अभिकर्ताले जबरजस्ती ५० लाखको बीमा गराएपछि…

  २०८१ जेठ ३२ गते १७:४२     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको धनगढी शाखाकी अभिकर्ता ममता चन्द (नाम परिवर्तित)ले ७ वर्षअघि आफन्त पर्ने केशब चन्द (नाम परिवर्तित) लाई बीमा गर्न आग्रह गरिन् । तर, केशबले आफूसँग पैसा नभएकाले बीमा गर्दिनँ भन्ने जवाफ ममतालाई दिए ।

बीमा गरेपछि विभिन्न सुविधा सम्पन्न देशमा भ्रमणको अवसर हुने प्रलोभन ममताले देखाइन् । केशबले अझैं पनि मानेनन् । तर, अभिकर्ता ममताले केशबलाई बीमा गर्न पटक-पटक आग्रह गरिन् । उनले यतिसम्मको प्रस्ताव गरिन् कि पहिलो किस्ता तिर्नको लागि पैसा नभए आफूले ऋण दिने बताइन् । त्यसपछि केशबले आफ्नो सवारी लाइसेन्सको फोटोकपी र बीमा पोलिसीमा हस्ताक्षर गरे ।

अभिकर्ता ममताले आफूखुसी केशब चन्दको नाममा ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी जारी गरिन् । प्रत्येक वर्ष ३ लाख ५० हजार रुपैयाँ किस्ता तिर्नु पर्ने गरी अभिकर्ता ममताले पहिलो किस्ता पनि आफैंले भुक्तानी गरिन् । केशबको बीमा गरेको अहिले ७ वर्ष भइसकेको छ । तर, उनले अहिलेसम्म एक किस्ता पनि प्रिमियम शुल्क तिरेका छैनन् । पहिलो पटक तिनै अभिकर्ता ममताले तिरेकी थिइन् । ७ वर्षको अवधिमा अभिकर्ता ममताले केशबलाई बीमा गराएबापत कुनै प्रमाण पनि दिइनन् । तर, ७ वर्षपछि अहिले फोन गरेर आफूले पहिलो किस्ता पैसा तिरिदिएको भन्दै ममताले केशब चन्दबाट ब्याजसहितको रकम माग्न थालिन् ।

‘७ वर्षअघि अभिकर्ताले अहिले फर्म भर्छु, जतिबेला पैसा हुन्छ, त्यतिबेला दिनुहोला भन्नुभयो । मैले आफ्नो कागजात दिएँ । तर, अभिकर्ताले मेरो अनुमति नलिई तीन लाख ५० हजार किस्ता तिर्ने गरी ५० लाखको बीमा गराइन्,’ केशब चन्दले नेपाल बीमा प्राधिकरणमा गुनासो गर्दै भने, ‘यो बीचमा अभिकर्ताले मलाई कुनै कागजात दिनु भएन । सम्पर्क पनि गर्नु भएन । ६/७ वर्षपछि धम्की दिन थाल्नु भयो । प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिहरूले समेत धम्क्याउन थाले ।’

आफूले नचाहेरै अभिकर्ताले आफ्नो बीमा गरिदिएको उनको गुनासो छ । ‘यदि अभिकर्ताले बीमा गराएको भए उतिबेला नै कागजातहरू दिएको भए विश्वस्त हुने थिएँ,’ प्रहरी हुँ भन्दै गाली गर्ने र धम्की दिएका अनुभव सुनाउँदै उनले भने, ‘प्रहरी हुँ भन्दै धेरै जनाले फोन गरेर धम्क्याउनु हुन्छ, जेल हालिदिन्छु भन्नुहुन्छ ।’

व्यक्तिको इच्छा विपरित अभिकर्ताले बीमा गर्न नपाउने नेपाल बीमा प्राधिकरणको भनाइ छ । साथै, प्रहरी हुँ भन्दै फोन गरेर धम्क्याउने विरुद्ध भने प्रहरी कार्यालयनमा गएर मुद्दा दर्ता गराउनुपर्ने प्राधिकरणको सुझाव छ । अभिकर्ताले व्यक्तिको इच्छाविपरित जबरजस्ती बीमा गराउने अभिकर्ताविरुद्ध उजुरी दिन पनि सल्लाह दिएको छ ।

‘बीमा क्षेत्रका कुनै पनि मुद्दा बीमा प्राधिकरणले हेर्छ । यदि अभिकर्ताले जबरजस्ती बीमा गराएको हो भने उजुरी दिनुहोस् । तर, कुनै अपरिचित व्यक्तिले फलानो हुँ भनेर भन्दै धम्क्याउँछ भने प्रहरी कार्यालयमा गएर मुद्दा दर्ता गर्नुपर्छ,’ प्राधिकरणले भन्यो ।

डीएसपीको गएको थियो जागिर

बिना प्रमाण कुनै पनि प्रहरीले व्यक्तिलाई फोन गरेर धम्याउन पाइँदैन । गैरकानुनी मुलुकी अपराध संहिता २०७४ ले कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा धम्क्याउन नहुने व्यवस्था गरेको छ । त्यस्तो गरेको पाइएमा कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था पनि छ ।

कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने व्यवस्था पनि गरेको छ ।

तर, केशबलाई ममताको पैसा फिर्ता गर्नका लागि प्रहरी हुँ भन्दै धम्क्याउने गरेको गुनासो प्राधिकरणमा गरेका छन् । बीमासँग सम्बन्धित एक घटनामा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को जागिर पनि गएको छ । ललितपुरका एक जना व्यापारीलाई महानगरीय प्रहरी परिसर जावलाखेलका एक जना डीएसपीले बिना कारण थुनामा राखेपछि उनको जागिर गएको थियो ।

पाटनका स्थानीय एक व्यापारीबाट एक जनाले १ करोड रुपैयाँ असुल गर्नु पर्ने थियो । जावलाखेलका डिएसपीले २० लाख रुपैयाँ आफूलाई दिए १ करोड उठाउन सहयोग गर्छु भन्ने प्रतिवद्धता ती व्यक्तिलाई गरे । त्यसपछि डीएसपीले ती व्यवसायीलाई रातभर थुनामा राखे । दोस्रो दिन ती व्यापारीले आफ्ना वकिल बोलाएर डीएसपीले बिना प्रमाण आफूलाई थुनामा राखेको भन्दै मुद्दा हाले । त्यसपछि ती डीएसपीको जागिर समेत गएको थियो ।

अहिलेको घटना पनि यस्तै भएको बीमा प्राधिकरणको भनाइ छ । प्राधिकरणले केशबलाई तत्काल प्रहरी कार्यालयमा गएर उजुरी गर्न सुझाव दिएका छन् । उनले जबरजस्ती बीमा गराउने अभिकर्ता र फोन गरेर धम्क्याउने विरुद्ध मुद्दा दर्ता गर्न पनि सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.