्छन भन्ने भन्दा पनि विषयगत कुरा के हो भनेर हेर्नुपर्ने हुन्छ । समग्र अर्थिक क्रियाकलापको सूचक आधार वित्तीय क्षेत्र हो । बैंक, बीमा र पूँजी बजारका सूचकाङ्कहरूले समग्र स्थिती दर्शाउछ । कुनैपनि क्षेत्रको सुचकाङ्करू औसतभन्दा तल रहँदा जीवन बीमा क्षेत्र श्रृजनात्मक हुँदैन । वित्तीय क्षेत्र एक आपसमा अन्तरनिहित हुन्छ । कुनै-कुनै बेला एक क्षेत्रमा आकषर्ण नहुँदा अर्को क्षेत्रमा जाने त भइरन्छ । तर, छुट्टै हुदैनन् ।

वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ?

सकारात्मक रूपमा लिनुपर्दा आशावादी रहनुपर्छ । जुनसुकै व्यवसायमा आरोहअवरोह हुँदा पनि त्यहाँ अवसर हुन सक्छन् । अवसर र चुनौती एक साथ रहन्छ भन्ने लाग्छ । जुन किसिमको संकुचन र चुनौतीको कुरा गर्यौ, यो अवस्था पक्कै कठिन होला । यसलाई सामना गर्न सुविधाजनक स्थितीबाट माथी उठ्नुपर्छ । व्यवसायको हरेक पाटोमा सुधार गर्ने कुरा पहिलो अवसर हो । यस्तै किसिमको अवस्थामा अन्य मुलुकले के गरिरहेको छ र कसरी भइरहेको छ भनेर हेर्दा समग्र व्यवसाय प्रणलीमा सुधार गर्न सक्ने अवसर उत्पन्न हुन सक्छ ।

वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ?

बीमा व्यवसाय संचालन गर्दा के गर्ने, के नगर्ने भन्ने विषय स्पष्ट छन् । कसरी गर्ने भन्ने सम्बन्धमा मौजुदा अवस्थामा व्यवसाय नै गर्न सकिँदैन कि भन्ने खालका समस्या छन् । अथवा सर्वसाधारणको तर्फबा हेर्दा जुनसुकै क्षेत्रमा निराशा व्याप्त छ । यो मनोवैज्ञानिक विषय हो । यसका अतिरिक्त जसरी पनि सुधारात्मक प्रक्रियामा जानुपर्छ । आवश्यक तयारी, दक्ष जनशक्तिको समस्या नै मुख्य समस्या हो ।

बीमा कम्पनीहरूको संरक्षण र प्रवद्र्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ?

बीमा व्यवसाय व्यवस्थित, नियमित, विकसित र नियन्त्रित गर्ने उद्देश्यले नियामक निकाय स्थापन भएको हो । अपेक्षित कामहरू भइरहेका छन् । प्राधिकरणकार् नियामकीय भूमिका पनि सुविधाजनक स्थितीभन्दा मथिल्लो स्तरको हन्छ भन्ने अपेक्षा छ ।